भरत बडायर जोशी, एक २८ वर्षीय युवा । भर्खरै चीनबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुरास्थित परशुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो । पुरानो पार्टी, लक्का जवान उम्मेदवार । बहालवाला नगरप्रमुख नै उम्मेदवार बन्ने चर्चाकाबीच पार्टीले विश्वास गरेर टिकट दिएका पात्र । त्यो पनि पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा ।
पार्टीले विश्वास गर्यो तर जनताले के गर्लान् ? धेरैको मनमा प्रश्न थियो । जोशी भने चुनाव जित्नेमा ढुक्क । पुरानो पार्टीमा टिकट पाउनु नै जितको सुरुआत ठानेका उहाँमा जनमत पाउने अझ बढी आत्मविश्वास थियो । त्यसको आधार थियो, कोरोना महामारीका समयमा जनताको घरघरमा पुगेर औषधोपचारलगायत तत्कालीन समस्या नजिकबाट नियाल्नु र समाधानमा भूमिका खेल्नु । सङ्कटका बेला साथ दिएका जोशी धेरैजसो स्थानीयका लागि परिचित नै हुनुहुन्थ्यो । अपरिचितमा पनि चुनावी अभियानकै क्रममा आफ्नो मुद्दा बुझाएर आशाको दियो जगाउनुभयो । फलतः निर्वाचनमा विजयी हुनुभयो ।
देशभर युवापुस्ताको प्रतिनिधित्वको प्रश्न । त्यहीबेला पुरानो लोकतान्त्रिक पार्टीबाट सम्भवतः देशभरकै तन्नेरी (कान्छो) उम्मेदवारको जित । चर्चा थप चुलियो । पार्टीको साधारण कार्यकर्ता, राजनीतिमा नयाँ नयाँ । धेरैलाई चासो थियो, अब नगरमा के हुन्छ भनेर । ‘युवा एजले होइन, एजेण्डा’ले हुने हो भनेर बहस हुने पार्टीमा त झन् चासो हुने नै भयो । यही चर्चा र चासोका बीच उहाँको आधा कार्यकाल बित्यो । उल्लेखित संशय र प्रश्नको जवाफ कसरी दिइरहनुभएको छ त जोशीले ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “एकाध वर्षमा धेरै परिणाम खोज्न थालियो भने हामी सबै त्यसैमा अल्मलिन्छौँ । त्यसैले विकास भनेको ठूला भवन र पूर्वाधार, चिल्लो सडक र यस्तै कुरालाई सम्झिने परिपाटी छ तर हामीले यहाँको सर्वाङ्गीण विकासको कुरा गरिरहेका छौँ । त्यो भनेको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक जागरण, उद्यमशीलता, नवप्रवर्तन र सामूहिक भावनालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो सोच छ, सोहीअनुसार काम गरिरहेका छौँ ।”
यही सोचका कारण सकेसम्म आफूले फरक अभ्यास गर्न खोजेको नगरप्रमुख जोशीको दाबी छ । स्थानीय जनजीवनलाई केन्द्रमा राखेर स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार, खेलकुद र सामाजिक जागरणका काम सँगसँगै अगाडि बढाइएको उहाँको भनाइ छ । कोरोना महामारीमा जनताको स्वास्थ्य सेवामार्फत समाज सेवामा जुट्नुभएका जोशीले नगरप्रमुख भएपछि नागरिकमा गुणस्तरीय स्वास्थ्य पहुँच विस्तारमा जोड दिएको बताउनुभयो । “त्यसका लागि नगर अस्पताल सुधारमा लागियो । हाल एक एमडी र तीन जना एमबिबिएस चिकित्सकमार्फत सेवा प्रवाह, बहिरङ्ग सेवा विस्तार, दन्तसेवा प्रवाह, वडामा डाक्टर, नगर क्षेत्रका विद्यार्थीको स्वास्थ्य विवरण तयार गरी विद्यालयमै स्वास्थ्य जाँच, गर्भवतीलाई अन्यत्र रेफर गरे निःशुल्क एम्बुलेन्स सेवा दिने काम भइरहेका छन्”, उहाँले सुनाउनुभयो ।
