म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर खानेपानी आपूर्ति गर्न थालेको हो ।
चौध किलोमिटर लामो मुख्य पाइप लाइन मर्मत गरेर यही कात्तिक २७ गतेदेखि पानी आपूर्ति गराउन थालिएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए । “डेढ महिनाको प्रयासपछि प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गराउन थालेका छौँ”, उनले भने, “राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइप लाइन निर्माण गरिएको छ।
बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइप लाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइप लाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताए ।
विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुवडाबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो । अम्रेनी र वडाको वैकल्पिक मुहान सुकिसकेका छन् । वैकल्पिक मुहान सुकेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउन पाइप लाइन मर्मत गरिएको हो ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ । मागअनुसार आपूर्ति गर्न नसकेपछि उपभोक्तालाई आलोपालो प्रणालीअनुसार टोल विभाजन गरेर खानेपानी वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।
प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइप लाइन विपद्पछि बन्द भएको थियो । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइप लाइन विस्तार गरिएको हो ।
बेनीको कालीपुलदेखि बराहपाखोस्थित पानी सङ्कलन केन्द्र खण्डको पाइप लाइन खोरिया, खरेनी र बराहपाखोको पहिरोले जोखिममा परेपछि बजारको बाहिरी भागबाट वैकल्पिक पाइप लाइन बनाइएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए ।
सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारी खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- लोप हुँदै उदयपुरको रैथाने बासमती: हाइब्रिड मोह र सिँचाइ अभावले संकटमा परम्परागत खेती
- अमेरिकी दबाबबीच क्यानाडाको संकेत: चिनियाँ अटो लगानी भित्र्याउन सकिन्छ
- मकै र कोदो जोगाउन मुस्किल परेपछि भोजपुरका किसानले अपनाए अदुवा खेतीको विकल्प
- एनपिएलले जन्माएका नयाँ स्टार: ‘गोल्डेन क्याप’को दौडमा राहुल यादव, ब्याटिङमा लोकेश बमको दबदबा
- एनपीएल २०२६: आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
- छठको रौनक: आज अस्ताउँदो सूर्यको आराधना गरिँदै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- जङ्गली हात्तीको आतंक रोक्न बाहुनडाँगीमा नयाँ विद्युतीय तारबारको माग
- एनपिएलको २०२६: २६औँ खेलमा आज विराटनगर र लुम्बिनी भिड्दै
- एनपिएल २०२६: हिजोको खेलमा सुदूरपश्चिम र चितवनको जित