हाम्रो भान्सा, घर, कार्यालय, स्कूल र कारखानाबाट हरदिन फोहर निस्कन्छ। यसको व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने कुराले धेरैलाई चिन्तित बनाउँछ। कतिपयका लागि यो चिन्ताको विषय बन्दा, कोही भने फोहरमै सम्भावना र भविष्य देख्छन्।
पाल्पाको तानसेन नगरपालिका–६, पदमेटारीका तीन दाजुभाइ सुशील, उमेश र टार्जन भण्डारीले विगत पाँच वर्षदेखि फोहरलाई मोहरमा बदल्दै आएका छन्। तानसेन–७, लामिडाँडामा ‘नेप्लिज वेस्ट बैंक’ सञ्चालन गरी उनीहरूले फोहरबाट आयआर्जन गरिरहेका छन्।
तानसेन बजारबाट दैनिक निस्कने फोहरले प्रदूषण बढिरहेका बेला, बजारलाई स्वच्छ र सफा राख्ने उद्देश्यले यी दाजुभाइले कवाडी सङ्कलन र प्रशोधनबाट आम्दानी गरिरहेका छन्। उनीहरूले उद्योग दर्ता गरेर केही युवालाई रोजगारी पनि प्रदान गरेका छन्। कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतलजस्ता प्रयोगविहीन वस्तु सङ्कलन र प्रशोधन गरी उनीहरूले आयआर्जन गरिरहेका छन्।
तीनै दाजुभाइले स्नातक तहसम्मको अध्ययन गरेका छन्। सुशीलले मेकानिक्स डिप्लोमा पूरा गरी हाल स्नातक अध्ययनरत छन्, उमेशले बीएस्सी सकेर हाल एमए अर्थशास्त्रमा अध्ययन गरिरहेका छन्, र टार्जनले बीबीए पूरा गरिसकेका छन्। तथापि, उनीहरूको न विदेश जाने योजना छ, न त सरकारी जागिरको चाहना। तीनै दाजुभाइको एउटै लक्ष्य छ— तानसेनलाई फोहरमुक्त सहर बनाउने।
सञ्चालक उमेश भण्डारीका अनुसार, सङ्कलित कवाडी वस्तुहरूलाई वर्गीकरण गरी भैरहवा, काठमाडौँ, वीरगन्जलगायतका ठूला सहरका रिसाइकल कम्पनीहरूमा पठाइन्छ। केही वस्तुहरू भने उनीहरू आफैँ रिसाइकल गर्छन्। कवाडी सङ्कलनबाट उनीहरूले वार्षिक ३० देखि ५० लाख रुपैयाँसम्म कमाइ गर्दै आएका छन्। यस कार्यका लागि उनीहरूले छ जनालाई रोजगारी दिएका छन्, जसमा तीन जना नेपाली र तीन जना भारतीय नागरिक छन्।
सुरुमा पढेका युवाहरूले फोहर सङ्कलनको काम थालेको भन्दा धेरैले उडाएर गिज्याएका थिए, तर अहिले उनीहरूको काम देखेर धेरैले प्रशंसा गर्न थालेका छन्। उमेशले सुरुवाती दिन सम्झँदै भन्छन्, “हामीलाई सुरुमा यो काम गर्न सजिलो थिएन। कसैले सोचेका थिएनन् कि पढेका युवाले कवाडी सङ्कलन गर्लान्। त्यतिबेला न स्थानीय सरकारले सहयोग गर्यो, न समाजले साथ दियो। परिवारलाई समेत बुझाउन गाह्रो भयो। बरु, हामीले फोहर सङ्कलन गरेको देखेर कतिपयले फलाम, प्लास्टिक र बोतल टिप्ने कवाडी भनेर हाँसो गरे।”
पहिले उनीहरू फोहर सङ्कलनका लागि ग्राहक खोज्दै हिँड्थे, तर अहिले ग्राहकहरू आफैँ ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन्। दैनिक दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ। सङ्कलन भएको फोहरलाई प्रकारअनुसार छुट्याएर पुनःप्रशोधनका लागि सम्बन्धित कम्पनीहरूसँग समन्वय गर्छन्। कवाडीबाट भएको आम्दानीबाट उनीहरूले तानसेन नगरपालिकालाई नियमित कर तिर्दै आएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान