बल्ल खुल्यो सरकारको आँखाः  अग्निपीडितलाई २ किस्तामा ५० हजार

आगो र डढेलोले पूरा देश आक्रान्त हुँदा पनि आँखा चिम्लिएर बसेको सरकारको अलि सक्रिय हुन थालेको छ। सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ। यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताउनुभयो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिनुभयो। ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ। कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ।

डढेलो निभाउन सिम्रिक एयरको प्रतिबद्धता

निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको राससलाई बताउनुभयो। उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ।”

आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उहाँले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिनुभयो।

कम्पनीले विगतमा आफ्नो सामाजिक  उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताउनुभयो। उहाँले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गर्नुभयो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो।

कामपाको सहयोग

काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ। महानगरको विपद् व्यवस्थानि समितिको २१ वैशाखमा बसेको बैठकले आगलागी प्रभावित दाङको राजपुर र गुल्मीको इस्मा गाउँपालिकालाई रु दस/दस लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले आगलागीका कारण घर, गोठ, पशुचौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयलाई खाद्यान्न, औषधोपचारलगायत अत्यावश्यक सेवाका लागि अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको साहको सचिवालयले जनाएको छ।

गत वैशाख १६ गते राजपुर गाउँपालिका—७ हाटबास क्षेत्रमा आगलागी हुँदा २५ घर र ३५ गोठ जलेरका थिए।  यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेका थिए।

कामपाले यस अघि पनि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका—६ जरलहवा टोलका आगलागी पीडितलाई पनि रु १० लाख सहयोग उपलब्ध गराइसकेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link