मतदान अधिकृतको कर्तव्य : प्रशिक्षणदेखि सिलबन्दी मतपेटिका बुझाउनेसम्म

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ। त्यसका लागि निर्वाचन आयोगले प्रस्ट रूपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ।

आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ।

यस्तै, अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु लिई बुझिलिनेजस्ता काम गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, मतदान केन्द्रमा पुग्नुपर्नेछ।

त्यस्तै, तोकिएको समयमा पुगी मतदान केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिब कारणले तोकिएको मतदान केन्द्रमा निर्वाचन गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यस्तो जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने प्रबन्ध निर्देशिकामा गरिएको छ।

मतदान केन्द्रमा गएर मतदान हुने दिनभन्दा अगावै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेछ। मतदान केन्द्रमा खटाइएका कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गरी मतदानको काममा लगाउनुपर्नेछ।

मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने, मतदान कार्यलाई प्रभावकारी तरिकाले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुगमन गर्ने, मतदानको दिन मतदान कार्यको गतिविधिबारे समयसमयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने व्यवस्था निर्देशिकाले गरेको छ।

मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदानको अवस्थाका बारेमा जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गराउने, आचारसंहिता पूर्ण रूपमा परिपालना गराउने, कुनै गैरकानुनी गतिविधि हुन नदिनेजस्ता काम मतदान अधिकृतले गर्नुपर्नेछ।

यस्तै, मतदान हुनुअघि तथा मतदान सम्पन्न भएपछि मुचुल्का गराई सिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ।

त्यसैगरी, निर्वाचन ९कसुर तथा सजाय ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्ने तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको कर्तव्य हुने निर्देशिकामा उल्लेख छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link