प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । गोरखा–१ र इलाम–१ को गणना सकिएसँगै मुलुकभरकै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सबै क्षेत्रको मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा भौतिक विवरण (फारम) प्राप्त हुने र प्रणालीमा प्रविष्ट गर्ने क्रम जारी छ । प्रत्यक्षतर्फको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ ।

पछिल्लो मत परिणामको अवस्था

आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी मतका साथ आफ्नो अग्रता कायम गरेको छ । मुख्य दलहरूले प्राप्त गरेको मत विवरण निम्नअनुसार छ:

राजनीतिक दल प्राप्त मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१,३९,२३५
नेपाली कांग्रेस १७,४९,५८३
नेकपा (एमाले) १४,४८,८५४
नेपाली कम्युनिस्ट पार्टी ८,०५,७७३
श्रम संस्कृति पार्टी ३,७८,६४९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३,२९,४७२

यसै गरी अन्य साना दलहरूले निर्वाचनको ‘थ्रेसहोल्ड’ कटाउन सकेको देखिएको छैन ।

सिट बाँडफाँटको तयारीमतगणना सकिएसँगै आयोगले राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य सुरु गरेको छ । “प्राप्त मतका आधारमा थ्रेसहोल्ड कटाउने दलहरूको सूची तयार गरी सिट बाँडफाँट गरिनेछ,” सहायक प्रवक्ता जिसीले भने, “सम्भव भएसम्म आजै वा केही दिनभित्रै यो प्रक्रियाले पूर्णता पाउनेछ ।”

अन्तिम नतिजा आयोगको वेबसाइटमा अपडेट भएपछि सिट सङ्ख्याका आधारमा नाम पठाउन आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link