“पहिला असीमित मित्रताको मात्र कुरा थियो। अहिले यो सम्बन्ध आउने पुस्ताको लागि हो भन्ने कुरा भइसक्यो” चीनका राष्ट्रपति सी जिनपिङटबाट भर्खरै रुसी समकक्ष भ्लादिमीर पुटिनको चिन भ्रमणका समयमा दुई राष्ट्रको भविष्य बारे पुटिन समक्ष यस्तै सङ्केत गरेका छन्।
युक्रेन मामिलामा रुसको पक्षमा लहर बढिरहेको बेला पुटिनको यो बेजिङ भ्रमण पश्चिमी देशहरूले धेरै निकटबाट नियालिरहेका छन्। यता अमेरिकाले पनि रुसलाई समर्थन गरेकोमा चीनलाई कडा शब्दमा आलोचन गरिरहेको छ ।
अमेरिकालाई मेरो प्रश्न छ : रुसलाई आफ्नो सबैभन्दा ठुलो शत्रु र चीनलाई आफ्नो सबैभन्दा ठुलो रणनीतिक प्रतिस्पर्धी बनाउनुहुन्छ जुन कार्य शत्रु घोषणा गर्नबाट एक कदम मात्रै टाढा छ। तपाईँ भन्नुहुन्छ कि यो निरङ्कुशता विरुद्ध लोकतन्त्रको लागि लडाई हो। तर तपाईँले दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपमा सबैभन्दा विनाशकारी युद्ध गर्नुभएको छ । साथै अहिले सामूहिक रूपमा चीनमा पूर्ण आर्थिक युद्ध छेडिएको छ। जब तपाईँ यो सबै गर्दै हुनुहुन्छ भने तपाईँ के सोच्नुहुन्छ ? रसिया र चीनको प्रतिक्रिया कस्तो हुनेछ भन्ने स्वतः बुझिँदैन र ?
अमेरिकी नीति-निर्माताहरूले चिन र रुस दुवै देशलाई एकै ठाउँमा आउन दिन नहुने आधारभूत आवश्यकता पहिले नै बुझेका थिए। यो किन पनि महत्त्वपूर्ण छ भने रसिया र चीन दुवै एकै ठाउँमा आए भने यी दुई सम्पूर्ण युरेसियामा सहजै हाबी हुनेछन्।
सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर कम्युनिस्ट चीनसँग सम्बन्ध सुधार र मेलमिलापमा काम गरिरहेका थिए। यसै बेला किसिन्जरले राष्ट्रपति निक्सनलाई भनेका थिए –“ मलाई लाग्छ २० वर्षमा तपाईँको उत्तराधिकारी यदि बुद्धिमान भयो भने चिनियाँहरू तर्फ झुक्नेछ। अबको १५ वर्ष हामीले रुसको विरुद्ध चीनसँग सम्बन्ध बढाउनुपर्छ। अमेरिकाले यो शक्ति सन्तुलनको खेल पूर्णतया भावनात्मक रूपमा खेल्नुपर्छ। आजको समयमा हामीलाई रुसलाई ठाउँमा राख्न चिन चाहिन्छ।“
यद्यपि अमेरिकी राष्ट्रपति जिमी काटर र निक्सन बिच केही समानता छैन। तर दुवै राष्ट्रपतिका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर र जिविग्न्यु ब्रजेजिन्स्कीमा भने धेरै समानता थियो। ब्रजेजिन्स्कीले एकपटक भनेका थिए – “सम्भावित रूपमा चीन, रुस र सम्भवतः इरानको गठबन्धन भएमा सबैभन्दा खतरनाक परिदृश्य अमेरिकाको लागि हुनेछ। यो अमेरिकी आधिपत्य विरोधी धाराको गठबन्धन नभईकन अमेरिका विरुद्धको पूरक गुनासोहरूद्वारा ती तिन एकजुट हुनेछन्।”
तर अहिले यी दुई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले जुन कुराको डरको आशङ्का गरेका थिए त्यही भएको छ।
दुवै सल्लाहकारहरू इतिहास र वास्तविक राजनीतिको बुझाइमा युरोपियन जस्ता थिए। तर यस पछिका सल्लाहकारहरू भने ‘हामी जे मन लाग्छ त्यही गर्न सक्छौ’ भन्ने अमेरिकी भ्रमले भरिएका थिए।
किसिन्जर र ब्रजेजिन्स्की दुवै जर्मनका अटो भान बिस्मार्कबाट प्रभावित थिए। बिस्मार्कले पेरिसलाई मस्कोसँग गठबन्धन बनाउन नदिन सन्धिको प्रयोग पनि गरेका थिए। किसिन्जर र ब्रजेजिन्स्की दुबैले चीन र रुसप्रतिको आफ्नो ऐतिहासिक विचारहरूलाई बिस्मार्कको पेरिस र मस्कोबिच गठबन्धन हुन नदिन गरिएको प्रयोग बाट प्रेरित थियो।
यो गोप्य सन्धि बिस्मार्कको एउटा कूटनीतिक स्तम्भ थियो जसले युरोपमा शक्तिको सन्तुलन र सापेक्षिक रूपमा शान्ति कायम गर्न मद्दत गरेको थियो। जब बिस्मार्क सत्ताबाट बाहिरिए पछि र गोप्य समझदारी पनि समाप्त भएपछि रुस र फ्रान्सले एक आपसमा सम्बन्ध बनाउन खोजेका थिए।
बिस्मार्क सत्ताबाट बाहिरिएसंगै रसिया र फ्रान्सको घनिष्ठ सैन्य राजनीतिक सम्बन्धको अन्तिम प्रतिष्पर्धा दृश्यबाट हट्यो – केननले द डिकलाइन अफ बिस्मार्क युरोपेली अर्डरमा लेखेका थिए। उनले अगाडि लेखेका छन् – “यसका साथै सन्धिको समाप्तिले यो सम्बन्धको लागि औपचारिक बाधा पनि हटाएको थियो। सन् १९८४ को फ्रान्स-रुसी गठबन्धन नै सन् १९१४ को युद्ध सुरुवात गर्न एक प्रमुख कारक बनेको थियो। बालकन क्षेत्रको झगडाको रूपमा सुरु भएको यस युद्धमा धेरैजसो पश्चिमी युरोपियन देशहरू होमिन पुगेका थिए।
आजको दिनमा फेरि चीनमाथि नियन्त्रण लगाउन खोजिएको छ। चीन र अमेरिकाको लागि मात्र नभई सम्पूर्ण विश्वको लागि यसको खतरनाक नतिजाहरू अगाडि देख्न पर्ने अवस्था आउने छ।
किसिन्जरले ‘नियन्त्रण’ शब्द प्रयोग गरेनन् । उनले ‘मैत्रीपूर्ण साझेदारी वा अनौपचारिक गठबन्धन’ लाई प्राथमिकता दिए। तर कुरा जे भने पनि किसिन्जरकेा प्रमुख उद्देश्य भने चीन र रुसलाई अलग राख्नु थियो।
तर आज चिनाविरुद्धको अमेरिकाको नयाँ नियन्त्रणात्मक रणनीतिले मूलतः मस्को र बेजिङलाई एक साथमा आउन बल पुर्याएको छ। अर्को खतरा भनेको यसमा इरान जोडिएर त्रिपक्षीय अनौपचारिक गठबन्धन भयो भने अमेरिकाको लागि सबैभन्दा ठुलो खराब अवस्था हुनेछ।
केही राजनीतिक विश्लेषकहरू र टिप्पणीकारहरूले हामी तेस्रो विश्वयुद्ध हेरिरहेका छौँ भन्छन् भने यो कुरा बढाइ चढाई भनिएको नहुन सक्छ।अहिलेको अमेरिकी रणनीतिले त्यता तर्फ नै धकेलेको छ।
( चाइना मोर्नींग पोस्टमा प्रकाशित लेखबाट साभार)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार