भारतले जित्यो टी-२० विश्वकपको उपाधि, कोहलीद्वारा संन्यासको घोषणा

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि  पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो ।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् ।

एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४-४ रनमा आउट हुँदा दक्षिण अफ्रिका १२-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट भए ।

उनी आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०-३ को अवस्थामा थियो । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए । कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाए ।

चौथो विकेटलाई कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्कासहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए । सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बने बुमराह

विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिए । सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए ।

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे ।

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

कोहलीद्वारा टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा

टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए ।

फर्ममा फर्किएका कोहलीले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।  फाइनल खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन ।

कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो । तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।

‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले हासिल गर्न चाहेको यही थियो,‘ कोहलीले प्लेयर अफ द म्याचको अवार्ड जितेपछि भने, ’अब नयाँ पुस्ताले जिम्मा लिनेछ ।’

‘एक दिन तपाईंलाई लाग्छ कि तपाई रन बनाउन सक्नुहुन्न, त्यसपछि चीजहरू हुन्छन्। भगवान महान हुनुहुन्छ, र मैले टोलीलाई आवश्यक भएको बेला काम पूरा गरे,’ उनले थपे, ‘अहिले वा कहिले पनि नाई । भारतको लागि अन्तिम टी-२०, यसको अधिकतम बनाउन चाहन्थेँ। कप उठाउन चाहन्थे, जबरजस्ती गर्नु भन्दा अवस्थालाई सम्मान गर्न चाहन्थे। यो एउटा ओपन सिक्रेट थियो । यो अर्को पुस्ताले सम्हाल्ने समय हो, केही उत्कृष्ट खेलाडीहरूले टोलीलाई अगाडि बढाउनेछन् र झण्डा उचो फहराइरहनेछन्।’

कोहलीले आफ्नो १२५ म्याचको टी-२० अन्तर्राष्ट्रिय करियरलाई भारतको दोस्रो उच्च रन स्कोररको रूपमा समाप्त गरे । उनले ४८.६९ को औसत र १३७.०४ को स्ट्राइक रेटमा ४ हजार १८८ रन बनाए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link