चितुवासँग जुधेर बाँचेका गुर्जाका गोठाला : गोठ जीवनको कथा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्षको उमेरमा हातमा लाठी लिएर बुकी उक्लेका नरेन्द्रको दैनिकी अहिले ६२ वर्षको उमेरमा पनि फेरिएको छैन।

बर्खामा चुरेन हिमालको फेदी र हिउँदमा गाउँ नजिकैका खर्कहरू चहार्नु नै उनको जीवनको लय बनेको छ। बाल्यकालदेखि नै गोठको जिम्मेवारी सम्हाल्दा उनले घर नजिकैको विद्यालयमा अक्षर चिन्ने मौका भने कहिल्यै पाएनन्।

नरेन्द्रको स्मृतिमा बालापनको रमाइलो भन्नु नै भेडाका पाठापाठीसँग खेलेका क्षणहरू मात्र छन्। आफ्नो जोस, जाँगर र तन्नेरी उमेर बुकीकै हिउँ र घामपानीमा बिताएका उनले गोठमै सिकिस्त बिरामी पर्दा समेत चरन क्षेत्र छोडेनन्।

कुनै समय ३ सयसम्म भेडा पालेका उनले अहिले गोठालाको अभाव र बढ्दो उमेरका कारण संख्या घटाएर २५ मा झारेका छन्। लेखपढ गर्न नपाउँदा भेडाको हिसाबकिताब र मूल्य तोक्न अलमल हुने गरेकोमा उनलाई अहिले ठूलो पछुतो लाग्छ। “स्कुल गएर पढ्न पाएको भए जिन्दगी भेडाको जस्तो हुने थिएन,” उनी भन्छन्।

गोठको जीवन सोचेजस्तो सजिलो छैन। बर्खाको झरी र हिउँदको कठ्याङ्ग्रिदो जाडोमा वन्यजन्तुको आक्रमणबाट भेडा जोगाउनु निकै चुनौतीपूर्ण हुन्छ। चितुवासँग जुधेर मृत्युको मुखबाट जोगिएका अनुभव उनीसँग प्रशस्त छन्। भोटे कुकुरको साथले उनलाई जङ्गली जनावरबाट जोगिन मद्दत गरेको छ। नरेन्द्र जस्तै ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय गोठमै बिताएका छन्।

गुर्जाका करिब २० घरपरिवार अहिले पनि यस पुख्यौली पेसामा छन्, तर युवाहरू वैदेशिक रोजगारीमा पलायन भएपछि यो पेसा अहिले बुढापाकाको काँधमा मात्रै छ।

धवलागिरि गाउँपालिकाले भने यी परम्परागत घुम्ती गोठलाई जोगाउन केही प्रयासहरू सुरु गरेको छ। गोठालाहरूका लागि त्रिपाल, मोबाइल चार्ज गर्न सोलार, गोठ सुधार र भेडाहरूका लागि खोप अभियान जस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

गुर्जा, लुलाङ, मुना र मुदी जस्ता क्षेत्रमा अझै पनि यो परम्परागत पशुपालन कायम छ। भेडा बेच्न बजार धाइरहनु पर्दैन, मासु र पूजाआजाका लागि ग्राहकहरू गोठमै पुग्ने गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link