उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्। यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन्। उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अङ्गमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन्।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले उच्च रक्तचाप नियन्त्रण गर्नसकेमा दीर्घकालीन असरबाट बच्न सकिने बताउनुभयो। उच्च रक्तचापलाई हल्कारुपमा नलिन सुझाव दिँदै उहाँले नियमित परीक्षण गर्न आमनागरिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
डा रेग्मीले भन्नुभयो, “उच्च रक्तचाप नियन्त्रणमा लिन सकिएन भने मिर्गाैला, मुटु, मस्तिस्क, आँखालगायत अङ्गहरूमा असर गर्दछ।” वंशाणुगत र मोटोपनबाट उच्च रक्तचाप हुने भन्दै उहाँले चिकित्सकले सुझाएअनुसार नियमित औषधि सेवनबाट नियन्त्रणमा राख्न सकिने बताउनुभयो।
“उच्च रक्तचाप भएका व्यक्तिले मुख्यरुपमा नुनको सेवनमा विशेष ध्यान दिनुपर्छ। सकेसम्म नुन कम खानु उपयुक्त विकल्प हो”, डा रेग्मीले भन्नुभयो। उच्च रक्तचापले मस्तिस्क घातसम्म हुनसक्ने भन्दै आँखामा असर गरे अन्धो, मुटुमा असर गरे हृदयाघात र मिर्गाैला खराब गराउनसक्ने उहाँको भनाइ छ। मिर्गौला बिग्रँदा पनि उच्च रक्तचापको जोखिम रहने उहाँले जानकारी दिनुभयो।
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले उच्च रक्तचाप आफू रोग नभएर रोगको कारक भएको बताउनुभयो। उहाँले उच्च रक्तचाप समयमा नियन्त्रण गर्न नसकेको खण्डमा कालन्तरमा शरीरका विभिन्न अङ्गहरूलाई असर पार्ने बताउनुभयो।
“मधुमेहलाई रोग पनि मान्छौँ, कारक पनि मान्छौँ। उच्च रक्तचाप आफैँ रोग होइन, रोगको कारक मानिन्छ”, डा लौडारीले भन्नुभयो, “यसले मुटुमा असर पार्ने, हृदायघात र हर्टफेलियर पनि गराउन सक्छ। मुटुबाट निस्कने ठूला–साना जुनसुकै रक्तनलीलाई असर पार्नसक्ने भएकाले स्टक (मस्तिष्कको पक्षघात) लगायतका अन्य समस्या हुन सक्छन्।”
रक्तचाप मापन गरेको ठीक छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने भन्दै डा लौडारीले रक्तचाप मापनका आफ्नै नियम (प्रोटोकल) हुने बताउनुभयो। हतारमा अस्पताल पुग्ने बित्तिकै रक्तचाप नाप्न नहुने सुझाव दिँदै उहाँले भन्नुभयो, “अस्पताल पुगेको १० देखि १५ मिनेट आराम गरेपछि, कुर्चीमा ढाड सिधा हुने गरी आड लगाएर, खुट्टा भुइँमा राखेर रक्तचाप नाप्नु पर्दछ।” रक्तचाप नाप्नुभन्दा एक घण्टाअघिदेखि चिया, कफी, चुरोट, मदिरा सेवन गर्न नहुने उहाँको भनाइ छ।
एक पटक रक्तचाप उच्च (हाई) देखियो भन्दैमा तुरुन्त औषधि खान सुरु गर्न नहुने डा लौडारीले बताउनुभयो। “रक्तचाप उच्च देखियो भने १५ देखि २० मिनेटमा पुनःपरीक्षण गर्ने, अर्को दिन पनि परीक्षण गरेर एकिन गर्नुपर्छ”, उहाँले थप्नुभयो।
पोटासियमयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राख्ने भन्दै मुटुरोग विशेषज्ञ डा लौडारीले फलफूल र सागपातमा पोटासियम पाइने भएकाले नियमित खान सुझाव दिनुभयो। नियमित चुरोट, खैनी, सूर्ती, मदिरा सेवनले रक्तचाप बढाउने जनाउँदै उहाँले बाहिरका पत्रुखाना र प्रदूषणसँगै स्टेस (तनाव) ले पनि उच्च रक्तचाप बढाउने बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
