खेतीबारीमा प्रविधिको रफ्तार: मालिकामा भित्रियो यान्त्रिक हलो

म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर ९यान्त्रिक हलो० वितरण गरेको छ। बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो। कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताइन्।

“वडा कार्यालयमार्फत किसानहरूबाट माग सङ्कलन गरेर सङ्ख्या निर्धारण गरी पालिकाले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनीटिलर खरिद गरेर वितरण गरेका हौँ”, उनले भनिन्, “खेतबारी खनजोत गर्दा समयको बचत र लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको हो।”

डिजेलबाट चल्ने ५७ र पेट्रोलबाट चल्ने २४ वटा ट्याक्टर वितरण गरिएको हो। क्षमता र गुणस्तरअनुसार ट्याक्टरको मूल्य प्रतिगोटा रु ३५ हजारदेखि रु ४८ हजारमा आपूर्ति गर्ने कबोलेका आपूर्तिकर्ता छनोट भएका थिए। तोकिएको मूल्यमा किसानले ४० प्रतिशत रकम तिरेका हुन् भने ६० प्रतिशत गाउँपालिकाले भुक्तानी गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालका अनुसार यान्त्रिक हलो खरिद र वितरणका लागि मालिका गाउँपालिकाले चालु आव २०८३/८४ मा रु ३२ लाखभन्दा बढी विनियोजन गरेको थियो। गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि विनियोजन गरेको बजेटलाई एकीकृत गरेर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।

खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनीटिलरको प्रयोग बढेको छ। एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनीटिलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको किसानहरूको अनुभव छ। मिनीटिलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झन्झट हटेको छ। मिनीटिलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link