“साथी” कस्तो मिठो नाता। साथीमा लेखिएका गहकिला भनाई अनि हाम्रा साथीसँगका भोगाइ, अनुभव र सम्झना मिठा- तिता सबैखाले होलान् है? मान्छे एक्लै रमाउन सक्ने प्राणी हो कि आफ्नाहरूको भिडमा? यो फरक मैले आजसम्म छुट्याउन सकेकी छैन। कहिले लाग्छ मान्छे भिडमा साथीसँग रमाउन चाहन्छ कहिले लाग्छ मान्छे एक्लै आफ्नो साथी आफैं भएर रमाउन चाहन्छ। यो फरक समयले बताउला मलाई, यो भिन्नता छुट्टाउने जिम्मा समयलाई नै सुम्पिएँ।
साथी भेटिने कति अवस्था नियोजित हुनेरहेछन् भने कति अवस्था आकस्मिक भेट हुँदा रहेछन्। मैले भने धेरै जसो भेट गराउने अवस्था निर्धारित नै पाएकी छु। जस्तो कि स्कुल, कलेज, अफिस, कुनै निश्चित प्रोजेक्ट आदिइत्यादि। यी सबै भेटमा मित्रता हुने पहिलो खुड्किला एकअर्काको नाम साटासाट गरेर हुने गर्छन्।
भेट भएको कारणले वा औपचारिक परिचयबाट अब हामी साथी बन्छौँ भनेर साथी बन्ने भन्ने पनि होइन रहेछ। भेटलाई मित्रतामा परिणत गर्ने नगर्ने, कति समय लैजाने वा नलैजाने भन्ने कुराको निर्णय व्यक्तिगत हुने रहेछ। त्यसै साथी बनिन्छ र? विचार, आचरण, सम्बन्ध, नियमितता मिल्नु पनि त पर्यो होला नि। कति साथी समयले भेटाउँदा रहेछन् भने कति साथी समयले नै छुटाउँदा पनि रहेछन्। हामीसँग विभिन्न कालखण्डमा भेट भएका साथी हामीसँगै सधैँ कहाँ हुन्छन् र? कति साथी जीवनमा अभिभावक भएर आउँदा रहेछन्। कति साथी सुखको साथी बनेर आउँदा रहेछन्। कति साथी दुःखमा पहिले सम्झिन सकिने नाम बनेर आउँदा रहेछन्। कति साथी उत्प्रेरणा बनेर आउँदा रहेछ्न्। कति साथी अघोषित प्रतिस्पर्धा बनेर भने कति साथी मानव संवेदना सिकाउने मिठो पाठ बनेर। आजको दिनसम्मका सबै साथीमा सधैँको अपार माया। मित्रता हुने अरू पनि अनेकन अवस्था रहन्छ होला है?
एउटा अलि अनौठो खालको आकस्मिक साथीसँगको कथा भन्न मन भयो आज। जुन मित्रताको सुरुवात स्कुल, कलेज, कार्यलयबाट भएको थिएन। अब हामी साथी बनौ है पनि भनिएको थिएन। “रङ्ग कडा, चिनी कम” भएको दूध चिया मन पराउने मलाई चियाको तलतल लगेको बेला जाने एउटा सानो तर फराकिलो न्यानो मन भएकाको क्याफे छ। जहाँ म प्राय सधैँ जाने गर्छु। मेरो स्वादको चिया थाहा नै भैसक्यो मलाई आफ्नै जस्तो गर्ने क्याफेका धनी दाई, दिदी अनि आन्टीलाई। सधैँ चिया पिउन जाने अनि कहिले त्यहाँ बन्ने गरेको खाजा खाने गर्छु त्यो पनि आफ्नै स्वादको हिसाबले बनेको। कति पनि झर्को नमानि बनाइदिनु हुन्छ, पछि आफैंले दुःख दिएछु कि भन्ने लाग्छ पनि। यसरी सधैँ गैरहेने क्रममा क्याफेका धनी दाईको कथा, उहाँकी एकल आमाले १८ वर्षको उमेरमा एउटा छोराको जन्म दिनुभएपछि श्रीमान गुमाएपछिको पीडा र पछि अर्को विवाह नगरी त्यही छोरा हुर्काउँदाका संघर्षका कथामा हराउँछु। अनि कहिले उहाँका छोराले युरोपमा आफू बस्दा पैसा कमाउन कै लागि ज्यानको बाजि थापेर लुक्दै, खुट्टा भाचिदा पनि सलले खुट्टा बाधेर काममा जाने गरेको भोगाईमा उहाँका आँखाबाट बग्ने आशुसँगै बग्छु। कहिले दिदिले दाईले आफुलाई मनपराएर भगाएर ल्याएको रोचक कथा मै रमाउछु। कहिले यसै आफ्नै कामको योजना बनाउँदै हुन्छु र जिम्मेवारी पुरा गर्दै हुन्छु। क्याफेको दिनचरिया यस्तै-यस्तै हुन्छन मेरा।
म उहाँहरूको कथामा हराउँदै चिया, खाजा सकिसक्दा पनि त्यहीँ निकै बेरसम्म बसिरहन रुचाउने अनि आफ्नो कामपनि भर्चुअल रूपमा हुनेजति त्यहीँ बसेर गर्ने भैसकेकोले म त्यहीँ निकैबेर सम्म बसिरहनु स्वभाविक नै भयो। नातापनि त आफ्नै जस्तो भैसकेकोछ।
त्यही क्याफेमा मसँगै चिया खाजा खाना आउने ३ देखि ५ जना हुन्छन् जो सधैंसँगै जस्तै हुन्छन्। ती मध्येपनि २ जना चाहिँ नियमित छन्। साह्रै हावा कुरा गरेर आफ्नै साथीलाई उडाएर बस्ने। हावै रहेछन् केटाहरू भन्ने पनि लाग्यो सुरुमा। म कुनै प्रतिक्रिया नजनाई चुपचाप आफ्नै सुरमा फोनमा भुलिन्थे। खास वास्ता पनि गर्दिन थिएँ। एकदिन चाहिँ उनीहरूको खाजा नयाँ केहि खाने भन्ने कुरालाई लिएर ठुलो विवाद भयो। अन्तिममा अण्डा दुधमा फेटेर अम्लेट खाने कुरामा सहमति भयो। क्याफेका दाईलाई बनाउन लगाएरै खाएरै छोडे केटाहरूले। कोही “जुसी हुनेरहेछ है” भन्दै थिए भने कोहि “राती छेरौटी लाग्यो भने तैंले उपचार गर्नुपर्छ” भन्दै जिस्किदै पनि थिए।
यो क्रियाकलाप पछि मलाई एउटा पात्र रोचक लाग्यो। मेरा कथामा वा नाटकका अटाउन सक्ने पात्र हुन कि भनेर उनीहरूका क्रियाकलाप पढ्नुपर्छ भन्ने पनि लाग्यो। आफुले जानेका काम जतापनि आइहाल्ने रहेछ, रुचि कथा र कथाका पात्रमा जो छ। त्यसपछि भने मैले सबैलाई ध्यान दिएर बुझ्ने प्रयास गरें। म केही “सोसल” हुन थाले उनीहरूसँग। हरेक क्रियाकलापको सिंहावलोकन गर्न थाले। सोचेजति हावा त होईन रहेछन्। मानव संवेदना मज्जाले बुझ्ने पो रहेछन् जस्तो लाग्न थाल्यो। उनीहरू पनि त ग्राहक नै हो, टेबलमा बसेर आफ्नो अर्डर गर्दा पुग्थ्यो नि तर होइन मान्छे अलि धेरै हुने बित्तिकै टेबल छोडेर आफू उठेरै खाने तर अरु ग्राहकलाई त्यो ठाउँ छोडिदिने गर्दा रहेछन्। खाजा र चियाको अर्डर आउँदा क्याफेका तीनै जना खटिएका बेला सानो छोरालाई हेर्ने काम पनि गरिदिदाँ रहेछन्। अनि दाइ, दिदी वा आन्टी तीनजनामा किचनको सकिएको समान लिन गएको बेला भिड एक्कासि बढ्यो भने किचनमा गएर काममा नै सहयोग गर्दा रहेछन्। भिडमा कसले के खायो भनेर ठ्याक्कै हिसाब निकाल्न सहयोग गर्ने रहेछन्।यो सबै गर्दै गर्दा पनि आफुले खाएको कुराको भने पूरा पैसा यी साथीहरू आफैंले तिर्ने नभुल्ने रहेछन्।
म झनै प्रभावित हुँदा संगत गर्न रुचाउने भए। मानव संवेदना हराउनै लागेको बेलामा यस्ता मानिसपनि त रहेछन् जसलाई मैले गुमाउनु हुँदैन भन्ने लाग्न थाल्यो। बिस्तारै म पनि साथीहरूकै एउटै टेबलमा सँगै चिया पिउने, खाजा नयाँ के बनाउन सकिएला त भन्ने यो समूहमा सामेल भैसकेकी रहेछु। अनि क्याफे गएर को पहिला आयो त्यसै कुरेर सबैजना भेटेर सबैको दैनिकी कामका बारेमा गफ गरेर मात्र घर फर्किने बानी परेछ हामी सबैलाई। अहो। हामी त साथी पो भएछौं। यत्रो साथीमै केन्द्रित भएर यति सारा कुरा पोखिसक्दा पो झल्यास्स भएँ मलाई त मेरा साथीका नाम समेत थाहा रहेनछ। भोलि कस्ले पो देखेको छ र? समयले कसलाई कहाँ पुर्याला के थाहा ? हामी सबै त्यहि क्याफेमा सधैं नभेटिन पनि त सक्छौं, त्यती बेला म यी प्यारा साथीलाई कसरी सम्झिनु। यस्तो पनि मित्रता हुँदारहेछ सबै थाहा पाएर पनि केहि थाहा नहुने। यसरी त कसरी होला ? भोलि भटिएला नभेटिएला सम्झिनलाई एउटा आधार “नाम” त चाहिन्छ अहिले नै क्याफे जान्छु अनि “आज, म मेरा साथीको नाम सोध्छु।” अनि नाम भन ल साथी।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार