बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ। उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन्। त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ। फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ।
सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन्। तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन्।
नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारी खेती छाडेर फूल खेती सुरु गरेकी हुन्। भाडामा लिएको दुई रोपनी जग्गामा तीन वटा प्लास्टिक टनेल निर्माण गरी उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन्।
“लामो समयदेखि तरकारी खेती गर्दै आएकी थिएँ। तरकारीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले फूल खेतीमा लागेकी हुँ। तीन वर्ष भयो, फूल खेतीबाट घर खर्च राम्रै चलेको छ,” थापाले भनिन्, “वार्षिक रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ। बजारमा बाहिरबाट फूल नआउँदा राम्रो बिक्री हुन्छ, नत्र कहिलेकाहीँ बोटमै कुहिने अवस्था पनि आउँछ।”
उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो रु ४०० सम्म र मौसमी फूल प्रतिकिलो रु २०० सम्म बिक्री हुने गरेको छ। प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ।
बागलुङमा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको कृषक थापाको भनाइ छ। उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल नजिकै रहेको बागलुङ कालिका मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन्।
हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छन्। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ। तरकारी खेतीबाट फूल खेतीमा लागेकी थापाका लागि फूल खेती अहिले आम्दानीको भरपर्दो माध्यम बनेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा