केही समय अघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ। बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन्। अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ। उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ।
जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रका किसानले कफी खेती विस्तार गर्दै आएका छन्। यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ।
कफी खेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो। उहाँका अनुसार कफीका लागि उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ। नगरपालिकाका सबै १४ वटै वडामा कफी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा रहेका छन्।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकामा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफी खेती सुरु गरेका छन्। मकै, आलुजस्ता परम्परागत बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फउन्मुख भएका हुन्। खोक्सिका कफीखेतीका लागि उपयुक्त भूगोल भएको र अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिने स्थानीय कृषक मनोज राईले बताए।
यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय कफी व्यवसायीको भनाइ छ। विशेष गरी अर्ग्यानिक कफीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको बताइएको छ।
पछिल्लो समय किसान व्यावसायिक खेतीमा जुटेसँगै उत्पादनसमेत वृद्धि भएको कफी बिक्रेता सुनील श्रेष्ठले जानकारी दिनुभयो। राम्रोसँग फलेको कफीको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानको अनुभव छ। खेती विस्तार बढेसँगै यहाँबाट निर्यात हुने कफीको मात्रा पनि वृद्धि हुँदै गएको उनको भनाइ छ।
कफी खेतीको विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउने स्थानीय जानकारको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर