इरानका कट्टरपन्थी पूर्वराष्ट्रपति महमुद अहमदीनेजादले यसै महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गत मे १९ मा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा आगामी जुन २८ मा मतदान हुँदैछ ।
सन् २००५ देखि २०१३ सम्म इरानी राष्ट्रपतिका रूपमा लगातार दुई कार्यकाल सम्हालेका ६७ वर्षीय अहमदीनेजादले विशेष गरी इरानको आणविक कार्यक्रम र इजरायलको बारेमा उहाँको भड्काउपूर्ण टिप्पणीलाई लिएर पश्चिमा मुलुकहरूसँगको सम्बन्धमा गतिरोध देखिएको थियो ।
राष्ट्रपतिपदका सबै आकाङ्क्षीहरूजस्तै उहाँको उम्मेदवारी पनि सार्वजनिक पदका लागि सबै उम्मेदवारहरूको निगरानी गर्ने १२ जना न्यायविद्हरूको रूढिवादी प्रभुत्व भएको संस्था गार्जियन काउन्सिलको अनुमोदनको पर्खाइमा छ ।
यसअघि सन् २०२१ र २०१७ को चुनावमा राष्ट्रपतिको दौडमा भाग लिनका लागि अहमदीनेजाद अयोग्य घोषित हुनुभएको थियो ।
“राष्ट्रिय क्षमताको अधिकतम उपयोग गरेर देशका सबै समस्या समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु,” आइतबार गृह मन्त्रालयमा आफ्नो उम्मेदवारी दर्ता पेश गरेपछि उहाँले भन्नुभयो ।
सन् २००५ मा, अहमदीनेजादले इरानको कट्टर शत्रु इजरायललाई ‘मानचित्रबाट सफाया’ गर्न लागेको र प्रलय एक ‘मिथक’ भएको बताएपछि उहाँले विश्वव्यापी बदनामी कमाउनुभएको थियो ।
सन् २००९ मा अहमदीनेजादको विवादास्पद पुनर्निर्वाचनको विरोधमा देशव्यापी विरोध प्रदर्शनहरू भए र राज्यको प्रतिक्रियाले दर्जनौंको मृत्यु भयो र हजारौं गिरफ्तारीहरू भए ।
राष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि बिहीबार दर्ता खुला भएको थियो भने सोमबार बन्द हुनेछ ।
संसदका पूर्व सभामुख अली लारिजानी, पूर्व आणविक वार्ताकार सइद जलीलीलगायत अन्य प्रमुख व्यक्तित्वले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
गार्जियन काउन्सिलले आफ्नो परीक्षण प्रक्रिया पूरा गरेपछि जुन ११ मा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्नेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल
- अपी हिमाल