कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमताभन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको हो ।
भवन अभावमा एउटै कोठामा २५ जना बढी कैदीलाई राख्नुपर्ने बाध्यता रहेको कैलाली कारागार प्रशासनले जनाएको छ । सो कारागारमा शौचालयको समेत अभाव रहेका कारण बन्दीलाई शौच गर्न लाइन लाग्नुपर्ने समस्या भएको जनाइएको छ ।
एक सय ५० जना कैदी अट्ने क्षमताको उक्त कारागारमा हाल सात सय २७ जना कैदीबन्दी छन् । कारागारभित्र कैदी पाँच सय एक र थुनुवा एक सय ७१ गरी छ सय ७२ जना पुरुष तथा ३५ महिला कैदी र १७ जना थुनुवा गरी ५२ महिला कैदीबन्दी रहेको कारागारका प्रमुख दीपक पाण्डेयले जानकारी दिनुभयो ।
कारागारमा तीनजना आश्रित नाबालक छन् भने ४० जना विदेशी कैदी रहेको बताउँदै उहाँले क्षमता तीनगुणा बढी कैदीबन्दीका कारण कारागार प्रशासनलाई व्यवस्थापनमा समस्या भएको बताउनुभयो । कैदीबन्दी थपिँदै गएपछि ठाउँ अभावमा खानपिन, सुत्न र शौचालयको समेत निकै समस्या रहेको छ । एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको कारागारभित्र रहेका कैदीको गुनासो छ ।
महिला कैदीबन्दी व्यवस्थापनमा भने समस्या नरहेको कारागारका प्रमुख पाण्डेयले बताउनुभयो । कारागार प्रशासनले दिएको जानकारीअनुसार कारागारमा जीर्ण भवन, खानेपानी अभाव, ढल व्यवस्थापनमा समस्या, बिजुली बत्तीलगायत अतिआवश्यक समस्या छ । कैदीबन्दीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ भौतिक संरचना थपिन नसकेको जनाइएको छ ।
ठाउँको अभाव र जीर्ण भवनमा कारागार प्रशासनको कार्यालय व्यवस्थापनमा पनि समस्या रहेको छ । कारागार प्रशासन रहेको जीर्ण भवन पनि वर्षामा चुहिने गरेको छ । एउटै कोठाभित्र धेरै कैदीबन्दी कोचेर राख्दा रोगहरूको सङ्क्रमणको खतरा समेत बढेको छ । बिरामी कैदीबन्दीको उपचारका लागि पर्याप्त बजेट व्यवस्था नहुँदा झन् समस्या व्यहोर्नु परेको जनाइएको छ ।
आठ दशकअघि बनेको कारागार हाल जीर्ण अवस्थामा छ । क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढ्दै गएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको कारागार प्रमुख पाण्डेयले बताउनुभयो । कारागारमा बन्दीगृह, एकवटा गाडी, ब्यारेक, चेकपोस्ट, सेफ्टी ट्याङ्कीसहित महिला–पुरुष शौचालय, कार्यालय भवनसहितका संरचना जीर्ण भएको जनाइएको छ ।
यसैगरी, कारागारमा लेखापाल, खरिदार, सहायक कम्प्युटर अपरेटरको दरबन्दी कायम भएपनि ती दरबन्दी खाली रहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
