“छापा पत्रिका बन्द हुनु पर्छ? के यो सकिन्छ? छापाका लागि के यो सबैभन्दा खराब समय हो, जहाँ विज्ञापनदाताहरू पत्रपत्रिकामा फर्किँदैनन् र आर्थिक मन्दीले तिनीहरूलाई अनलाइनमै लैजान्छ? यी हाम्रा एक जना पत्रकार साथीले सन् २००९ मा पत्रपत्रिकाका चुनौती र अवसरहरूको बारेमा आफ्नो एक परियोजनामा सोधेका प्रश्नहरू हुन् ।
आज पन्ध्र वर्ष पछि धेरै देशहरूमा छापा पत्रपत्रिकाको अवस्था नाजुक छ । पछिल्लो दशकमा छापा समाचारको खपत घटेको हाम्रो अनुसन्धानले बारम्बार देखाएको छ । अधिकांश प्रकाशनहरूका लागि छापा पत्रपत्रिका र विज्ञापनको राजस्व दुवै घट्दै गएको छ। धेरै प्रकाशकहरू डिजिटलमा सरिसरेका छन् । कोही भने हप्तामा केवल एक – दुई दिन मात्र पत्रिका छापिरहेका छन् ।
छापाको बहस अहिलेको मात्रै बहस भने होइन। यद्यपि, द ओनियन र स्पिन म्यागजिन लगायत धेरै विशिष्ट प्रकाशनहरू र पत्रिकाहरू यस वर्ष प्रिन्टमा फर्किएपछि विशेष गरी स्थानीय रूपमा रहेका ठुला समूहहरूसँग प्रतिस्पर्धा गर्नु पर्ने, कहिल्यै छापा नछोड्ने र इन्टरनेटमा पूर्ण रूपमा सामेल हुन अस्वीकार गर्ने अखबारहरूको बारेमा मैले विचार गरे । यो अपरिहार्य डिजिटल युगमा उनीहरूले कसरी काम गरिरहेका छन् भनेर म अध्ययन गर्न चाहेँ। त्यसैले मैले उत्तरी अमेरिकाका दुई वटा पत्रिकाका सम्पादकहरूसँग कुरा गरेँ जसले डिजिटलको बाटो त्यागेका छन्: क्यानडाको टोरन्टोको मासिक प्रकाशन वेस्ट एन्ड फिनिक्सका डेभ बिडिनी र अमेरिकाको न्यु जर्सीबाट प्रकाशित साप्ताहिक पत्रिका ट्राइसिटी न्यूजका ड्यान जेकबसन।
समुदायका लागि पत्रिका
“द्रुत समयको लागि ढिलो प्रिन्ट” टोरन्टोको वेस्ट एन्ड वरिपरि प्रकाशित हुने मासिक स्थानीय समाचारपत्र वेस्ट एन्ड फिनिक्सको नारा हो । यसका संस्थापक तथा सम्पादक डेभ बिडिनीले आठ वर्षअघि यो पत्रिका सुरु गरेका थिए । उनी भन्छन्- “मैले वेस्ट एन्डका सबै सामुदायिक पत्रपत्रिकाहरू हराएको थाहा पाए, त्यसैले मलाई हाम्रो समुदायमा छापा मिडियालाई बचाउन प्रयास गर्नु महत्त्वपूर्ण छ जस्तो लाग्यो ” ।
सुरुवातबाट नै बिडिनीले दुई कारणले डिजिटलमा जाने दबाबलाई अस्वीकार गरे । पहिलो उनले अनलाइन प्रकाशनहरूमा योगदानकर्ताहरूको लागि तलब धेरै कम भएको पाए । दोस्रो उनले माध्यमको रूपमा मुद्रणको महत्त्वमा साँच्चै विश्वास गरे । जसरी कागज पत्रपत्रिका पढिन्छ र यो पत्रिका पाठकहरूमा दिनभर रहन्छ ।
उनी भन्छन् -“हामीले गद्य र कथा कथनलाई प्रशोधन गर्ने तरिका एकदम फरक छ । हाम्रो अखबारको आवाज छ, सुगन्ध छ”। उनी अगाडी थप्छन् -“ प्रिन्टमा ती कथाहरू हामीले पेपर डेलिभर गरेपछि हप्तासम्म हाम्रा पाठकहरूको घरमा रहन्छन् । अनलाइन तपाइँ क्लिक गर्नुहुन्छ र यो हराउँछ तर अखबार अलि समय रहन्छ”।सम्पादक बिडिनीका अनुसार जब कसैकोमा अखबार पुग्छ, तिनीहरूका छिमेकीहरू यसलाई पढ्छन्, छोराछोरीले पढ्छन्, परिवारका नातेदारहरुले यसलाई हप्ताको अन्त्यसम्म पढ्छन् किनकि यो पत्रिका घरमा रहिरहेको हुन्छ ।
यही भावमा न्यू जर्सीमा प्रकाशित हुने साप्ताहिक पत्रिका ट्राइसिटी न्यूजका प्रकाशक र संस्थापक ड्यान जेकबसन पनि सहमत हुन्छन् । सो पत्रिकाले आफूलाई “पूर्वी मोनमाउथ काउन्टीमा कला, संस्कृति र राजनीतिमा केन्द्रित वैकल्पिक समाचार पत्र” भनेर वर्णन गर्दछ।
जेकबसनका अनुसार पत्रिकाले समुदायको रचनात्मक भावनालाई सेवा गर्दछ ।यस पत्रिकाको पहिलो संस्करण सन् १९९९ मा प्रकाशित भएको थियो र समय र प्रविधिको परीक्षामा यस पत्रिका खडा हुन सफल भएको छ ।
जेकबसन भन्छन्, “मैले यो पत्रिका सुरु गर्नु अघि करिब डेढ वर्षसम्म देशभरबाट फरक साइजका र विभिन्न ठाउँका लगभग ५० वटा वैकल्पिक समाचार पत्रिकाहरूको सदस्यता लिएको थिए र म सधैँ सबै पढ्थे । जेकबसनका अनुसार- ‘अहिले तीमध्ये धेरै समाप्त भएका छन्, ती अनलाइनमा जान खोजे र चल्न सकेनन् ।’
ट्राइसिटी न्यूज नि:शुल्क वितरण गरिन्छ जबकि वेस्ट एन्ड फिनिक्सका केवल सदस्यहरूका लागि मात्र हो । जसको एक वर्ष लामो सदस्यताको लागि क्यानेडियन पचासी डलर पर्दछ । जब मैले दुवै संस्थापकहरूलाई उनीहरूको पाठक को हो भनेर प्रश्न गर्दा उनीहरूको समान प्रतिक्रिया थियो : उनीहरू ती तथ्याङ्कहरूको मतलब गर्दैनन्।
किन? उनीहरू आफ्नो पत्रिका कसले पढिरहेको छ त्यसले फरक पर्दैन भन्ने तर्क गर्छन् । मानिसहरूले पढिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण छ । जेकबसनका अनुसार उनले सबै उमेर समूहका मानिसहरूले पत्रिका पढेको देखेका छन् जबकि बिडिनीका अनुसार उनीहरूले प्राय: सीमान्तकृत समुदायहरूमा पत्रिकालाई विभिन्न मानिसहरूमा पुर्याउने प्रयास गर्दछन् । अनलाइनले यी पाठकहरूलाई किन ट्र्याक गर्दैनन्? बिडिनी भन्छन्, “यदि मानिसहरूले यसलाई पढिरहेका छन् भने, यही नै सबैभन्दा महत्त्वपूर्ण छ।”
पत्रिकाको चित्रण नै मुख्य विषय
जेकबसन ट्राइसिटी न्यूजको अस्तित्वको श्रेय कहिल्यै अनलाइन नजाने निर्णयलाई दिन्छन् र यसै कुराले तिनीहरूलाई समुदायमा अलग बनायो । छ लाख बयालिस हजार जनसङ्ख्या रहेको मोनमाउथ काउन्टीमा विज्ञापनदाताहरूले अझै पनि प्रिन्टमा विज्ञापन गर्दछन् ।
जेकबसनले मलाई आफ्नो पेपरमा जाने विज्ञापनहरू देखाउँछन्: स्थानीय व्यवसायहरूको ठुलो, बोल्ड, रङ्गिन एक-पृष्ठ भरिको विज्ञापन। त्यसपछि उनले मलाई आफ्नो फोनको स्क्रिन देखाउँछन्, जुन तुलनात्मक रूपमा सानो र सरल देखिन्छ ।
जेकबसन भन्छन् -“तपाईँको फोन यति सानो छ कि यो हाम्रो प्रतिस्पर्धात्मक किनारा हो । विगत १० वर्षमा मैले सधैँ सोचेको छु कि यदि मैले कसैको ध्यान खिच्न सक्छु भने उनीहरूलाई साहसी भएर पत्रिका उठाउन लगाउनुहोस्, तब तिनीहरूले पत्रिका बाहेक अन्त हेर्न सक्दैनन्” ।
ट्राइसिटी समाचारको व्यापार मोडेल सरल छ: तिनीहरू प्रिन्ट विज्ञापन मार्फत राजश्व कमाउँछन् । यस पत्रिकाले दुई पूर्णकालीन कर्मचारी र चार आंशिक लेखक र स्तम्भकारहरू छन्। उनीहरूले छ हजारप्रति पत्रिका छाप्छन् र समुदाय वरिपरि नि:शुल्क वितरण गर्छन् – रेस्टुरेन्टहरू, बारहरू, थिएटरहरू, क्याफेहरू, सुपर मार्केटहरू, रेल स्टेसनहरू, र अन्य विभिन्न व्यवसायहरूमा।
जेकबसन आफ्नो पत्रिकाको राजस्व खुलाउन अस्वीकार गर्दै भन्छन् –“हामीले आफ्नो विज्ञापन दरहरू स्थिर राख्न सक्षम भएका छौँ”। उनीहरूको विज्ञापन सङ्ख्या स्थिर हुनुका साथै अहिले सम्मको सबैभन्दा सफल वर्ष सन् २०१७ रहेको छ।
जेकबसन भन्छन् -“मैले अनलाइनमा राजस्व सिर्जना गर्ने कुनै तरिका देखेको छैन । यो मलाई स्पष्ट थियो कि यदि हामी अनलाइन गयौँ भने कुनै बाधा हुनेछैन” । जेकबसनको अनुसार जो कोहीले अनलाइनमा विज्ञापन बेच्न सक्छ र धेरै सस्तो हुन्छ । जेकबसन अगाडी भन्छन् –“ मैले अनलाइन जाने विचारमा कहिल्यै परिन र सधैँ यसको विरोध गरेँ। नतिजाको रूपमा पत्रिकाले काम गर्यो र यो अझै राम्रोसँग चल्दै छ । मैले मानिसहरूले पत्रिका नपढ्ने र हाम्रो आम्दानी आउने विज्ञापनहरू नहेर्नुको कुनै कारण देखेको छैन।”
वेस्ट एन्ड फिनिक्सले पनि भिजुअल माध्यमको पूर्ण फाइदा लिन्छ। यसको पृष्ठहरू रङ्गिन चित्रहरू, रेखाचित्रहरू र फोटोहरूले भरिएका छन्। बिडिनी भन्छन् – “हामीसँग १५ इन्चका पृष्ठहरू छन्, त्यसैले पृष्ठमा फोटोहरू र चित्रणहरू सुन्दर देखिन्छन् ”।
सन् २०२४ मा छापा पत्रपत्रिकामा लगानी
जेकबसन र बिडिनी दुवैले मुख्य धाराका मिडिया प्रकाशनहरूलाई छपाई पत्रपत्रिकाको कार्यलाई निरन्तरता दिनमा कठिनाइहरू रहेको स्वीकार गर्छन्। जेकबसनको ट्राइसिटी न्युजले विज्ञापनको माध्यमबाट, प्रिन्टरहरू स्विच गर्ने र महामारी पछि अफिस स्पेस बन्द गर्दै लागत घटाउँदै आफूलाई धानिरहेको छ । सोही कारणले गर्दा विज्ञापन दरहरू पनि कम कायम राख्न मद्दत गरेको छ।
वेस्ट एन्ड फीनिक्स गैर-परम्परागत मोडेलमा चलेको छ । उनीहरूको राजस्व तीन क्षेत्रहरूबाट आउँछ: सदस्यता, संरक्षकहरूको चन्दा र विज्ञापन। उनीहरूसँग हाल नौ कर्मचारीहरू छन् र लगभग पाँच हजार प्रतिलिपिहरू वितरण गर्छन् । तर बिडिनी समुदायको उदारता बिना आफ्नो पत्रिका सम्भव नहुने कुरा स्विकार्छन्।
बिडिनी भन्छन् -“हामीले पत्रिका सुरु गर्दै छौँ भनेर एक स्थानीय व्यक्तिले सुनेपछि उनिले मद्दत गरे । उनका बुबाले बर्सौँ अघि वेस्ट एन्डमा छापा पसल चलाएका रहेछन् र हाम्रो मुद्रण लागतमा सहयोग गरेर आफ्नो बुबाको स्मृतिलाई सम्मान गर्न चाहन्थे ” । बिडिनीका अनुसार कसैले पत्रिकाको मुद्रणको लागि पैसा तिरिदिनु पनि अचम्मको कुरा रहेछ ।
जेकबसनले आफ्नो समुदायभरिका न्युजस्ट्यान्डहरूमा नि:शुल्क वितरणको मोडेल अपनाएका छन् । तर बिडिनीले आफ्नो पत्रिका मानिसका घर- घरमा पुर्याउँछन् ।बिडिनीलाई पत्रिकाको सफलता र महत्त्वमा विश्वास गर्ने अरूको सामूहिक प्रयासबाट पनि सहयोग मिलेको छ।
बिडिनी भन्छन् – “हामीसँग एक सय वितरक स्वयंसेवकहरू छन् जो प्रत्येक पाँच देखि छ हप्तामा पत्रिका लिन र समुदायमा पुर्याउन आउँछन्। यसमा मानिसहरू संलग्न हुन चाहन्छन् र तिनीहरू वास्तवमै आफ्नो समुदायको स्वास्थ्यमा योगदान दिन चाहन्छन् ” । बिडिनीका अनुसार मानिसहरू एक अर्काको बारेमा कथाहरू सुनाउन चाहन्छन् र उनलाई लाग्छ कि यो वास्तवमै उनीहरूको सफलताको एक भाग हो।
जहाँ अरू असफल भए, त्यहाँ आफू सफल
अनलाइनमा जान अस्वीकार गरेका छापा पत्रिकाको स्थायी सफलताले के भन्छ? दुवै पत्रिकाले ठुला प्रकाशनहरूसँग प्रतिस्पर्धा नगर्ने छनौट गरे । उनीहरूले आफूले पाठकहरूलाई के दिई रहेका छौँ भन्ने बुझे । एक अलग कुरा : पत्रकारिता जुन उनीहरूले अन्त कतै फेला पार्न सक्दैनन्।
जेकबसन् भन्छन् – “म सोचिरहेको छु कि प्रिन्ट विनाइल (रेकर्ड) जस्तै हुन जान्छ कि । चुनौती भए पनि यद्यपि यो अद्वितीय सामग्री हुनुपर्छ ”।
बिडिनी ठुला प्रकाशनहरूको तुलनामा आफ्नो सानो पत्रिकाको फाइदा रहेको भन्दछन् । आफ्नो पत्रिका पाठकहरूसँग अझ नजिकबाट जोडिन सक्षम छन् भन्ने कुरामा बिडिनीको विश्वास रहेको छ । आफूहरू धेरै तरलतापूर्वक परिवर्तन गर्न सक्षम रहेको भन्दै बिडिनीले आफ्नो छापामा कर्पोरेट मिडियाको अवरोधहरूद्वारा आफू नबाँधिएको बताउँछन् ।
बिडिनी भन्छन् – “टोरन्टो र क्यानडाका केही नाम भएका मुख्य धाराका अखबारहरूले गुमाएको एउटा कुरा भनेको आफ्ना पाठकहरूसँगको संलग्नता मात्र हो। र हामी साना भएकाले हामी फेरिन र बदलाव गर्न सक्षम छौँ र ठुला आउटलेटहरू भन्दा अलि बढी तरल बन्न सक्छौँ ” । “प्रकाशकको हैसियतमा, म मेरा पाठकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन र उनीहरूसँग नजिक रहन सक्छु, ” – उनी थप्छन्।
जेकबसनले आफ्नो काउन्टीमा स्थानीय कभरेजको गुणस्तर र दायरा विगत २० वर्षमा यस क्षेत्रका विरासत समाचारपत्रहरू घट्दै र कम हुँदै गएको वर्णन गर्छन्। यद्यपि उनीहरूको अद्वितीय सामग्रीले उनीहरूलाई सफल बनाउन मद्दत गरेको छ। उनी भन्छन् – ‘हामीले जस्तो यो क्षेत्रको अरू कसैले समाचार लेखेको छैन । मुख्य कुरा भनेको त्यो सामग्री दिनु हो जुन पाठकहरूले अरू कतै पाउन सक्दैनन्।”
उनीहरूले प्रदान गर्ने समाचार बाहेक, उनीहरूको मुद्रित अखबारको उत्पादन एक सबल पक्ष हो। बिडिनी पाठकहरू अनलाइनमा समाचारको निरन्तर आई रहनुको सट्टा पत्रिकामा रोकिन र समय बिताउन आकर्षित हुन्छन् भनेर वर्णन गर्दछन्।
बिडिनी भन्छन्- “हाम्रो संसार उन्मत्त गतिमा गति लिइरहेको छ र हामी छिट्टै जानकारी लिन सक्षम छौँ । तर लेखक र कलाकारले प्रस्तुत गरेको कामको साथ साँच्चै समय बिताउनु अनलाइनलाई पढ्ने र हेर्ने भन्दा पाठकको लागि मूल्यवान् हुन सक्छ ” । बिडिनी अगाडी भन्छन् – “यसले मानिसहरूलाई अनलाइनबाट हटेर एक छिन रोकिन मद्दत गर्दछ र पत्रिकाको समाचारहरू फरक तरिकाले पढ्नको लागि दिनको केही समय निकाल्न र अनलाइनको समय केही होल्ड गर्नको लागि अवसर दिइरहेको छ।”
(पानामाकी पत्रकार ग्रेटल कानद्वारा रिउटर इन्स्टिच्युटमा प्रकाशित लेख)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार