स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।
यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्।
आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाई छ।
मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ।
समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइने छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल