नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँका अनुसार आगामी फागुन १ गतेदेखि १३ गतेसम्म अभियानका रूपमा सञ्चालन हुने कार्यक्रमबाट जिल्लाभरका तीन हजार ५९५ जना छात्रा लाभान्वित हुनेछन् । अभियान सामुदायिक तथा संस्थागत गरी १७४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लक्षित गरिएको उनले जानकारी दिए ।
“जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ”, उनले भने, “सबैभन्दा बढी कावासोती नगरपालिकामा ८१० जना छात्रालाई खोप लगाइनेछ भने गैँडाकोट नगरपालिकामा ७३०, देवचुली नगरपालिकामा ६३५, मध्यविन्दु नगरपालिकामा ५५२, विनयी त्रिवेणी गाउँपालिकामा ३८४, हुप्सेकोट गाउँपालिकामा २७१, बुलिङटार गाउँपालिकामा १११ र बौदीकाली गाउँपालिकामा १०२ जना छात्रा लक्षित छन् ।”
खोप अभियान सञ्चालनका लागि जिल्लामा २४९ खोप केन्द्र तोकिएका छन् । अभियानमा ३३९ स्वास्थ्यकर्मी र त्यत्तिकै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने प्रमुख चापागाईँले जानकारी दिए । खोपका लागि आवश्यक सिरिन्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियरलगायत सामग्रीको व्यवस्थापनसमेत पूरा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
“एचपिभी भाइरस सङ्क्रमणकै कारण महिलामा पाठेघरको मुखको क्यान्सर हुने भएकाले बाल्यावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास लिइएको छ”, उनले भने, “खोप पूर्ण रूपमा नि:शुल्क, सुरक्षित र प्रभावकारी रहेको छ ।”
प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित सबै छात्रालाई खोप अभियानमा सहभागी गराउन विद्यालय, अभिभावक तथा स्थानीय तहलाई सहकार्य गर्न आग्रह गरेको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयको तथ्यांकमा रहेको छ ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको विज्ञहरू बताउँछन् । पाठेघरको मुखको क्यान्सर न्यूनीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको यस अभियानले दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान