बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन्।बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ। बनीबुतो र खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन्। फर्मुद सुस्केरा हाल्दै भन्नुहुन्छ, “आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !”
मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ। ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा।
“कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)”, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्नुहुन्छ, “आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला !” बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी जानुभएको थियो। घर फर्कदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस हुनुभएकी उहाँलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौको थातथलो देखेर अझै बेचैन हुनुहुन्छ।
अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो। त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रुप लिँदै एक सय १० घर पूर्णरूपमा जलेर खरानी बनायो। आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ। सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षतिभएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ।
मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो। सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो।
आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो। आज अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीले सहयो प्रदान गर्नुभएको छ।
यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताउनुभयो।
महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनःस्थापनाका लागि एक टोली परिचालन गरिएको छ।
यही वैशाख १२ गते भएको उक्त घटनाबारे सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा टोली परिचालन गरिएको छ। उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा रहनुभएको छ।
टोलीले क्षतिको पहिचानका साथै पीडितलाई राहत तथा पुनःस्थापनाका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनेछ। टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरणसमेत गर्ने प्राधिकरणले जनाएको छ।
जरलहवा टोलमा बुधबार भएको आगलागीबाट एक सय घर जलेका थिए। सो आगलागीबाट चार सय ५५ जना प्रभावित भएका छन्। आगलागीबाट पाँच बाख्रा र दुई सुँगुर जलेर मरेका छन्। प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न सङ्घ–संस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङ्गले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बढ्यो काठमाडौँ उपत्यकाको वायु प्रदूषण
- बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु
- पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
- अमेरिकामा एक दशकपछिकै भारी हिमपात, ६ राज्यमा आपतकाल घोषणा
- बीपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने
- विदेशी मुद्राको भाउ, कसको मूल्य कति ?
- म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
- लापरबाहीका कारण विद्यार्थीको नतिजा प्राभवित
- ८ अर्ब डलरको हतियार इजरायललाई बेच्ने बाइडेनको योजना
- देशभर एकै साथ जलपंछी गणना गरिँदै