फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। फाइनल खेलमा जीत हात पारेसँगै पीएसजी पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको विजेता बनेको छ ।
जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा ६४ हजार बढी दर्शकबीच गएराति सम्पन्न फाइनल खेलमा इटलीको क्लब इन्टर मिलानलाई ५-० गोलअन्तरले हराउँदै पीएसजी युरोपियन च्याम्पियन बनेको हो।
खेलको १२ औँ मिनेटमै अचरफ हकिमीको गोलमा अग्रता बनाएको पीएसजीको दोस्रो गोल २० औँ मिनेटमा डेजिर डुइले गोल थप्दा पहिलो हाफमै दुई गोलको अग्रता बनायो। खेलको ६३ औँ मिनेटमा डुइले नै फेरि गोल थप्दै पेरिसलाई बलियो स्थितिमा पुर्याए। त्यस्तै, ७३ औँ मिनेटमा ख्विचा क्वारात्सखेलिया र ८६ औँ मिनेटमा सेन्नी मोयोलुले गोल गर्दा पीएसजीले ५-० गोलको एकतर्फी जित निकाल्न सफल भयो।
कुनै बेला च्याम्पियन्स लिग जित्न लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजी ती तीनैजना खेलाडीले छाडेपछि जित्न सफल भएको हो।
प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै ट्रेबल जित्न सफल भएको छ। लिग १ र फ्रेन्च कप जितिसकेको टोलीले च्याम्पियन्स लिग पनि जितेको हो।
पीएसजीले अन्तिम १६ मा लिभरपुल, क्वार्टरफाइनलमा एस्टन भिल्ला र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनलमा पुगेको थियो। यसअघि सन् २०२० मा फाइनलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो।
कतारी लगानीकर्ताले क्लब लिएयता च्याम्पियन्स लिगलाई लक्षित गरेर पीएसजीले विश्वका स्टार खेलाडीहरु अनुबन्धन गरेको थियो। लियोनल मेस्सी, नेइमार र एम्बाप्पेजस्ता खेलाडी एकसाथ हुँदा पनि पेरिसले च्याम्पियन्स लिग जित्न सकेको थिएन। मेस्सी र नेइमारपछि एम्बाप्पे पनि अघिल्लो सिजन क्लबबाट बाहिरिएका थिए।
यता इन्टर मिलानका खेलाडी र समर्थकहरूका लागि यो रात पीडादायी रह्यो। प्रतियोगिताको सबैभन्दा बुढो टोली पीएसजीको युवा गतिशीलतालाई सम्हाल्नै नसक्ने अवस्थामा पुगे। प्रशिक्षक सिमोने इन्जागीको भविष्य अब अन्योलमा देखिएको छ भने टोलीका धेरै खेलाडीहरू उमेरको उत्तरार्धमा रहेकाले यो हारले इन्टरमा नयाँ युगको सुरुवात हुने प्रबल सम्भावना देखिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
