अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन्। दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन्। त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उनले जानकारी दिए। बाँकी अन्य किसानका फार्मका सुँगुर/बङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन्।
अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका-६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले जानकारी दिए। उनका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ।
कार्यालय प्रमुख कोइरालाले भने, “अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ। त्यसैले सङ्क्रमण भएपछि सुँगुर/बङ्गुर मर्नु निश्चितजस्तै हुन्छ। सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ।” उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो।
“अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुर/बङ्गुर मरेका जानकारी आएका छन्। केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ”, कोइरालाले भने। उनले रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए।
किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुर/बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!