जोशीले घरघरमा सिंहदरबारको नीतिअनुसार सम्भव भएसम्म सबैजसो सेवा वडाबाटै प्रवाहका लागि पहल गर्नुभएको छ । हाल सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, बैंक खाता सञ्चालन र रकम भुक्तानीको काम वडाबाटै सुरु भएका छन् । शिक्षा सुधारका लागि सामुदायिक विद्यालय सुधार, उच्च शिक्षाका लागि विद्यार्थी सहुलियत कर्जा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, रु एक करोड ६० लाख बढीको आधुनिक पुस्तकालय, गाउँमै लोकसेवा कक्षा, युवालाई ‘करियर काउन्सिलिङ’ जस्ता कार्यक्रम अगाडि बढाइएका छन् । यसका अतिरिक्त उज्यालो नगर, पर्शुराम साहित्य महोत्सव, खेलकुदको प्रवद्र्धनका लागि भलिबल, क्रिकेटमा आफ्नै टोली, बन्द प्रशिक्षणजस्ता कार्यक्रम कार्यान्वयन भइरहेका छन् । पर्शुराम गौरव योजनाअन्तर्गत क्रिकेट रङ्गशाला, कबर्डहल, धार्मिक पर्यटन विकासका लागि पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण योजना, महाकालीमा जलपर्यटन विकासका लागि स्थानीय युवालाई ‘ र्याफ्टिङ गाइड तालिम’ दिएर स्वरोजगार बनाउने प्रयासको थालनी भएको छ ।
आफ्नो पालिकामा नागरिकलाई दिने सुविधाबारे चिन्ता त छँदैछ, समग्र सुदूरपश्चिमका विकास प्राथमिकता र सम्भावनाबारे सामूहिक चिन्तनको विकासमा पनि पर्शुराम अगाडि छ । गत पुस १५ र १६ मा सम्पन्न पहिलो सुदूरपश्चिम मेयर फोरमसमेत त्यसैको उपज हो । “हाम्रो प्रदेशमा ८८ वटा पालिका छन् । हामीभन्दा धेरै अनुभवी, स्रोतसाधन सम्पन्न पालिका त अरु पनि छन् तर यो सामूहिक भावनाको विकासको सुरुआत पर्शुरामले नै गरेको छ”, नगरप्रमुख जोशीले भन्नुभयो, “पछिल्लो समय खेलकुदमा युवाको लगाव बढ्दै छ । पर्शुरामको पहिचानका लागि भलिबल र क्रिकेटमा आफ्नै टोली बनाएका छौँ । हालसम्म हाम्रो टोली सहभागी भएका खेलमा राम्रो नतिजा आइरहेको छ ।”
फरक पार्टीबाट भए पनि युवा नै छन् उपप्रमुख विमलाकुमारी बोहरा । हाल प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी कल्पना भट्ट पनि उस्तै । उमेरले मात्रै होइन, कामले पनि तन्नेरी भएको देखाउनु छ नगरप्रमुख जोशीको टोलीलाई ।
प्रमुख प्रशासकीय अधिकृत भट्ट स्थानीय सम्भावनाको प्रवर्द्धन, युवा जनशक्ति, कृषि, धार्मिक पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले काम गरिरहेको बताउनुहुन्छ । स्थानीय आवश्यकता सम्बोधनका साथै पर्शुरामको पहिचान निर्माणका लागि रचनात्मक कार्यक्रम पनि अगाडि बढिरहेका उहाँले बताउनुभयो । “यहाँका गाउँघरमा अहिले महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै देखिन्छन् । हुन त यो देशकै समस्या हो । यो भित्री मधेस हो, तराईबाट नजिक र पहाडसमेत भएको हिसाबले उत्पादनको राम्रो सम्भावना छ । भारत पनि जोडिएकाले व्यापारको त्यत्तिकै सम्भावना छ । सुन्तला, आलु, सिड फ्रुटहरूलगायतको उत्पादन राम्रो हुन्छ । पशुपालन (भेडा, बाख्रा) को प्रचुर सम्भावना छ । युवालाई यही रोक्न सकियो भने धेरै काम गर्न सकिन्छ । यसमा हाम्रो प्रयास जारी छ”, उहाँले भन्नुभयो ।
भट्टले हिन्दू धर्ममा विशेष महत्व राख्ने पर्शुरामधामको विकास, महाकाली नदीको जलस्रोतको उपयोगका विषयमा पनि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पारीको पूर्णागिरिमा त्यत्रो भीड हुन्छ, पर्शुरामधाममा नहुने भन्ने होइन । महाकाली नदीमा पुल र पर्शुरामधामलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसक्यो भने त्यो सम्भावना यहाँ पनि छ । त्यसैले पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण, शिवालयमा धार्मिक बगैँचा, गौशाला र धर्मशाला, ताल निर्माणका काममा लगानी बढाइरहेका छौँ ।”
शैक्षिक कर्जादेखि छोरीबुहारी छात्रवृत्ति
नगरपालिकाले उच्च माध्यामिक शिक्षा परीक्षा (एसइई) वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिनाब्याजमा कर्जा दिइरहेको छ । नगरपालिकाको १४औँ नगरसभाबाट पारित निर्णयअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिनाब्याजमा रू पाँच लाखसम्म कर्जा दिन थालिएको हो ।
आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई बिनाब्याज कर्जा दिन थालिएकामा हालसम्म यसबाट ३० जना लाभान्वित भएका छन् । “लक्षित समुदायका बालबालिकासहित लोपोन्मुख परिवार, विपन्न वर्ग र महिलाको शिक्षामा पहुँच बढाउन यो सहुलियतको कार्यक्रम लागू गरेका छौँ”, नगरप्रमुख जोशीले भन्नुभयो,“हालसम्म ३० जनालाई कर्जा दिएका छौँ । विद्यार्थीको अवस्था र अध्ययन गर्ने विषयअनुसार रु ५० हजारदेखि तीन लाखसम्म कर्जा दिएका छौँ । पहिलो किस्तास्वरूप चालु आर्थिक वर्षमा रु ३० लाख दिइसकेका छौँ ।”
जेहेन्दार तथा आर्थिक रूपमा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने नगरपालिकाको निर्णय निकै सराहनीय रहेको पर्शुराम–२ शीर्षका भुवन सार्कीले बताउनुभयो । यस कार्यले आफूजस्ता धेरै विद्यार्थीलाई पढाई निरन्तरताका लागि निकै सघाउ पुग्ने उहाँको विश्वास छ । सार्की हाल सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कम्प्युटर इञ्जिनियरिङमा स्नातक पाँचौँ समेष्टरमा अध्ययन गरिरहनुभएको छ । “आर्थिक अवस्था कमजोर हुँदा पनि पढाई सुरु गरियो । धेरै पैसा खर्च भइसकेको छ । पालिकाले थोरै भए पनि रकम कर्जा उपलब्ध गराउने भनेपछि निकै खुसी लागेको छ । यसले हामीजस्ता विद्यार्थीलाई निकै राहत पुग्नेछ”, उहाँले भन्नुभयो ।
पालिकाको वडा नं १० जजोलकी यशोदाकुमारी विष्ट वीरगञ्ज नर्सिङ क्याम्पसमा नर्सिङ स्नातक तह पहिलो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ । उहाँले पनि नगरपालिकाबाट शैक्षिक कर्जा पाउनुभएको छ । “शैक्षिक कर्जा जेहेन्दार तर आर्थिक रुपमा थप अध्ययन गर्न नसक्ने मजस्ता विद्यार्थीका लागि निकै लाभदायक हुने मैले विश्वास गरेकी छु”, उहाँले भन्नुभयो, “सायद नगरपालिकाले यो कार्यक्रम सुरु नगरेको भए मैले पनि बिएनको अध्ययन सुरु नै गर्दिन थिए होला । यो शैक्षिक उन्नयनका लागि धेरै राम्रो कार्यक्रम सावित हुनेछ ।”
यस्तै शैक्षिक कर्जा प्राप्त गर्नेमा हुनुहुन्छ चिकित्साशास्त्रतर्फ स्नातक तह (एमबिबिएस) अध्ययनरत पङ्कज जोशी । पर्शुराम–१२ जोगबुडाका उहाँ नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो वर्षमा अध्ययनरत उहाँले नगरपालिकाबाट शैक्षिक कर्जाप्राप्त गरेपछि पठाइमा उत्साह थपिएको बताउनुभयो । यसले प्राविधिक शिक्षा अध्ययनका लागि पालिकाका हरेक युवा उत्प्रेरित हुने अवस्था बनाउन सकारात्मक भूमिका खेल्ने जोशीको भनाइ छ । “पढ्ने चाहना भएका तर आर्थिक अभावले त्यो पूरा नहुने अवस्थाका विद्यार्थीको अभिभावकीय भूमिका निर्वाह गर्ने नगरको पहल प्रशंसनीय छ”, उहाँले भन्नुभयो । उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने प्रावधान छ ।
यसैगरी छोरीबुहारी छात्रवृत्ति कार्यक्रम पनि यहाँ लागू गरिएको छ । यसले चुलोचौकामा सीमित हुने छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनका लागि थप हौसला प्रदान गरिरहेको छ । शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८० अनुसार नगरले स्नातक वा स्नातकोत्तर तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत र नगरपालिकाभित्र अध्यापन नहुने प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरतलाई रु एक लाख र साधारणतर्फ स्नातक वा स्नातकोत्तर पढ्नेलाई रु २५ हजार प्रदान भइरहेको छ । यसबाट १९ जना यसबाट लाभान्वित भएका प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनुभयो । यसले छोरीबुहारीको शिक्षामा पहुँच अभिवृद्धिका लागि सहयोग पुग्ने उहाँको भनाइ छ ।
यसबाहेक अनाथ बालबालिका र विज्ञान सङ्काय, प्राविधिक धार विद्यार्थी छात्रवृत्ति कार्यक्रम पनि सुनिश्चित गरिएको छ । गाउँमै लोकसेवा कक्षा सञ्चालन गरी एक सय ७० जनालाई निःशुल्क कक्षा दिइएको छ । एक सय ४५ जनाभन्दा बढी युवा विद्यार्थीलाई करियर काउन्सिलिङ दिएर जीवन र पढाइप्रति थप हौसला प्रदान गर्ने काम भएको छ
‘नदी कटान रोक्नुपर्यो, गरिखाने अवस्था बनाउनुपर्यो’
ज्येष्ठ नागरिक ८१ वर्षीय भोगी धामीका अनुसार बसाइँसराइले गाउँ रित्तिने अवस्था छ । गाउँमै रहेका युवाहरु पनि रोजगारीका लागि थातथलो छोड्दैछन् । तीमध्ये धेरैजसो गाउँ फर्किंन चाहँदैनन् । यसैकारण गाउँमा भएकाहरुको जीवनस्तर सुधारका लागि प्रत्यक्ष प्रभाव पार्ने काममा लगानी गर्नुपर्ने उहाँको सुझाव छ । “हुनेखानेहरू धनगढी, महेन्द्रनगर, काठमाडौँ गइसके । कुनै विकल्प नभएका गरिब, विपन्न परिवार यहाँ बसिरहेका छौँ । त्यसैले हाम्रा केटाकेटीका लागि राम्रो गुणस्तरीय शिक्षा, युवाका लागि स्थानीयस्तरमै केही गरिखाने वातावरण बनाउनुप¥यो । ढल निकास, नदी नियन्त्रणजस्ता काम गर्नुप¥यो । अहिले युवा मेयर छन्, हामीले महसुस गर्नेगरी काम गर्नुपर्यो”, धामीले भन्नुभयो ।
अर्का ज्येष्ठ नागरिक ७२ वर्षीय तुलबहादुर कार्की पनि गाउँ छोडेर गएकाहरुलाई फर्काउन नसकिए पनि गाउँमा भएकालाई यहीँ बस्ने वातावरणका लागि रोजगारी सिर्जनामा जोड दिन आग्रह गर्नुहुन्छ । “हाम्रो मुख्य समस्या नदी कटान र रोजगारी नै हो । यी दुवै समस्या समाधानका लागि काम गर्नसके धेरै राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । वडा नं ५ का अध्यक्ष दिलबहादुर शाही पनि पर्शुरामधामको विकास गरी धार्मिक पर्यटनको माध्यमबाट समृद्ध नगर बनाउन सकिने भन्दै महाकालीले गर्ने क्षति नियन्त्रण गरी बाँकी काम अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । “महाकालीले बर्सेनि क्षति गरिरहेको छ । त्यहाँ स्थायी तटबन्ध नबनाउने हो भने धाममा जति लगानी गरे पनि समस्या हुने नै हो । यसका लागि हाम्रो सामथ्र्यले नभ्याउने हुँदा केन्द्रबाटै बजेटको व्यवस्थापन हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
नगर कार्यपालिका सदस्य शिविराम विक अत्यावश्यक पूर्वाधार विकासका साथै यहाँको जातीय विविधता सम्बोधन, दलित तथा सीमान्तकृत वर्गको उत्थान, कला संस्कृतिको संरक्षण, समानुपातिक विकासका लागि जोड दिन आवश्यक रहको बताउनुहुन्छ । उद्यमशीलता विकास, सामाजिक समानता, विभेदको अन्त्यका लागि जागरणका काममा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
वडा नं १ का अध्यक्ष लालबहादुर धामीले सुदूरपश्चिमका पाँच÷सात जिल्लाकै मान्छेहरूको बसोबास रहेको पालिकामा सबैको पहिचान र आवश्यकताअनुसार काम गर्न चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । “हावापानी पनि तराई र पहाडको मिश्रित नै छ र बसाइँ पनि मिश्रित नै । नागरिकको जीविकोपार्जनसँग जोडिएका बेसारखेती, बाख्रापालन, उखु, सुन्तला, चिउरी उत्पादनमा आधारित कृषिकर्म, प्राविधिक शिक्षा, उद्यमशीलता विकासका लागि त काम गर्नैैपर्छ”, धामी भन्नुहुन्छ, “महाभारतबाट बगेर आउने रङ्गुन र चुरेबाट बगेर आउने पुन्तुरा नदीले ठूलो क्षति गरिरहेको छ । यसको गुरुयोजनासहित तटबन्ध गरिनुपर्छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
टीकाराम सुनार का अन्य पोस्टहरु:
