हिमाली जिल्लाहरू मुस्ताङ, मनाङ र डोल्पामा किसानहरूले पाल्ने विभिन्न गाईका प्रजातिहरूमध्ये लुलु गाई पनि एक हो। यो गाईले पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ, तर पछिल्लो समय लुलु गाई लोपोन्मुख अवस्थामा पुगेको छ।
लुलु गाई, जुरो नभएको स्थानीय गाईको एक प्रजाति हो, जुन हिमाली क्षेत्रको उच्च भूभागमा पालिन्छ र अन्य गाईको तुलनामा यो केही होचो हुन्छ। यो गाई समुद्री सतहबाट २,५०० मिटरभन्दा माथिको उचाइमा पाल्ने गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार, मुस्ताङमा परम्परा र संस्कृतिको हिस्साका रूपमा सयौँ वर्षदेखि पालिँदै आएको लुलु गाई हाल लोपोन्मुख अवस्थामा छ। उनले बताएअनुसार, दश वर्षअघि मुस्ताङमा १०,००० भन्दा बढी लुलु गाई थिए, तर हाल मुस्ताङका पाँच पालिकाहरूमा जम्मा करिब ६,००० लुलु गाई पालिएको छ।
“मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थपे, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गाई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।”
मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए । “कृषकहरू लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशु शाखा प्रमुख थकालीले भने, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्ने लगायतमा सहयोग गर्ने गरेको छ ।”
मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रूपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ ।
जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले बिस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रूपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताए ।
“अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभाबी छाडिदिने गर्न थाले”, उनले भने, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।” पहिला पहिला एउटै घरमा १०/१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाए ।
लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरू लोपोन्मुख हुन थालेका हुन् ।
त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरू कृषकले बेवास्ता गरी छाडा रूपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ ।
आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरूले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पर्यटक प्रवर्द्धनका लागि पार्क सञ्चालन
- पढाइसँगै सीप सिकाउँदै विद्यालय
- फोहरलाई मोहरमा बदल्दै युवा
- नेपाल राष्ट्र बैंक : चालु खाता र शोधनान्तर बचतमा
- काठमाडौँ -फाप्लु हप्तामा चार दिन उडान
- इजरायली आक्रमणबाट गाजा २२ जनाको मृत्यु, कयौ घाइते
- युएईमा अत्यधिक तापक्रम : ५१.६ डिग्री सेल्सियस
- मकैमा किरा देखिन थालेपछि किसान चिन्तामा
- शुक्लाफाँटा आरक्ष विस्थापितहरू : २४ वर्षदेखि न्यायको पर्खाइ
- आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
