एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ। आज पहिलो दिन समूह ‘ए’का दुई खेल हुँदैछन्।
श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैछ। यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।
नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ। नेपाली टिममा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।
एसिया कप अगाडि श्रीलंकामा भएको अभ्यास खेलमा नेपालले दुई खेलमा पराजय भोगेको छ। पहिलो खेलमा श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार विकेटले स्तब्ध भएको थियो। तेस्रो खेलमा भने नेपाल २ रनले विजयी भयो।
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण
- हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
- पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
