धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।
निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन्। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्। फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताउनुभयो।
हरेक बिहानको ७ बजे उहाँ घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ। बिहानदेखि बेलुका ८:३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ।
तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउनुहुन्छ अनि आफैँ सुकुटी बनाउनुहुन्छ। त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ। आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो। निकेतन गल्लीमा सुकुटी बेच्दैँ भेटिनुभएका उहाँले भन्नुभयो, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ। धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरू पनि धेरै आउँछन्।”
तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो। यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उहाँले बताउनुभयो। सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उहाँको अनुभव छ। मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताउनुभयो। पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ। दुःख गरेको खेर जाँदैन।”
ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताउनुभयो। उहाँका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन्।
धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्नुहुन्छ। उहाँका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी रु एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ। सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उहाँको भनाइ छ।
सुकुटीको अचार प्रतिकेजी रु १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिनुभयो। सुकुटीसँगै अचार बिक्री गरेर दैनिक रु २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उहाँको भनाइ छ। सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भन्नुभयो, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ।”
धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ। पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन्। सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन्।
धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन्। धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन्। बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन्। सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भन्नुभयो, “एउटै पसलबाट रु २५/३० हजारको व्यापार हुन्छ। सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि।”
विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ। व्यापारी गिरीले भन्नुभयो, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन। व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
- जापानको सहयोगमा कोटेश्वर-जडीबुटी अन्डर पास र फ्लाइओभर निर्माण हुने : ३१.७६ अर्ब ऋण सम्झौता
- “अपांगता होइन, अवसरको कमीले रोकेको छ समाजलाई” – राष्ट्रपति पौडेल