यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ।
लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो।
दैनिक ३ देखि ७ जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। “अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्”, अध्यक्ष पौडेलले भने, “तर, फागुनबाट भदौ, असोजसम्म धेरै सर्पको डसाइका बिरामी उपचारका लागि आउँछन्।”
मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प गर्मी बढेसँगै बाहिर निस्कने गर्दछन् भने रातको समयमा आहाराको खोजीमा निस्किएको सर्प मानिसको सामुन्ने हुँदा आक्रमण गर्ने विज्ञहरूको भनाइ छ। सर्पले मानिस खोज्दै नहिँड्ने तर, मानवीय गतिविधिका कारण सुरक्षा चुनौती महसुस गरी आफ्नो बचाउका लागि डस्ने केन्द्रका अध्यक्ष पौडेलले बताए।
उपचार केन्द्रको तथ्याङ्कअनुसार यस वर्षको फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्ता सकिनै लाग्दा ९१ जनालाई सर्पले डसेको छ। त्यसमध्ये विषालु कमन करेतले डसेका तीन जनालाई उपचारका लागि जनकपुर रिफर गरिएको स्वास्थ्य सहायक यादवले बताए।
बाँकी सबैको केन्द्रमै उपचार भएको थियो। उपचारका लागि आउनेमध्ये पाँचदेखि सात प्रतिशत बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ। भने १५ देखि २० प्रतिशत सुक्खा डसाइ तथा ७३ देखि ८० प्रतिशतसम्म डसाइको शङ्का लागेका र विष नभएका सर्पको डसाइको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताए।
एकैपटक दुई जनासम्मलाई आपत्कालीन उपचार सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको यस केन्द्रमा दुई जना एमबिबीएस डाक्टर, दुई जना सीएमए, तीन जना एचए र दुई जना नेपाली सेनाका स्वास्थ्य समूहका प्राविधिक छन्। सर्पले डसे डस्ने सर्पको पहिचान गर्ने र ढिला नगरी उपचार केन्द्र पुर्याउनुपर्ने चिकित्सकहरू बताउँछन्। अझै पनि सर्पले डसेका बिरामीको झारफुकबाट विष झार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूको सुझाव छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै