भोजपुर जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्। करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ। तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन्। सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ।
यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्माले बताउनुभयो। आफ्ना पुर्खाले यहीँ नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उहाँको भनाइ छ। अहिले पनि उद्योग सञ्चालन गरिएको स्थान आसासमा फलामको किट पाउने सकिने उहाँको भनाइ छ।
“सेल्मे फलाम खानी जिल्लाको उत्कृष्ट फलाम खानी रहेको बाउबाजेबाट मैले सुनेको छु”, उहाँले भन्नुभयो, “हाम्रा बाउबाजे पिता पुर्खाले यहीँको फलामबाट निर्माण गरेका सामग्री अहिले पनि गाउँघरमा भेटिन्छन्, यहाँको फलाम उत्खननमा राज्यले ध्यान दिन आवश्यक छ, अहिले हामीले बाहिरबाट फलाम ल्याएर काम गर्नुपर्ने अवस्था छ।”
विगतमा फलामको धाउ निकालेको खाल्डाखुल्डी अहिले पनि देख्न सकिने उहाँको भनाइ छ। सेल्मे क्षेत्रका करिब नौ घरपरिवारले अहिले पनि व्यावसायिक रुपमा कालिगढ पेसा अँगालिरहेको अर्का कालिगढ तीर्थकुमार विश्वकर्माले बताउनुभयो। राज्यले यहीँ नै फलाम खानी सञ्चालनमा पहल गरी दिए सहजता हुने उहाँको भनाइ छ। गाउँमा नै भएको खानीले निरन्तरता पाए बाहिरबाट फलाम ल्याउनुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो।
“बाजेबराजुले यहीँको फलामबाट आरन उद्योग सञ्चालन गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ, यहीँको स्रोत साधनको प्रयोग गर्न पाए राज्यको पैसा बाहिर जानबाट रोकिने थियो, अहिले हामीले बाहिरको देशबाट आएको फलामको प्रयोग गर्नुपर्ने अवस्था छ, यसमा राज्य पनि गम्भीर बन्न आवश्यक छ।”
स्थानीय जानकार वृद्धवृद्धाका अनुसार तीनदेखि चार पुस्ता अघि अर्थात् करिब एक सय ५० वर्ष अघिबाट फलाम खानी सञ्चालन भएको इतिहास रहेको वडाध्यक्ष नभराज माङपाहाङले बताउनुभयो। त्यो समयबाट सुरु भएको उद्योग करिब विसं २०१३ सम्म सञ्चालनमा रहेको स्थानीय जानकारहरुको भनाइ छ।
पछिल्लो समयमा राज्यको बेवास्ताका कारण खानीबाट फलाम उत्खनन रोकिएको स्थानीय बताउँछन्। यहाँको देवी खोला, छोक्ला, सेल्मेलगायत स्थानमा फलामको धाउ पाइने वडाध्यक्ष माङपाहाङले बताउनुभयो। सेल्मे क्षेत्रमा फलामको राम्रो सम्भावना रहेकाले राज्यले यसको उत्खननमा जोड दिनुपर्ने उहाँको भनाइ छ।
“स्थानीय जानकारका अनुसार यहाँ करिब एक सय ५० वर्ष अघिबाट खानी सञ्चालन आएको बुझिन्छ”, वडाध्यक्ष माङपाहाङले भन्नुभयो, “अहिले पनि यहाँका आसपासमा खानी उत्खनन बेलाका किटलगायत फलामको धाउ निकालिएका स्थानहरु छन्, विसं २०१३ साल आसपासमा आएर खानी बन्द गरिएको हो, यसको निरन्तरता दिन राज्यले आवश्यक अध्ययन गरेर पहल गर्न आवश्यक छ, अहिले पनि यहाँको फलामबाट बनेका कृषि औजार, कट्टी खुकुरीलगायत साम्रगी गाउँघरमा भेटिन्छन्।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर