दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने विश्व बैङ्कको अनुमान

विश्व बैङ्कले नेपालको आर्थिक उत्पादन दर ३.३ प्रतिशत मात्र हुने प्रक्षेपण गरेकै दिन सन् २०२४  र २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर भने संसारकै सबैभन्दा बढी रहने अनुमान  गरेको छ। विश्व बैङ्कको पछिल्लो विवरण अनुसार दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत रहने अनुमान गरिएको छ।

दक्षिण एसियाको संरचनात्मक चुनौती आर्थिक वृद्धिको लागि धेरै संवेदनशील रहेको छ। दक्षिण एसियाको आर्थिक विकास सार्वजनिक खर्चमा अत्यधिक निर्भर हुनुका साथै यस क्षेत्रमा निजी लगानी तीव्र रूपमा सुस्ताएको छ। यसका साथै यस क्षेत्रले बढ्दो युवा उमेरको जनसङ्ख्यालाई पर्याप्त रोजगारीका अवसरहरू प्रदान गर्न सकिरहेको छैन।

तसर्थ दक्षिण एसियालाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढिरहन थप रोजगारको अवसरहरू, निजी क्षेत्रको लगानी, बृहत् क्षेत्रीय आर्थिक व्यापार र सहयोग आवश्यक छ।

सन् २००० देखि दक्षिण एसियामा युवा उमेरका जनसङ्ख्याको भाग घट्दै गएको छ। सन् २००० देखि सन् २०२३ को अवधिमा रोजगारी १.७ प्रतिशतले वृद्धि भएको छ भने काम गर्ने उमेरको जनसङ्ख्या भने १.९ प्रतिशतले बढेर गएको छ ।

२०२३ मा दक्षिण एसियाको रोजगारी अनुपात ५९ प्रतिशत थियो। तर  विश्वका अन्य उदयमान बजार र विकासशील अर्थव्यवस्थाको क्षेत्रहरूमा यो अनुपात ७० प्रतिशत रहेको छ।

विगत दुई दशकदेखि दक्षिण एसियामा काम गर्ने उमेरका पुरुषहरूको सङ्ख्या घट्दै गइरहेको छ। यसका साथै संसारभर काम गर्ने उमेरको महिलाहरूको सङ्ख्या पनि दक्षिण एसियामा सबैभन्दा कम देखिएको छ।

यदि अन्य उदयमान बजार र विकसित अर्थतन्त्रको जस्तै यस क्षेत्रका जनसङ्ख्याको ठुलो भागले रोजगारी पायो भने यहाँको उत्पादन १६ प्रतिशतले बढ्न सक्दछ।

विश्व बैङ्कका अनुसार- यस क्षेत्रमा दिगो विकासका लागि नीतिगत रूपमा केही परिवर्तनहरू गर्नुपर्ने देखिन्छ। खुला व्यापार, पुँजीमा पहुँच, व्यावसायिक वातावरणमा सुधारको जरुरी देखिन्छ। यसका साथै वित्तीय क्षेत्रको प्रतिबन्ध हटाउने र महिलाको आर्थिक गतिविधिमा लगाएको प्रतिबन्ध हटाइयो भने यस क्षेत्रको उत्पादन शक्तिमा धेरै वृद्धि हुन सक्दछ, बैङ्कले भनेको छ ।

विश्व बैङ्कको दक्षिण एसिया क्षेत्रीय एकीकरण कार्यक्रमले विभिन्न देशबिच सीमापार व्यापार र पुँजीलाई बढवा दिने जस्ता प्रयासहरूलाई समर्थन गरिरहेको बताएको छ । विश्व बैङ्कले कर र अन्य अवरोधहरूलाई हटाउँदै व्यापार र पुरुष प्रधान क्षेत्रहरूमा महिलाहरूको लागि राम्रो आर्थिक अवसर सिर्जना गर्न पनि विभिन्न पहल गर्दै आएको दाबी बैङ्कका यस क्षेत्रका निर्देशकले गरेका छन् ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link