ढाकामा रमाउँदै रितु थापामगर

तनहुँ आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर  घरधन्दा सकेर ढाका बुन्नुहुन्छ। चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उहाँ व्यवसायमा लाग्नुभएको हो। “तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर यही पेसामा छु।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उहाँको भनाइ छ।

व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु।”

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले बताउनुभयो। धागो ल्याएर मागअनुसार ढाका बुन्ने गर्नुभएका उहाँले अहिले सारीको माग धेरै भएको जानकारी दिनुभयो। उहाँका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ।

थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी रु तीन हजारसम्म खर्च हुने गरेको छ। रु आठ हजारदेखि रु १२ हजारसम्ममा सारी बिक्री हुन्छ। एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्नेगर्छ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो। हरेक व्यक्ति उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उहाँको भनाइ छ।

यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आउनुभएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बन्नुभएको छ। व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बन्नुभएको हो। ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उहाँको भनाइ छ। ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताउनुभयो।

उहाँको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैनन्। जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायतका ठाउँबाट माग हुने गरेको छ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पनि ढाकाको कपडा किन्ने गरेका छन्। ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उहाँले बताउनुभयो।

जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एड्भान्स’  ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ। युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link