फ्रान्स र जर्मनीसहित युरोपमा फेरी दक्षिणपन्थीहरूको उदय: युक्रेनका लागि यसको अर्थ के होला?

Adam Simpson

एडम सिम्पसन

हालै संयुक्त राज्य बेलायत (युके) र अस्ट्रेलियामा भएका स्थानीय चुनावहरूमा दक्षिणपन्थी जनवाद (पपुलिजम) को प्रभाव बढ्दै गएको देखिन्छ। त्यहाँका ‘रिफर्म युके‘ र ‘वान नेसन‘ जस्ता पार्टीहरूको समर्थनमा निकै ठुलो वृद्धि भएको छ।

भविष्यमा नाइजेल फाराज वा पौलिन ह्यान्सन प्रधानमन्त्री बन्न सक्ने मिडियाका अड्कलबाजीहरूलाई अब असम्भव मान्न छोडिएको छ। युरोपका अन्य देशहरू जस्तै इटालीमा दक्षिणपन्थी जनवादीहरू यसअघि नै सत्तामा पुगिसकेका छन्।

युरोपमा कट्टर दक्षिणपन्थीहरूका लागि अबको ठुलो चुनावी परीक्षा जर्मनी र फ्रान्समा हुनेछ।

के युरोपमा भइरहेको यो उदय वास्तविक हो, र यी कट्टर दक्षिणपन्थी पार्टीहरू चुनाव जितेर सत्तामा पुग्न कत्तिको सफल होलान्?

कट्टर दक्षिणपन्थी इटाली र अबको पालो अस्ट्रियाको

युरोपको एउटा ठुलो देशमा दक्षिणपन्थी जनवादको सबैभन्दा सफल रूपान्तरण जर्जिया मेलोनीको ‘ब्रदर्स अफ इटाली’ पार्टीमा देखिएको छ। यसले सन् २०२२ को चुनावमा सबैभन्दा बढी मत जितेर दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ।

यस पार्टीको इतिहास फाँसीवादी विचारधारासँग जोडिएको छ भने यसले आप्रवासन विरोधी अभिव्यक्ति दिने र सत्ता केन्द्रित गर्ने प्रयास गर्दै आएको छ। यति हुँदाहुँदै पनि मेलोनीले युरोपेली सङ्घ, नेटो र युक्रेनलाई बलियो समर्थन गर्दै (अन्य केही दक्षिणपन्थी पार्टीहरूको विपरीत) युरोपमा आफ्नो सरकारलाई एक किसिमले सामान्य रूपमा स्वीकार्य बनाउन सफल भएकी छिन्।

अस्ट्रियामा भने कट्टर दक्षिणपन्थी ‘फ्रीडम पार्टी‘ को एजेन्डामा विदेशी विरोधी र युरोपेली सङ्घ विरोधी प्रचारका साथै ईयूको जलवायु नीतिको विरोध समावेश छ। यसले युक्रेनलाई गरिने सहयोग र रुसमाथि लगाइएको प्रतिबन्धको पनि विरोध गर्दछ।

यो पार्टी यसअघि कनिष्ठ साझेदारका रूपमा सरकारमा सहभागी भइसकेको छ र सन् २०२४ को चुनावमा करिब २९ प्रतिशत मत ल्याएर पहिलो भएको थियो। यद्यपि, मध्यमार्गी पार्टीहरूको गठबन्धनले गर्दा यो सत्ताबाट बाहिरै रहनुपर्‍यो, तर भियनामा यसले सरकारको नेतृत्व गर्ने कुरा अब समयको मात्र खेल जस्तो देखिन्छ।

फ्रान्स र जर्मनीमा कट्टर दक्षिणपन्थीहरूको लहर

फ्रान्सको ‘नेसनल र्‍याली’ र जर्मनीको ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) जस्ता पार्टीहरूले ऐतिहासिक रूपमा युरोपेली सङ्घलाई कमजोर पार्ने काम गरेका छन्। साथै उनीहरूले पुटिनको रुसमा बढ्दै गएको निरङ्कुशता र तानाशाहीसँग आफूलाई जोड्दै आएका छन्।

सेप्टेम्बरमा जर्मनीका दुई वटा क्षेत्रीय चुनावहरू हुँदै छन्, जहाँ एएफडी मत सर्वेक्षणहरूमा अगाडि देखिएको छ।

त्यस्तै, सन् २०१७ को अप्रिलमा हुने फ्रान्सको राष्ट्रपतीय निर्वाचनका लागि गरिएका सर्वेक्षणहरूमा ‘नेसनल र्‍याली’ का उम्मेदवारहरू पनि निकै बलियो स्थितिमा देखिएका छन्।

अर्को शब्दमा भन्नुपर्दा, दक्षिणपन्थी जनवादीहरूले चाँडै नै ईयूका दुई सबैभन्दा प्रभावशाली देशहरूमा महत्त्वपूर्ण कार्यकारी शक्ति प्राप्त गर्न सक्छन्। यसले युक्रेनप्रतिको युरोपको भावी प्रतिबद्धतालाई गम्भीर असर पार्न सक्छ।

रुसतर्फको झुकाव

जर्मनीमा एएफडी ले युक्रेनका लागि सैन्य सहायता बन्द गर्ने, रुसमाथिका प्रतिबन्धहरू हटाउने र रुसी जीवाश्म इन्धनको आयातलाई पुनः सुचारु गर्ने प्रस्ताव अघि सारेको छ।

यस पार्टीको मुख्य ध्यान आप्रवासन र शरणार्थीहरूलाई रोक्ने कुरामा केन्द्रित छ। यसले “पुनः आप्रवासन” (रेमाइग्रेसन) को कट्टरपन्थी विचारलाई बढवा दिइरहेको छ, जसअनुसार घुलमिल हुन नसकेका करिब २० लाख जर्मन नागरिकहरूलाई उत्तर अफ्रिकाको एक “नमुना राज्य” मा स्थानान्तरण गर्न सकिनेछ र देशमा आप्रवासन तथा शरणार्थी प्रक्रियामा कडा कटौती गरिनेछ।

जर्मनीको सङ्घीय आन्तरिक गुप्तचर एजेन्सीले यो पार्टीलाई “कट्टरपन्थी संस्था” को रूपमा वर्गीकृत गरेको छ।

यसका बाबजुद पनि भूतपूर्व कम्युनिस्ट पूर्वी जर्मनीमा सेप्टेम्बरमा हुन लागेका दुई वटा प्रमुख क्षेत्रीय चुनावका सर्वेक्षणहरूमा एएफडी अगाडि छ र कम्तीमा एउटामा यसले पूर्ण बहुमत नै हासिल गर्न सक्ने सम्भावना छ।

परम्परागत राजनीतिक दलहरूले एउटा यस्तो “फायरवाल” वा राजनीतिक घेराबन्दी कायम राख्दै आएका छन् जसले ऐतिहासिक रूपमा राष्ट्रिय वा क्षेत्रीय दुवै तहमा एएफडी सँग गठबन्धन गर्नबाट रोक्ने गर्दछ।

तर, एएफडीको बढ्दो जनसमर्थनका कारण केन्द्र-दक्षिणपन्थी पार्टीहरूले आफ्नो निर्णयमाथि पुनर्विचार गर्न दबाब महसुस गर्न सक्छन्।

फ्रान्समा नेसनल र्‍यालीको स्वीकार्यता बढाउने प्रयास

‘नेसनल र्‍याली’ (आरएन को रूपमा बढी परिचित) को स्थापना सन् १९७२ मा भएको थियो र यसको प्रारम्भिक सम्बन्ध नव-फाँसीवादसँग थियो।

तर, सन् २०११ मा आफ्ना पिताबाट पार्टीको कमान्ड सम्हालेकी नेत्री मरीन ले पेनले पार्टीलाई राजनीतिक रूपमा मूलधारमा ल्याउन र यसको आकर्षण बढाउन ठुलो प्रयास गरेकी छिन्। उनले आफ्ना पिताको यहुदी विरोधी छविबाट पार्टीलाई टाढा राखिन् र आप्रवासन विरोध, फ्रान्सेली राष्ट्रवाद तथा इस्लामिक कट्टरपन्थीको विरोधमा बढी ध्यान केन्द्रित गरिन्।

उनी सन् २०१७ र २०२२ को राष्ट्रपतीय चुनावको अन्तिम प्रतिस्पर्धा सम्म पुगेकी थिइन्। तर दुवै पटक मध्यमार्गी इमानुएल म्याक्रोनसँग नराम्ररी पराजित भइन्।

त्यसयता भने आरएनको समर्थन निरन्तर बढिरहेको छ। म्याक्रोन संवैधानिक रूपमा अर्को चुनाव लड्न अयोग्य रहेका कारण आगामी निर्वाचनको अन्तिम चरणको प्रतिस्पर्धामा ले पेन अगाडी देखिन्छिन्। यदि उनी कानुनी रूपमा रोकिएमा उनका उत्तराधिकारी जोर्डन बार्डेला धेरैजसो उम्मेदवारहरू विरुद्धको सर्वेक्षणमा अगाडि देखिन्छन्।

आरएनको परम्परागत रूपमा पुटिन र रुससँग नजिकको सम्बन्ध रहँदै आएको छ। ले पेनले रुसद्वारा युक्रेनको क्रिमियालाई गाभिएको कदमको समर्थन गरेकी छिन् र फ्रान्सलाई नेटोको एकीकृत कमान्ड संरचनाबाट बाहिर निकाल्ने प्रतिबद्धता समेत जनाएकी छिन्।

तर, सन् २०२२ मा युक्रेनमा भएको पूर्ण स्तरको आक्रमणपछि रुस अनुकूलका अभिव्यक्तिहरूलाई केही मत्थर पारिएको छ, किनकि यस्तो कुरा पश्चिमी युरोपको ठुलो हिस्सामा राजनीतिक रूपमा विषाक्त मानिन्छ।

जर्मनीमा एएफडी सरकारमा सामेल हुन अझै केही समय लाग्न सक्ने भए पनि, फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचन आरएनले जित्ने निकै ठुलो सम्भावना छ। यसो भएमा ईयूको एक मात्र आणविक शक्ति सम्पन्न र संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रमा यसले शक्तिशाली कार्यकारी भूमिका पाउनेछ।

आगामी बाटो

हालैका वर्षहरूमा युरोपका सबैभन्दा सफल दक्षिणपन्थी जनवादी नेता भिक्टर ओर्बान थिए। उनले हंगेरीमा १६ वर्षसम्म फिडेज पार्टीको नेतृत्व गरे, जुन गत अप्रिलमा भएको चुनावमा युरोपेली सङ्घ समर्थक विपक्षी गठबन्धनको ऐतिहासिक जितसँगै सत्ताबाट बाहिरियो।

युक्रेनका लागि यो जित कति महत्त्वपूर्ण थियो भन्ने कुरा हंगेरीको नयाँ सरकारले ९० अर्ब युरोको ईयू ऋणमा लगाएको आफ्नो भिटो तुरुन्तै फिर्ता लिएपछि स्पष्ट भयो। लोकतान्त्रिक र भ्रष्टाचार विरोधी सुधारहरू जारी राख्नुपर्ने सर्तमा आधारित यो ऋणले आगामी दुई वर्षसम्म रुसको क्रूर आक्रमण विरुद्ध लडिरहेको युक्रेनको ठुलो सैन्य र वित्तीय आवश्यकतालाई धान्नेछ।

उदारवादी र ईयू समर्थकहरू ओर्बानको पतन र ऋण स्वीकृत भएकोमा ढुक्क भएका छन्। यस आर्थिक सहयोगले युक्रेनलाई आगामी दुई वर्ष त मद्दत गर्नेछ, तर यदि कट्टर दक्षिणपन्थी जनवादीहरूले ईयूका सबैभन्दा शक्तिशाली देशहरूमा थप सत्ता हात पारे भने युक्रेनका लागि ईयूको दीर्घकालीन सहयोग कस्तो होला भन्ने प्रश्न बाँकी नै छ।र पुटिनले पनि ठ्याक्कै यही मौका पर्खिरहेका छन्।

लेखक एडम सिम्पसन एडिलेड युनिभर्सिटीको स्कुल अफ सोसाइटी एन्ड कल्चरमा अन्तर्राष्ट्रिय अध्ययनका सिनियर लेक्चरर हुन्।

श्रोत: द कनवरसेसन

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link