महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ। ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो।
गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो। किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ।
काभ्रेपलान्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतमा गर्दै आएको व्यावसायिक कफी उत्पादनलाई आधुनिक मैत्री बनाउन थालिएको हो। यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्सेनि बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गरेको छ। किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
“प्रत्येक वर्ष कफी किसानलाई आधुनिक कृषि सामग्री प्रयोग गरी कफी उत्पादन गर्न सहज हुने र उत्पादन वृद्धिमा उत्प्रेरण जाग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने। उनका अनुसार केही वर्षदेखि स्थानीय किसानका आयआर्जनको माध्यम कफी खेती बन्न थालेपछि गाउँपालिकाले किसानलाई बर्सेनि अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ। गाउँपालिकाका अनुसार हाल एक हजार ४३३ रोपनी जमिनमा कफी खेती भइरहेको छ। गाउँपालिकामा व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार २०० को हाराहारीमा रहेको बताइएको छ।
कफी उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकसित गर्दै हरेक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको अध्यक्ष जिम्बाको भनाइ छ। यहाँका किसान कफी खेतीमा आकर्षित हुँदै परम्परागत रूपमा मकै, कोदोलगायत खाद्यान्न बाली छाड्दै मुख्य आम्दानीको स्रोत कफीलाई बनाउन थालेकाले बिरुवा वितरणलाई पनि अभियानकै रूपमा अगाडि बढाएको उनले बताए। यहाँका किसानले कफी खेतीबाट बर्सेनि रु पाँचदेखि १२ लाखसम्मको बिक्री गर्दै आएका वडा नं ५ का सुवास जिम्बाले बताए। उनका अनुसार यहाँ कफी खेती राम्रो हुने र बजारीकरणको समस्या हट्दै गएकाले पछिल्ला केही वर्षदेखि किसान कफी खेतीतर्फ आकर्षित भएका हुन्।
गाउँपालिकाले किसानलाई उत्पादित भएकोमध्ये एक किलो बराबर रु २० अनुदान दिँदै आएको छ। विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरू निकै खुसी हुँदै कफी खेतीलाई निरन्तरता दिँदै क्षेत्र बढाइएको बताए।
डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले त्यहाँ हाल बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकिलो रु पाँच सयदेखि रु ६ सयसम्म पाउने गरेका छन्। एकपटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको बताइन्छ। एक रोपनीमा वार्षिक रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको जिम्बाले बताए। उनका अनुसार महाभारतको आर्थिक समृद्धिको आधार नै कफी हुने सम्भावना छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै