लालीगुराँस नगरपालिका-३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।
प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।
गुराँसे जंगलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयूँ) सिङ्चांगो याम्चांगो (धसिंगरे) ते लासे (केरा) लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्ला अग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ ।
पार्कमा मुन्धुमी सभ्यता प्रतिबिम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए । युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर घुम्न आएको उनले सुनाए ।
त्यसैगरी धरानबाट आफ्नो छोरीका लागि पूजा गर्न चोत्लुङ पार्क आएको चन्द्रा लिम्बूले बताए । चोत्लुङजस्तो पवित्र स्थानमा पूजा गर्दा बिरामी छोरीले स्वस्थ्य लाभ गर्ने विश्वासमा पूजा गर्न आएको उनले बताए । चोत्लुङ पार्कमा लालीगुराँस नगरपालिकाले एक पुजारी राखेको छ ।
चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्ताबेज सङ्ग्रहित छन् । लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि सङ्ग्रहालयमा सुरक्षित छन् ।
सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताए । ‘चोत्लुङ’ याक्थुङ ९ भाषाको अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ हुने तथा चोत्लुङ जीवनमा एक पटक पुग्नै पर्ने स्थानका रूपमा मुन्धुममा रहेको म्याङलुङ–२ का लिम्बू संस्कृतिका जानकार बलदेव तुम्बाहाम्फेले बताए ।
विसं २०७४ देख निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर र अन्य निकायको गरी हालसम्ममा रु. दुई करोड बढी खर्च भएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए ।
आन्तरिक मात्र नभएर बाह्य पर्यटकको चासोको केन्द्रका रूपमा पार्क स्थापित भइरहेको प्रवक्ता खड्काले बताए । उनका अनुसार देशभित्र मात्र नभएर सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीनलगायत देशबाट अवलोकनका लागि आउने गरेका छन् । पर्यटकलाई पार्क अवलोकनका लागि रु. ५० र सङ्ग्रहालय अवलोकनका लागि रु. १०० शुल्क लिने गरिएको छ । पार्क घुम्न आउने पर्यटकबाट मात्र गत वर्ष रु. १४ लाख राजस्व संकलन भएको छ ।
चोत्लुङ पार्क गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारमा अवस्थित छ । टिएमजे भ्रमण गर्नेहरू चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कने गरेका छन् । मध्यपहाडी लोक मार्गको वसन्तपुर बजार नजिक रहेको यो पार्क प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपालको यस्तो गाउँ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ
- १७ वर्षदेखि बोरामा बसेर पढ्न बाध्य छन् विद्यार्थी
- कन्याम चियाबारी
- डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
- लुम्बिनी कप फागुन १९ गते देखि
- धरहरा सञ्चालन भएको एक महिनामा ५५ लाखको टिकट बिक्री
- हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित
- पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
- सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
- बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो