एनपीएल २०२६: चितवन राईनोज र कर्णाली ट्याक्स विजयी, आज पोखरा र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका रोमाञ्चक खेलहरूमा चितवन राईनोज र कर्णाली याक्सले आ-आफ्नो खेलमा शानदार जित हात पारेका छन्। प्रतियोगिताको दोस्रो र तेस्रो खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकामा महत्त्वपूर्ण अङ्क जोड्न सफल भएका छन्।

चितवन राईनोजको रोमाञ्चक जित: विराटनगर किङ्स ८ रनले पराजित

एनपीएलको दोस्रो खेलमा चितवन राईनोजले विराटनगर किङ्सविरुद्ध ८ रनको रोमाञ्चक जित दर्ता गर्‍यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राईनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। चितवनका लागि विस्फोटक ब्याट्सम्यान डाविड मलानले सानदार ब्याटिङ गर्दै ५० बलमा ५ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान दिए। त्यस्तै, रवि बोपाराले २६ बलमा ३१ रन बनाए भने इनिङ्सको अन्त्यतिर अन्य ब्याट्सम्यानले समेत गतिलो साथ दिएका थिए।

विराटनगर किङ्सका लागि बलिङतर्फ राजन ढकालले २ विकेट लिए भने मोसोम ढकाल, कमल सिंह ऐरी, डान मोसले, टम लान्सलट टेलर र रञ्जित कुमारले समान १-१ विकेट हात पारेका थिए।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्सले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि एन्ड्रयू रसेलले विस्फोटक रूपमा खेल्दै १७ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडे पनि टिमलाई जिताउन सकेनन्। यस्तै, इब्राहिम शेखले ३१ बलमा ३९ रन र लोकेश बमले १४ बलमा २६ रन बनाएका थिए। चितवनका बलिङ आक्रमणमा कमल सिंह ऐरीले घातक बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। साथै डान मोसले, एन्जेलो म्याथ्यूज़ र चारित असलंकाले पनि विराटनगरको ब्याटिङ लाइनअपलाई धराशायी बनाउन गतिलो साथ दिए।

कर्णाली याक्सको उत्कृष्ट पुनरागमन: जनकपुर बोल्ट्स १९ रनले पराजित

दिनको दोस्रो तथा प्रतियोगिताको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो। टस जिਤੇर जनकपुर बोल्ट्सले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका लागि आरिफुल इस्लामले २९ बलमा ४३ रनको महत्त्वपूर्ण पारी खेले भने पवन सर्राफले ३७ बलमा ३७ रन जोड्दै स्कोरलाई सम्मानजनक अवस्थामा पुर्‍याए। जनकपुरका लागि हरमीत सिंहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने मोइन अली र राहुल यादवले समान २-२ विकेट झारे।

जवाफमा १३३ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै अलआउट हुन पुग्यो। कर्णाली याक्सका बलरहरूको कसिलो बलिङसामू जनकपुरका ब्याट्सम्यानहरू टिक्न सकेनन्। कर्णालीका लागि उन्मीश सिंह (ठाकुरी) ले घातक बलिङ गर्दै ३ विकेट लिएर खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा पारे र टिमलाई जित दिलाए।

आजको खेल: पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिगअन्तर्गत आज (बुधबार) हुने चौथो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आपसमा प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ५:०० बजे सुरु हुनेछ। दुवै टिम आजको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा बलियो पकड बनाउने दाउमा रहनेछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link