भिक्टर ओर्बानको अघिल्लो महिनाको चुनावी हारलाई एक आश्चर्यजनक घटनाका रूपमा हेरियो, विशेष गरी उनको सोह्र वर्ष लामो सत्ताकाल र हंगेरीको लोकतन्त्रलाई धराशायी बनाएको पृष्ठभूमिमा। तर लोकतन्त्रको क्षयीकरण गर्ने नेताहरूलाई पदबाट हट्न बाध्य पारिनु कत्तिको असामान्य कुरा हो ?
हाम्रो अध्ययनले यो असामान्य होइन भन्ने देखाउँछ। लोकतन्त्रको चीरहरण गर्ने अधिकांश राष्ट्रपति र प्रधानमन्त्रीहरूले पद त्याग्ने मुख्य कारणमा उनीहरू पुनः निर्वाचित हुन असफल हुनु वा कार्यकालको सीमा (टर्म लिमिट) का कारण पुनः चुनाव लड्न नपाउनु हो। यसरी पद छाड्नेहरू मध्ये अधिकांशको ठाउँमा यस्ता नयाँ नेताहरू आउँछन् जसले लोकतान्त्रिक संस्थाहरूको सम्मान गर्छन् र तिनलाई पुनर्जीवित गर्ने आशा राख्छन्।
हाम्रो अनुसन्धानले सन् १९९९ यता २२ वटा देशहरूमा लोकतान्त्रिक क्षयीकरणका २७ वटा उदाहरणहरू पहिचान गरेको छ। तीमध्ये २० वटा घटनामा नेताहरू पूर्ण रूपमा अधिनायकवादतर्फको सङ्क्रमण पूरा नगरी नै पदबाट बाहिरिए। यी २० मध्ये १५ जनाको स्थानमा यस्ता नेताहरू आए जसले या त लोकतन्त्रको ओरालो यात्रालाई रोके वा देशलाई स्पष्ट रूपमा पुनः लोकतान्त्रीकरणको दिशामा अघि बढाए।
“सत्ताबाट बाहिरिने सबैभन्दा आम मार्ग आश्चर्यजनक रूपमा निकै सरल र परम्परागत छ: निर्वाचन। प्रजातन्त्रलाई कमजोर पार्ने शासकहरू सत्तामा टिकिरहन्छन् कि बाहिरिन्छन् भन्ने कुराको अन्तिम फैसला गर्ने सबैभन्दा महत्त्वपूर्ण पात्र भनेकै मतदाताहरू (प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा) हुन्।”
पूर्ण अधिनायकवादको सबैभन्दा खराब रूप भने दुर्लभ नै देखिएको छ। निकारागुवा र भेनेजुएलाका गरी केवल दुई जना राष्ट्रपतिले मात्र आफ्ना देशहरूलाई पूर्ण अधिनायकवादी व्यवस्थामा परिणत गरे। (रुसले पनि यस्तै मार्ग अवलम्बन गरेको थियो, तर १९९० को दशकमा रुसलाई लोकतान्त्रिक ब्याकस्लाइडिङको श्रेणीमा राख्नका लागि पर्याप्त लोकतान्त्रिक मानिएको थिएन।) निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाले हटाएपछि अन्ततः भेनेजुएलामा पुनः लोकतन्त्र स्थापना हुन्छ या हुँदैन भन्ने कुरा अझै पनि एउटा खुला प्रश्नकै रूपमा रहेको छ।
यसो भनिरहँदा, लोकतन्त्रलाई कमजोर बनाउने नेताहरूले औसतमा नौ वर्ष सत्तामा बिताएका छन्, जसले गर्दा उनीहरूलाई आफ्ना देशका संस्थाहरूलाई ध्वस्त पार्न पर्याप्त समय मिल्यो। त्यसैले, उनीहरूलाई प्रतिस्थापन गर्ने नयाँ नेताहरूले ती संस्थाहरूमा पुगेको क्षतिलाई उल्ट्याउन ठुलो चुनौतीको सामना गर्नुपर्छ।
तानाशाह बन्न खोज्नेहरूलाई पाँच तरिकाले प्रतिस्थापन गरिन्छ भन्ने इतिहासले देखाउँछ:
चुनावमा पराजित
पुनः निर्वाचनमा पराजित हुने ६ जना नेताहरूमध्ये भिक्टर ओर्बान एक हुन्। पोल्यान्ड, ब्राजिल, संयुक्त राज्य अमेरिका, बोत्स्वाना र जाम्बियामा पनि राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई चुनावमार्फत नै पदमुक्त गरिएको थियो।
यहाँ यो कुरामा जोड दिनु आवश्यक छ कि निर्वाचनको ठुलो महत्त्व हुन्छ; किनकि धेरै मतदाताहरू सोच्छन् कि लोकतन्त्र ध्वस्त पार्ने नेताहरू विरुद्ध चुनाव एक निरर्थक हतियार हो र उनीहरू मतदानको दिन घरमै बस्न सक्छन्। तर यी छ वटा घटनामा ठिक विपरीत कुरा भयो, —मतदानमा व्यापक वृद्धि देखियो। यसरी मतदान बढ्दा प्रायः विपक्षीलाई फाइदा पुग्छ। यसबाट सिक्नुपर्ने मुख्य पाठ के हो भने नियमहरू जतिसुकै प्रतिकूल भए तापनि विपक्षी नेताहरूले आफ्ना मतदाताहरूलाई मतदान केन्द्रसम्म ल्याउन लगानी गर्नु फलदायी हुन्छ।
कार्यकालको सीमा
महत्त्वाकाङ्क्षी तानाशाहहरूका लागि अर्को निर्वाचन-सम्बन्धित अवरोध कार्यकालको सीमा हो। ६ वटा घटनाहरूमा, राष्ट्रपतिको कार्यकालको सीमाले लोकतन्त्रलाई कमजोर बनाउने नेताहरूको शासनको अन्त्य गरिदियो। मोल्डोभाका भ्लादिमिर भोरोनिन र मेक्सिकोका एन्ड्रेस म्यानुएल लोपेज ओब्रादोर जस्ता केही नेताहरू कार्यकालको सीमाका कारण पुनः चुनावमा उठेनन्। मेक्सिकोको हकमा, आफ्नै दलको विश्वासिलो उत्तराधिकारीले सत्ता सम्हाल्ने कुराले राष्ट्रपतिलाई कार्यकालको सीमा पालना गर्न प्रेरित गर्यो। तर कहिलेकाहीँ, सन् २०१७ मा इक्वेडरमा भए जस्तै, उत्तराधिकारीहरूले अपेक्षाहरू विपरीत लोकतन्त्रको पुनर्स्थापना गरिदिन्छन्। त्यसैले व्यवस्था परिवर्तनका लागि कार्यकालको सीमा अझै पनि एक महत्त्वपूर्ण अवसर हो।
यही कारणले गर्दा अधिनायकवादतर्फ उन्मुख शासकहरूले कार्यकालको सीमालाई कमजोर बनाउने वा हटाउने प्रयास गर्छन्। तर यो प्रयास प्रत्युत्पादक पनि हुन सक्छ। जनता प्रायः कार्यकालको सीमा हटाउने कुरामा शङ्कास्पद हुन्छन्। सन् २००७ को जनमत सङ्ग्रहमा चाभेज भेनेजुएलाका जनतालाई राष्ट्रपतिको कार्यकालको सीमा खारेज गर्न असफल भएका थिए। अन्ततः सन् २००९ को जनमत सङ्ग्रहमा उनी कार्यकालको सीमा अन्त्य गर्न सफल त भए, तर उनी केवल राष्ट्रपतिको मात्र नभई सबै पदका लागि कार्यकालको सीमा हटाउने प्रस्ताव राखे र आफ्ना मतदाताहरूलाई परिचालन गर्न अभियान चलाएपछि मात्र विजयी भएका थिए । सन् २०१६ मा बोलिभियाका इभो मोरालेसले आफूलाई पुनः चुनाव लड्न अनुमति दिने जनमत सङ्ग्रह हारे तापनि पुनः निर्वाचनमा भाग लिए जसले गर्दा चुनावी सङ्कट निम्तियो र अन्ततः मोरालेस सत्ताच्युत भए।
पार्टीद्वारा निष्कासन
चुनावी दबाबले शासकहरूलाई सत्ताबाट हटाउने अर्को अप्रत्यक्ष तरिका भनेको उनीहरूकै पार्टीले राजीनामा दिन बाध्य पार्नु हो। पार्टीद्वारा हटाइएको एउटा स्पष्ट उदाहरण सन् २०१८ मा अफ्रिकन नेसनल कङ्ग्रेसले ज्याकब जुमालाई राजीनामा दिन बाध्य पारेको घटना हो। बेलायतका बोरिस जोन्सन—जो पूर्ण रूपमा ब्याकस्लाइडिङ नेता त थिएनन् तर सोही मार्गमा अग्रसर थिए । उनलाई सन् २०२२ मा उनकै पार्टीका नेताहरूले हटाए किनकि उनीहरूलाई जोन्सन आगामी चुनावमा पार्टीका लागि बोझ बन्ने डर थियो।
कम्तीमा एउटा राष्ट्रपतीय प्रणाली भएको देशमा पार्टीद्वारा हटाइनु मुख्य कारक रह्यो, जुन इक्वेडर थियो। राफेल कोरियाले चौथो कार्यकालको प्रयास गरेमा पार्टीले हार बेहोर्नु पर्नेछ भन्ने लागेपछि अलियान्जा पाइस पार्टीका नेताहरूले कोरियालाई सत्ताबाट पछि हट्न प्रोत्साहित गरे।
आन्दोलन
लोकतन्त्रमाथि महत्त्वाकाङ्क्षी तानाशाहहरूले गर्ने प्रहार कहिल्यै पनि चुनौतीविहीन रहँदैन। यसको एउटा बलियो प्रतिक्रिया जनविरोध र आन्दोलन हो। सर्बियादेखि संयुक्त राज्य अमेरिकासम्म र मेक्सिकोदेखि सेनेगलसम्मका कमजोर बन्दै गएका लोकतन्त्रहरूमा व्यापक विरोध प्रदर्शनहरू भएका छन्।
यस्ता आन्दोलनहरूले अधिनायकवादको अपरिहार्यताको भाष्यलाई चुनौती दिन र विपक्षलाई ऊर्जावान् बनाउन सके तापनि, चुनावी क्यालेन्डर बाहिरका आन्दोलनहरूले विरलै मात्र नेताहरूलाई सिधै पदबाट हटाएका छन्। यसमा केही अपवादहरू छन्: सन् २०१३-१४ मा युक्रेनमा हप्तौँसम्म चलेको ‘युरोमेडन’ आन्दोलनपछि भिक्टर यानुकोभिचले राष्ट्रपतिको पद त्यागेर भाग्नुपर्यो। बोलिभिया र सेनेगलका नेताको बहिर्गमनमा पनि सडक प्रदर्शनहरू एउटा कारक थिए। तर धेरैजसो अवस्थामा विरोध प्रदर्शनहरूले यस्ता राष्ट्रपतिहरूलाई दमन गर्न र सत्ता केन्द्रित गर्न थप अवसरहरू दिने गर्छन्। जस्तै सन् २०१३ को गेजी पार्क आन्दोलन पछि टर्कीमा जे भयो। त्यसैले महत्त्वाकाङ्क्षी तानाशाहहरूलाई हटाउन आन्दोलनकारी नागरिकहरू भन्दा मतदाताका रूपमा रहेका नागरिकहरूले बढी प्रभावकारी भूमिका खेल्छन्।
महाभियोग
एक्काइसौँ शताब्दीको लोकतान्त्रिक ब्याकस्लाइडिङको लहरमा एउटा उपकरण भने कम सफल देखिएको छ: महाभियोग। निस्सन्देह संसद्का विपक्षीहरूले अधिनायकवादको प्रतिरोध गर्न, आफ्ना मतदाताहरूको असन्तुष्टिलाई आवाज दिन, कार्यपालिकाको दुराचारलाई उजागर गर्न र केही विधेयकहरू रोक्न महत्त्वपूर्ण भूमिका खेल्छन्। तर राष्ट्रपतिलाई हटाउनका लागि गरिने औपचारिक महाभियोगको प्रक्रिया यस्ता तानाशहाहरुको करियर अन्त्य गर्न प्रभावकारी साबित हुन सकेको छैन।
यो आश्चर्यजनक होइन। महाभियोग एक नाटकीय कदम हो; यसलाई अघि बढाउनेहरूले जनताको एक हिस्सामा यो कदम ‘प्रच्छन्न कू’ जस्तो हो भन्ने भावनासँग जुध्नुपर्छ। यसबाहेक धेरैजसो शक्ति-भोकले ग्रस्त शासकहरूका पार्टीहरूको व्यवस्थापिकामा बहुमत नियन्त्रण हुन्छ र संसद्का सह-पार्टी सदस्यहरूले विरलै मात्र आफ्नै राष्ट्रपतिको विरोध गर्छन्।
तसर्थ हाम्रो अनुसन्धानले चुनावी दबाबहरू —चुनावको स्तर खस्किएको अवस्थामा समेत— ती शासकहरूलाई तल झार्न एक शक्तिशाली शक्ति हुन् भन्ने देखाउँछ । यसको मुख्य उपाय भनेको मतदाताहरूलाई मतदानका लागि उत्प्रेरित गर्नु र बलियो दलीय गठबन्धन बनाउनु हो । अर्थात् चुनावमा प्रतिस्पर्धा गर्ने पार्टीहरूको प्रभावकारी सङ्ख्यालाई कम गर्नु हो। यसपछिको अर्को महत्त्वपूर्ण कार्य भनेको अवश्य पनि विधिको शासनको पुनर्स्थापना गर्नु हो। जब यी नेताहरू बाहिरिन्छन्, उनीहरूले थुप्रै अलोकतान्त्रिक अभ्यासहरू छोडेर जान्छन् जसलाई उल्ट्याउनु आवश्यक हुन्छ। चुनावले लोकतन्त्र नै आउँछ भन्ने ग्यारेन्टी त दिँदैन, तर व्यवस्थालाई पुनः स्थापित गर्नका लागि यो एक अतुलनीय अवसर हो।
सन् २०२६ को जुन महिनाका लागि तय भएको इथोपियाको आम निर्वाचनले पनि यही मार्ग पछ्याउने सम्भावना छ, तर स्थिति पहिलेभन्दा बढी अनिश्चित र नाजुक छ।
कुनै समय लोकतान्त्रिक सुधारको संवाहकका रूपमा स्वागत गरिएका सन् २०१९ का नोबेल शान्ति पुरस्कार विजेता प्रधानमन्त्री अबिय अहमद अहिले विभिन्न जातीय र राजनीतिक विभाजनहरूले जर्जर बनेको राष्ट्रको नेतृत्व गरिरहेका छन्। सन् २०१४ मा विघटित ईपिआरडीएफको उत्तराधिकारीको रूपमा गठन गरिएको उनको प्रोसपेरिटी पार्टीको नेतृत्वमा सरकार आगामी निर्वाचनको तयारीमा जुटिरहँदा, इथियोपिया आन्तरिक कलह, व्यापक विद्रोह र इरिट्रियासँगको सम्भावित युद्धको ठुलो खतरासँग जुधिरहेको छ।
इथियोपियाको सरकारद्वारा चित्रित वर्तमान परिस्थिति र बहुसङ्ख्यक इथियोपियाली नागरिकले झेलिरहेको कठोर यथार्थबिच बढ्दै गएको अन्तर अहिले इतिहासमै सबैभन्दा बढी छर्लङ्ग भएको छ। सरकारको दाबी र जमीनी वास्तविकताबिचको विरोधाभास अहिले पूर्ण रूपमा सतहमा आएको छ ।
लेखक ज्याभियर कोरालेस एमहर्स्ट कलेजमा राजनीति शास्त्रका प्रोफेसर हुन् भने सुसान स्टोक्स सिकागो सेन्टर अन डेमोक्रेसीकी निर्देशक हुन्।
श्रोत:जर्नल अफ डेमोक्रेसी
श्रोत: आइएनएस-स्वतन्त्र समाचार