सिँचाइका लागि महोत्तरी जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।
निरन्तर चोरीका घटना बढे पनि अपराधमा संलग्नको पहिचान र कारबाही हुन नसक्दा किसानको बेचैनी बढेको हो। पछिल्लो पटक सोनमा–२ को तरहारी र मैनटोल तथा सोनमा–६ को तरहारी र मगरथानाबीचको पोखरी डिलमा जडित ट्रान्सफर्मर सञ्चालन हुनु अगावै चोरी भएको छ। सोनमा गाउँपालिकामा जडित ती ट्रान्सफर्मरमा विद्युत् लाइन जोडेर सञ्चालनको तयारी हुँदै थियो।
मधेस प्रदेश सरकारले किसानको सिँचाइ सुविधा बढाउने उद्देश्यले जडान गरेको ट्रान्सफर्मर सञ्चालन अगावै चोरी भएका हुन्। “पछिल्ला तीन/चार दिन लगातार पानी परेको थियो। कसैले त्यता ध्यान दिएनन्, पानी थामिएपछि खेतमा गएका किसानले ट्रान्सफर्मर चोरिएको थाहा पाए,” सोनमा–२ का सामाजिक कार्यकर्ता मदन साह भन्छन्, “यो गत शनिबारदेखि सोमबारको बीचमा चोरिएको हुनसक्छ।”
हाल धानबाली पोटाउने बेलामा दुई/तीन दिनको फरकमा पानी लगाउनुपर्ने हुन्छ। सञ्चालनमै नआई ट्रान्सफर्मर चोरिएपछि किसान समस्यामा परेका छन्। “पोटाउन लागेको धानमा पानी लगाउन अब कठिन भएको छ,” सोनमा बस्तीकै रामप्रित ठाकुर भन्छन्, “अब फेरि आकाश नै ताक्नुपर्ने भयो।”
ट्रान्सफर्मर चोरी भएपछि किसानले प्रशासन गुहारेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर चोरी गर्नेको खोजी गरी कारबाही गर्न माग गरेका छन्। सिँचाइका लागि तत्काल अर्को ट्रान्सफर्मरको व्यवस्था गरी दिन किसानले माग गरेका छन्।
जिल्ला प्रशासनले प्रहरी परिचालन गरी चोरीमा संलग्नको खोजी गर्ने आश्वासन दिएको छ। घटनाबारे तत्काल अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरिएको छ।
सिँचाइका लागि इनार र बोरिङमा जडान गरिएको मोटर यसअघि पनि बाक्लै चोरी हुने गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा २८ वटा ट्रान्सफर्मर र कैयौँ मोटर चोरी भएको तथ्यांक छ। गत वर्ष आफ्नो बस्तीमा मात्र १० वटा इनार र बोरिङमा जडान भएको मोटर चोरी भएको भंगाहा–४ का ३० वर्षीय युवा किसान रामईश्वर ठाकुर बताउँछन्। बर्सेनि यस्ता घटना हुँदै जाने र कोही नसमातिने अवस्थाले चोरको मनोबल बढ्दै गएको किसानको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’
- पहिरोको जोखिममा हाकुबेँसी, स्थानान्तरणका लागि स्थानीयको माग
- आज तिहारको चौथो दिन: विधिपूर्वक गाईको पूजा गरिँदै
- ला लिगा: फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने