जानकीको सम्झना

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस। देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ। त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको  छ। प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ।

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख  छ। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ।

सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन्। जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ।  यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ।

देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन्। साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ। जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

यसबीच सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभएको छ।

“वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उहाँको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ। यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

उहाँले यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीनकालमा कायम रहेको मातृशक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिने बताउनुभएको छ। सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्नसके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा वृद्धि हुनसक्ने उहाँको विश्वास छ। “भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षण हुन्, यी सबै हाम्रो मौलिक संस्कृतिसँग जोडिएका छन्, यी सबैको संरक्षण अति आवश्यक छ,  सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ। यसैगरी रोग, दोष र पारिवारिक कहलबाट  मुक्ति पाइने मान्यता पनि छ, यी मान्यतालाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नुपर्दछ”, उहाँले भन्नुभएको छ।

अयोध्यामा नेपालको धनुष

यसैगरी भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताउनुभएको छ।

नेपाल भ्रमणमा रहनुभएका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उहाँले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताउनुभयो।

“नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरको विशिष्ठ सम्बन्ध छ। त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो”, रायले भन्नुभयो, “त्यसैले जनकपुरवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ। त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ।”

त्यसैगरी उहाँले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला) बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताउनुभयो। हाल सो शिलालाई दैनिक पूजाअर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उहाँको भनाइ छ।

“हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारी मै छ। त्यहाँ मूर्ति बनाउनेक्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ। त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ”, उहाँले भन्नुभयो।

त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले सीताबिना राम र जनकपुरबिना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताउनुभयो। उहाँले भन्नुभयो, “भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ। त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो। त्यसमा तपाईं (राय) को भूमिका महत्वपूर्ण छ।”

उहाँहरूबीच आगामी अक्टोबरमा द्विपक्षीय छलफल गरेर यो विषयलाई टुङ्ग्याउने सहमति भएको नेता निधिको सचिवालयले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link