सिंगापुरमा शनिवार सम्पन्न चुनावमा सत्तारुढ पिपल्स एक्सन पार्टी (पिएपि)ले लगातार १४ औँ पटक चुनाव जितेको छ। पार्टीले सन् १९६५ पछि लगातार १४ औँ पटकको कीर्तिमान सहित आफ्नो अटुट छ दशकको शासनलाई पनि जारी राखेको छ। वर्तमान प्रधानमन्त्री समेत रहेका लरेन्स वङको नेतृत्वमा भएको चुनावमा उनलाई बलियो जनादेश प्राप्त भएको छ।
अमेरिकामा ट्रम्पको पुनरागमन पश्चात् सिर्जित विश्वव्यापी व्यापार युद्धको आर्थिक उथलपुथल बीच समुन्नत र विकसित सहरी-राज्य सिंगापुरको लागि यस चुनाव र आएको नतिजाको अर्को महत्त्व देखिन्छ।

शनिवार सम्पन्न निर्वाचनको पछिल्लो नतिजा अनुसार १९६५ को स्वतन्त्रता अघिदेखि सिंगापुरमा शासन गर्दै आएको पिएपिले ९७ संसदीय सिटहरू मध्ये ८७ जितेको छ भने ३३ निर्वाचन क्षेत्रहरू मध्ये धेरैमा ठुलो अन्तरले विजय हासिल गरेको छ। विपक्षी दलहरूले भने यस भन्दा अघिका चुनावहरूमा हासिल गरेको सिटको सङ्ख्या भने बढाउन नसकी खुम्चिएका छन्।
एसियाको आर्थिक केन्द्र मानिने सिंगापुरको सत्तामा सदैव बलियो पकड बनाएको सत्तारुढ दल विरुद्ध चुनाव पूर्व केही निराशाका सङ्केतहरू सुनिए पनि अहिले पिएपिले प्राप्त गरेको नतिजाले पार्टीको लोकप्रियता नघटेको प्रमाणित गरेको छ। ६० लाख मानिसहरू बसोबास गर्ने टापु- नगर राज्य सिंगापुरमा अन्य कुनै दलले अहिलेसम्म शासन गर्न पाएका छैनन्। यसरी पिएपिले शनिवार लगातार १४ औँ चुनाव जितेर आफ्नो अटुट छ दशकको शासनलाई विस्तार गर्न सक्षम भएको छ।
हाल सम्मका १४ वटा चुनावमा पिएपिले लगातार लगभग ९०% सिट जितेको भए पनि, सत्तारुढ पार्टीले प्राप्त गर्ने जनमतको हिस्सालाई लोकप्रियता र जनादेश बलको मापनको रूपमा नजिकबाट हेरिएको हुन्छ। यो हेर्दा नयाँ प्रधानमन्त्री लरेन्स वोङले गत चुनावमा पिएपिले पाएको जनमत रेकर्डमा सुधार गरेका छन्। २०२० मा सम्पन्न निर्वाचनमा पिएपिले इतिहासकै सबैभन्दा खराब प्रदर्शन गर्दै ६१.२% भोट ल्याएको थियो। प्रधानमन्त्री लरेन्स वोङ नेतृत्वमा पिएपिले ६५.५७% मत प्राप्त गर्दै पछिल्लो चुनावमा पाएको जनमतको प्रतिशतमा बढाउन पार्टी सफल भएको छ।
अमेरिकाको युनिभर्सिटी अफ मिशिगन र हार्वर्ड विश्वविद्यालयबाट शिक्षित ५२ वर्षीय प्रधानमन्त्री लरेन्स वोङको सार्वजनिक जीवन माथि जनताको अभिमत र बढ्दो समर्थनको रूपमा सिंगापुर राजनीतिले यसलाई लिनेछ। गत वर्ष मात्र सिंगापुरको चौथो प्रधानमन्त्री बनेका वोङले सुशासनको निरन्तरताका साथै नयाँ जोस र नयाँ नेतृत्व शैलीको वाचा जनतासँग गरेका थिए। प्रधानमन्त्री वोङले आधुनिक सिंगापुरका संस्थापक पूर्व नेता ली कुआन यूका छोरा ली ह्सियन लुङको प्रधानमन्त्रीको रूपमा दुई दशक लामो नेतृत्वको अन्त्यमा पदभार ग्रहण गरेका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर