आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती

आधुनिक कृषि प्रविधिको प्रयोग गरी चितवनका ससन देवकोटा र उनकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेती गरी सन्तोषजनक आम्दानी गरेका छन्।

कृषि विकास कार्यालयको अनुदान तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ग्रीनहाउसमा भरतपुर महानगरपालिका–५ मा सञ्चालन गरिएको हिमालयन बेरी प्रालिका सञ्चालक देवकोटा दम्पतीले रु २७ लाखको लगानीमा सेब्राइल रेड (रातो) र भोलान्टे (पहेँलो) जातका रङ्गीन भेडेखुर्सानीको टनेल खेती गरेका हुन्।

अमेरिकामा उच्च शिक्षा हासिल गरी नौ वर्षअघि नेपाल फर्किएका दम्पतीले खेतीमा कृषि पर्यटन (एग्रो–टुरिजम) को अवधारणा अवलम्बन गरेका छन्।

कृषि पर्यटन भनेको कृषि र पर्यटनलाई गाभेर तयार पारिएको अवधारणा हो। यसअन्तर्गत पर्यटक कृषि फर्ममा पुग्छन्। त्यहाँको दिगो कृषि प्रणाली, स्थानीय रहनसहन, परम्परा, कला, संस्कृति र वनजङ्गलको आनन्द लिन्छन् र फार्ममा कृषि वस्तु खरिद गरी घर लैजान्छन्।

पाँच सय ६० वर्गमिटर क्षेत्रफलमा फैलिएको टनेलमा अहिले रातो र पहेँलो रङका भेडेखुर्सानी लटरम्म फलेका छन्। कृषि विकास कार्यालयले हिमालयन बेरी प्रालिलाई ग्रीनहाउस उपलब्ध गराइदिएको छ।

कृषि प्राविधिकका अनुसार टनेल बाहिर खेती गर्दा रोगकीराको प्रकोप, फल कुहिने तथा बिरुवा सुक्ने समस्या देखिने भए पनि टनेलभित्र त्यस्तो समस्या हुँदैन। भेडेखुर्सानीसँगै टमाटर, करेला, लौका र घिरौँलाजस्ता तरकारी पनि उत्पादन गर्न सकिन्छ।

बजारमा भेडेखुर्सानीको होलसेल मूल्य प्रतिकिलो रु २५० देखि ३०० सम्म पर्छ। उत्पादनको बजार खोज्नुपर्ने अवस्था छैन। भाटभटेनी, कालीमाटीलगायत मार्ट र थोक बजारमा सिधै बिक्री हुन्छ।

टनेलभित्र गरिएको भेडेखुर्सानी खेतीबाट करिब एक वर्षसम्म उत्पादन लिन सकिन्छ भने रोपेको करिब ६० दिनपछि फल दिन सुरु गर्छ। यो अन्य बालीजस्तो होइन, राम्रो उत्पादनका लागि नियमित हेरचाह आवश्यक पर्छ। बजार राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ।

मौसम र उत्पादनको अवस्थाअनुसार हिमालयन बेरी प्रालि फर्मबाट हप्तामा तीनदेखि आठ क्विन्टलसम्म भेडेखुर्सानी उत्पादन हुने गरेको छ। रङ्गीन भेडेखुर्सानी सलाद, पिज्जा, बर्गर, विभिन्न परिकार तथा होटल–रेस्टुरेन्टमा बढी प्रयोग हुने भएकाले यसको बजार माग उच्च रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link