अग्नि नियन्त्रणमा प्रभावकारी संयन्त्र आवश्यक

डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको यस क्षेत्रका विज्ञहरूले बताउनुभएको छ। हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे २४ वैशाखमा गरेको अन्तरक्रियामा डढेलो नियन्त्रण र यसको रोकथामबारे आमनागरिकमा सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभएको हो।

विगत केही वर्षदेखि हेलिकप्टरमार्फत सिम्रिक एयरलाइन्सले देशका विभिन्न स्थानमा लागेको आगो निभाउँदै आएको छ। यस्तो कार्यक्रम निजी कम्पनीले मात्र नभई सरोकारवाला निकायबीच आपसी समन्वयका साथ भएमा प्रभावकारी हुने अन्तरक्रियाका सहभागीहरूको धारणा थियो।

कार्यक्रममा महानगरीय प्रहरी बलका प्रहरी निरीक्षक एवं अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईले ‘जङ्गल आगलागी र हवाई प्रतिकार्य’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले अग्नी नियन्त्रणलाई समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो। मानवीय कारणले आगलागी हुने बताउनुहुँदै उहाँले यसको रोकथामपनि मानवले नै गर्नुपर्ने धारणा राख्नुभयो।

“डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले जे गरिरहेको छ, यो व्यक्तिगत जस्तो भइरहेको छ, तर यो व्यक्तिगत हैन सामूहिक कार्य हो, यसमा सबै सरोकारवालाको साझेदारी आवश्यक छ”, विज्ञ भट्टराईले भन्नुभयो। उहाँले नेपालमा अग्नि नियन्त्रण पर्याप्त नहुनुमा अग्नि नियन्त्रणसम्बन्धी जनशक्ति अभाव हुनु प्रमुख कारण रहेको बताउनुभयो। त्यसैले आगो निभाउने कार्य कठिन भइरहेको उहाँको भनाइ थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्वमहानिर्देशक फडिन्द्रराज खरेलले मुलुकमा अग्नि नियन्त्रण सम्बन्धी प्रभावकारी संयन्त्र नहुँदा वर्षेनी ठूलो जनधनको क्षति भएको बताउनुभयो। सिम्रिक एयरले विगतमा शिवपुरी निकुञ्ज, पाथिभरालगायत क्षेत्रमा डढेलो नियन्त्रण गरेर सराहनीय काम गरेकाले सरकार र निजी क्षेत्रको साझेदारीमा डढेलो नियन्त्रण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो।

पत्रकार भीम खरेलले देशभरका स्थानीय तहमा दमकलको व्यवस्था नहुनु, विज्ञ जनशक्ति अभाव हुनु र अन्तर निकायको समन्वय, सहकार्य अभावले डढेलो नियन्त्रण चुनौती बनेको उल्लेख गर्नुभयो।

आगलागीबाट निम्तन सक्ने विनासका घटना नियन्त्रण गर्न सिम्रिक एयरले आवश्यक परेको अवस्थामा हेलिकप्टर सहयोग गर्ने घोषणा गरेको छ। सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो नियन्त्रणका लागि हेलिकप्टर माग भएमा सिम्रिक एयरले हेलिकप्टर सहयोग गर्ने बताउनुभयो। उहाँका अनुसर सिम्रिक एयर लिमिटेडले पछिल्लो पाँच वर्षदेखि आगलागी नियन्त्रणको काम गर्दै आइरहेको छ।

सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि ‘बम्बी बकेट’ मार्फत आगलागी क्षेत्रमा ‘वाटर बम्बिङ’ को प्रयोग गरेर आगो निभाउँदै आएको जनाएको छ। यस पद्धतिमा नजिकैको ताल तलैया अथवा नदीमा बकेट डुबाई पानी लोड गरिन्छ। सो बकेट डोरीमार्फत हेलिकप्टरमा जोडिन्छ र सो बकेटको बटन खोल्नका लागि कन्ट्रोल हेलिकप्टरभित्रै पाइलटले गर्दछन्। एक हजार लिटर पानी डढेलो ग्रस्त क्षेत्रमा उचाइबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुने गर्छ। यो पद्धति विश्वभरि  सुरक्षित एवं प्रभावकारी रहेको जनाइएको छ।

कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल पाँच सय हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन्। नेपालमा १२ हेलिकप्टर कम्पनीका ४० हेलिकप्टरमध्ये ३५ वटा सञ्चालनमा छन्। नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link