१. नेपाली भाषामा वीरेन्द्र केशरी अर्ज्याल ( विसं. १९६० तिर) ले व्याकरण लेखे । त्यसपछि जयपृथ्वी बहादुर सिंह ( विसं. १९६९ ) ले व्याकरण लेखे । यी दुई व्याकरण तत्कालीन लेखनमा जे जस्तो प्रचलन थियो त्यसैमा आधारित भई लेखिएका थिए । यिनलाई प्राकृत व्याकरण नाम दिइएको देखिन्छ।
२. त्यसपछि व्याकरणको धार नै परिवर्तन गरेर गोरखा व्याकरण बोध लेखियो । यो भानुभक्त, मोतीराम आदि पूर्ववर्ती लेखक तथा साहित्यकारहरुले प्रयोग गरेको हलन्त लेखनलाई बहिष्कार गर्ने राममणि आदी (विसं. १९६५) को अवधारणालाई आधार बनाएर लेखिएको थियो ।
३. यही दशकमा मध्यमार्गी धार भनी हलन्त बहिष्कारमा केही संशोधन सहित गोरखा भाषा चन्द्रिका व्याकरण ( विसं. १९६९/७०) प्रकाशित भयो । यसकै मझौला रूप मध्य चन्द्रिका ( विसं. १९७६) प्रकाशित भयो । तत्कालीन शासकीय आडमा यिनै दुई व्याकरणलाई बनारस र दार्जिलिङमा समेत मान्यताको चाँजो मिलाइयो । यसरी दुई दशकमा प्राकृत धार, हलन्त बहिष्कारवादी धार र कथित मध्यमार्गी धारका अलग अलग व्याकरण तत्कालीन लेखकहरुले बेहोरेको विषय हो । प्राकृत व्याकरण बाहेक यी सबै व्याकरण मूलत: वर्ण विन्यासलाई व्याकरण मान्ने र त्यसलाई नियमन गर्ने मान्यताबाट मात्र भिन्न देखिएका थिए ।
नेपाली कसरी शुद्ध लेख्ने / नेकशुले (विसं. १९९१) नामक पुस्तिका यही पछिल्लो व्याकरणात्मक धारको सारांशका रूपमा नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष बालकृष्ण शमशेरको प्रस्तावना सहित जारी भयो । यसभित्र अग्रपृष्ठको सुरुमा तत्कालीन डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन (अहिलेको दृष्टिले त्यसले शिक्षा मन्त्रालयको हैसियत राख्थ्यो भन्ने देखिन्छ । यसका डाइरेक्टर जनरल अर्थात् महानिर्देशक मृगेन्द्र शमशेर जबरा थिए ।) को तर्फबाट एउटा सूचना समेत प्रकाशित छ । त्यो यस प्रकार छ :
“संवत् १९९२ सालदेखिको परीक्षामा यही नियम बमोजिम शुद्धाशुद्धि जाँचिने छ ।” यस्तो आदेश थियो । विसं. २०३३ मा नेराप्रप्रबाट प्रकाशित रोहिणी प्रसाद भट्टराईको बृहद् नेपाली व्याकरणसम्म उल्लिखित धारले नै निरन्तरता पायो ।
४. यसपछि त्रिभुवन विश्व विद्यालयका अनिवार्य नेपालीका गोष्ठीहरु विसं. २०३५/३६ का निर्णय अनुसार अनिवार्य नेपाली शिक्षण निर्देशन मार्फत नेपाली वर्ण विन्यासमा फेरबदल भयो । नेपाली शब्द भण्डारमा प्रयोग हुने संस्कृत शब्दलाई तत्सम मानी संस्कृत अनुसार नै लेख्ने तर आगन्तुक र तत्भवलाई नेपाली उच्चारण अनुसार व्यवस्थित गर्ने अवधारणा कार्यान्वयनमा आयो । यसैको अनुसरण तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले विसं. २०४० मा प्रकाशित नेपाली बृहत् शब्दकोशमा पनि भयो । यही अवधारणा विसं. २०५६ पछि विद्यालय तहमा पनि अौपचारिक रूपमा लागु भयो । सञ्चार माध्यमहरुमा क्रमश: यसको अनुसरण हुँदै आएको देखियो ।
५. नेराप्रप्रले विसं. २०५७ को गोष्ठीमा गरेको निर्णय र त्रिविले विसं. २०६५ र नेप्रप्रले विसं. २०६७ को गोष्ठीमा गरेको निर्णय अनुसार नेप्रप्रले शब्दकोशमा र सम्बन्धित संस्थाहरुले आफ्ना प्रकाशन र पठन पाठनमा संशोधित वर्ण विन्यास कार्यान्वयनमा ल्याएका हुन् ।
६. वर्ण विन्यासमा मात्र नभई समग्र व्याकरणमा नै २०३५ पछि परिवर्तनको क्रम अगाडि बढेको हो । यसको आरम्भ त्रिवि पाविकेबाट विसं. २०३६ मा प्रकाशित शब्द रचना र वर्ण विन्यास : भाषा वैज्ञानिक पद्धति नामक ( लेखक: मोहन राज शर्मा) ग्रन्थबाट भयो । यसपछि यही धारलाई विस्तार र नवीन ढाँचाका साथ विसं. २०४९ मा समसामयिक नेपाली व्याकरण ( लेखक: हेमाङ्ग राज अधिकारी), २०५४ मा वाक्य व्याकरण ( लेखक: माधव प्रसाद पोखरेल), २०५७ मा प्रयोगात्मक नेपाली व्याकरण र २०७२ मा नेपाली सन्दर्भपरक व्याकरण प्रकाशित भए । साथै यस चरणमा टङ्क प्रसाद न्यौपाने, व्रतराज आचार्य लगायतका लेखकहरुले पनि आफ्ना व्याकरणलाई आधुनिक भाषा वैज्ञानिक अवधारणा अनुरूप नै प्रकाशित गराएको देख्न सकिन्छ । अहिलेका कुनै पनि व्याकरणमा परम्परागत धारको प्रभाव कम देखिनु पनि यसमा आएको परिवर्तनको टड्कारो प्रमाण हो ।
यी व्याकरणले परम्परागत व्याकरणलाई विश्व विद्यालय तहमा २०५१ को अनिवार्य नेपाली पाठ्यक्रमदेखि नै पूर्ण रूपमा प्रतिस्थापित गरेको कुरा त्रिविका पाठ्यक्रम र निर्देशिका सम्बन्धी अभिलेखहरुबाट प्रमाणित हुन्छ । उल्लिखित तथ्यबाट २०३६ पछिका नेपाली भाषाका आधिकारिक व्याकरण ग्रन्थहरुलाई विद्वज्जनहरुले परम्परागत व्याकरणहरुसँग भिडाएर हेरेमा व्याकरणमा के कति परिवर्तन भएको रहेछ भन्ने कुरा खुलस्त हुन्छ ।
७. परम्परागत व्याकरणको धार विच्छेद भएकै ४६ वर्ष भयो । यस क्रममा परम्परागत व्याकरणको ढाँचामा व्याकरण लेख्ने प्रतिष्ठित लेखकहरु कृष्ण प्रसाद पराजुली, नरेन्द्र चापागाईं, तारानाथ शर्मा आदिले २०५१ पछि नयाँ धारमा व्याकरण लेखेको समेत पाइन्छ ।
८. भाषा परिवर्तन हुन्छ र व्याकरण परिवर्तन हुँदैन भन्ने भाष्यका प्रतिपादकहरु (त्रिलाउके : बलदेव गाउँले, स्वागत नेपाल, शरच्चन्द्र वस्ती) ले उल्लिखित नेपाली व्याकरणको इतिहासलाई गलत व्याख्या गर्दै दुष्प्रचारबाट कपमा आँधी सृजना गरी अस्वीकार गर्दैमा लोकबोलीको जगबाट उठेको नेपाली भाषा लोकबोलीमा प्रचलित नभएको र व्याकरणले स्थिर तथा अपरिवर्तनीय बनेर चलेको संस्कृत जस्तो नरहेको घाम जस्तै छर्लङ्ङ छ । यसको ऐतिहासिक र व्याकरणात्मक विकासको पृष्ठभूमिले यसलाई विभिन्न कालखण्डमा सुधार र परिमार्जनका लागि आबाज उठाउने तथा चिन्तनमा गहनता थप्ने पुष्कर शमशेर, बालकृष्ण पोखरेल, बल्लभ मणि दाहाल, चूडामणि रेग्मी, महानन्द सापकोटा, शिवराज आचार्य, चूडामणि बन्धु, वासुदेव त्रिपाठी लगायत विभिन्न कालखण्डका विद्वान् भाषाविद्हरुको योगदानलाई अवमूल्यन गर्दै कृतघ्न बनी तथ्यलाई बङ्ग्याउनेहरुलाई नै उल्टै महत्त्व दिनु सभ्य समाजका लागि सुहाउँदो मान्न नसकिएला ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार