देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ८:३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो।

निर्वाचन आयोगका अनुसार उम्मेदवार मध्ये १२ हजार १८१ दलित महिला सदस्य र १३ हजार ५५४ जना महिला सदस्यका लागि उमेदवारी परेको छ।यसैगरी वडाध्यक्षमा २० हजार १७६ जनाले उमेदवारी दिएका छन्।   

महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २३ सय ४३ र उपप्रमुख पदमा १४ सय ४५ जनाको उम्मेदवारी परेको छ भने गाउँपालिकाको अध्यक्षको पदमा २४ सय ९७ र उपाध्यक्ष पदमा १७ सय २६ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको आयोगका प्रवक्ताले बताउनुभयो। आयोगमा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने वताउनु भयो।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन आयोगले जिल्लाहरूमा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ । आज ७७ जिल्लामा सामग्री पठाइएको र वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकोमा सो कार्य आज ५ बजेसम्म सम्पन्न भएको   छ। निर्वाचन आचारसंहिता अहिलेसम्म गम्भीररुपमा उल्लङ्घन नभएको जानकारी दिनुहुँदै प्रवक्ता पौडेलले भन्नुभयो, “अहिलेसम्म गम्भीर उल्लङ्घनको सूचना आयोगलाई प्राप्त भएको छैन, सामान्य घटनालाई आयोगले नोटिसमा लिएको छ ।”

निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

आवरण तस्बिरः भक्तपुरमा उम्मेदवारी दर्ता सौजन्यः भक्तपुर टाइम्स

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link