अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ ।
आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भन्नुभयो ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उहाँले भन्नुभयो “हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौँ ।”
उहाँले भन्नुभयो “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसद्मा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन पेस गर्नेछौँ । “
गत वर्ष अगस्ट २१ मा, मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी.एस मोट चिल्ड्रेन हस्पिटल्स नेसनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन् ।
“आमाबाबुले अझै पनि शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने समस्या जस्तै अस्वास्थ्यकर खाना र मोटोपनालाई बच्चाहरूको प्रमुख स्वास्थ्य समस्याहरूका रूपमा हेर्ने गरेका छन् । तर अहिलेको समयमा अधिकतम सामाजिक सञ्जाल र डिजिटल उपकरणको प्रयोगले निम्त्याएको मानसिक स्वास्थ्यको चिन्ताले यसलाई उछिन्दै गएको छ”, मोट पोलका सह–निर्देशक र मोट बालरोग विशेषज्ञ सुसान वुलफोर्डले भन्नुभयो ।
“बालबालिकाले कम उमेरमै डिजिटल उपकरण र सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र आमाबाबुले सुरक्षा, आत्मसम्मान, सामाजिक सम्बन्ध आदी क्षेत्रमा पर्ने नकारात्मक प्रभावहरू रोक्न कसरी उचित निगरानी गर्ने भनेर सङ्घर्ष गरिरहेका छन्”, बालरोग विशेषज्ञ वुलफोर्डले भन्नुभयो ।
अस्ट्रेलियाले सामाजिक सञ्जाल सञ्चालनका लागि उमेर हद १४ देखि १६ वर्ष राख्ने सोच बनाइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ ।अस्ट्रेलिया पहिलो मुलुक हो जसले कानुनबाटै उमेर हदको प्रतिबन्ध लगाउन खोजिरहेको छ ।
सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले पनि स्वनियमनको उमेर हद राखेका हुन् तर राष्ट्रिय कानुनद्वारा नै यो विषयलाई सम्बोधन गरेपछि सामाजिक सञ्जाल कम्पनीहरूले यसको प्राविधिक उपकरण नै सुनिश्चित गर्नुपर्ने भएको छ ।
फेसबुक र इन्स्टाग्राम सञ्चालक मेटा कम्पनीले १३ वर्ष नभई कुनै पनि बालबालिकाले सामाजिक सञ्जालमा खाता सञ्चालन गर्न नपाउने स्वनियमन तोकेको भए पनि व्यवहारमा भने यसको कार्यान्वयनमा प्रभावकारी देखिएको छैन ।
यता युट्युब सञ्चालक अल्फाबेट कम्पनीले र टिकटक कम्पनीले भने उमेर हद तोकेका छैनन् ।
अस्ट्रेलियामा २ करोड ६० लाख नागरिकहरू सामाजिक सञ्जाल सञ्चालनमा रहेको र यसको एक तिहाइ १२ देखि १६ वर्ष उमेर समूहका बालबालिका रहेको सिड्नी विश्वविद्यालयको एक अध्ययनले देखाएको छ ।
यसअघि अस्ट्रेलियाले आफ्नो मिडिया कानुनमा परिवर्तन गरी आम सञ्चार माध्यमहरूको सामग्री प्रयोग गरे बापत सामाजिक सञ्जाल कम्पनीहरूले त्यस्ता आमसञ्चार कम्पनीहरूलाई प्रयोग गरे बापतको शुल्क तिर्नुपर्ने व्यवस्था गरिसकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान