नेदरल्याण्ड्समा नोभेम्बर १२ मा “पूर्वी तुर्किस्तान स्वतन्त्रता दिवस” मनाइएको समाचार आएको छ। नेदरल्याण्ड्समा उइगुर प्रवासी समुदायले झन्डोत्तोलन र राष्ट्रिय गानसहित यो दिवस मनाउँदै गर्दा त्यहाँ एउटा भिन्न र अर्थपूर्ण दृश्य देखियो। उइगुरहरूको यो कार्यक्रममा तिब्बत, दक्षिणी मङ्गोलिया, मन्चुरिया, ग्वाङ्सी लगायत बेइजिङको शासन र दमनको प्रतिरोध गरिरहेका विभिन्न समुदायका प्रतिनिधि र अधिकारकर्मीहरू एकै मञ्चमा उभिए।
यो जमघट केवल एक ऐतिहासिक दिनको सम्झना मात्र थिएन, बरु चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को नीतिबाट आफ्नो इतिहास, पहिचान र स्वतन्त्रता गुमाउने जोखिममा रहेका समुदायहरूबिचको साझा ऐक्यबद्धताको शक्तिशाली प्रदर्शन थियो।
चीनको सिमानाभित्र र बाहिर रहेका यी विभिन्न समुदायहरूको भूगोल, भाषा र संस्कृति फरक भए पनि उनीहरूको भोगाइ र सङ्घर्षको कथा एउटै छ। बेइजिङको ‘एकल चिनियाँ पहिचान’ निर्माण गर्ने नीतिले अल्पसङ्ख्यक समुदायहरूको मौलिक भाषा, धर्म र सांस्कृतिक धरोहरमाथि प्रत्यक्ष प्रहार गरिरहेको आरोप मानवअधिकारवादी सङ्घसंस्थाहरूले लामो समयदेखि लगाउँदै आएका छन्।
पूर्वी तुर्किस्तान (सिन्जियाङ)को सङ्घर्ष निकै लामो छ। यहाँ उइगुर र अन्य टर्किक मुस्लिम समुदायमाथि व्यापक निगरानी, सामूहिक हिरासत शिविर र जबरजस्ती श्रमको प्रयोग भइरहेको छ। कार्यक्रममा स्मरण गरिएकी उइगुर युवती राहिल ओमारको हिरासत यातनापछिको मृत्युको प्रसङ्गले बेइजिङको दमनको मानवीय मूल्य कति भयावह छ भन्ने कुरालाई पुनः सतहमा ल्याइदिएको छ।
दशकौँदेखि तिब्बतीहरूले आफ्नो धार्मिक स्वतन्त्रता, भाषा र आध्यात्मिक नेतृत्वको रक्षाका लागि सङ्घर्ष गरिरहेका छन्। आवासीय विद्यालयहरूको माध्यमबाट बालबालिकालाई आफ्नो मूल संस्कृति र भाषाबाट टाढा पारिएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता व्यक्त हुँदै आएको छ।
दक्षिणी मङ्गोलिया (इनर मङ्गोलिया): परम्परागत मङ्गोलियन भाषामा पठनपाठन हटाएर मन्डारिन भाषा अनिवार्य गरिएपछि त्यहाँका नागरिकहरू आफ्नो भाषिक र सांस्कृतिक अस्तित्व जोगाउन आन्दोलित छन्।
एक देश, दुई प्रणाली’ को अवधारणा कमजोर पारिएसँगै हङकङमा लोकतान्त्रिक आवाजहरू निस्तेज पारिएका छन् भने ताइवानले निरन्तर बेइजिङको सैन्य र कूटनीतिक दबाबको सामना गरिरहेको छ।
त्यस्तै, मन्चुरिया र ग्वाङ्सीका समुदायहरूमा पनि आफ्नो ऐतिहासिक पहिचान जोगाउने चेतना विस्तार भइरहेको दाबी ती समुदायका अगुवहरुले गरिरहेका छन्।
सत्ताको शक्ति टिकाइराख्न दमन, त्रास र समुदायहरूबिचको विभाजनलाई हतियार बनाउने प्रवृत्ति अधिनायकवादी शासनको पुरानो रणनीति हो। तर, प्रवासमा रहेका यी समुदायहरूले अपनाएको पछिल्लो रणनीतिले बेइजिङलाई नयाँ चुनौती थपिदिएको छ। तिब्बती, उइगुर, हङकङबासी, ताइवानी र दक्षिणी मङ्गोलियाहरूले आ-आफ्नो सङ्घर्षलाई अलग-अलग नहेरी एउटै साझा लडाइँका रूपमा अघि बढाउन थालेका छन्।
जब पीडित समुदायहरू एक अर्काको आवाज बन्न थाल्छन्, तब दमनकारी संयन्त्रका लागि उनीहरूलाई एक्लाउन कठिन हुन्छ। नेदरल्याण्ड्सको कार्यक्रममा देखिएको सहभागिताले यही सन्देश दिएको छ—भूगोलले अलग्याए पनि उत्पीडनविरुद्धको चेतनाले उनीहरूलाई जोडेको छ।
राहिल मारजस्ता कैयौँ व्यक्तिहरूको कथा अझै पनि बाहिरी दुनियाँको नजरबाट ओझेलमा छन्। प्रवासमा रहेका अभियन्ताहरूले यस्ता घटनालाई जीवित राखेर विश्व समुदायको ध्यानाकर्षण गराइरहेका छन्। यद्यपि, आर्थिक र भूराजनीतिक स्वार्थका कारण कतिपय शक्तिशाली राष्ट्रहरू बेइजिङको मानवअधिकार रेकर्डमाथि कडा कदम चाल्न हिचकिचाइरहेका छन्।
अन्ततः, इतिहास र पहिचान मेटाउने प्रयासविरुद्ध उभिएका यी समुदायहरूको एकताले विश्वलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ—के आर्थिक स्वार्थका अगाडि लाखौँ मानिसको आधारभूत मानवअधिकार र आत्मनिर्णयको अधिकारलाई बेवास्ता गरिरहन मिल्छ? स्वाधीनताको यो स्वर जति दमन गरिन्छ, ऐक्यबद्धताको जगमा त्यति नै सङ्गठित हुँदै गइरहेको समाचारमा उल्लेख छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- राप्तीसोनारीका १० भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
- एलिसा कार्सन र मङ्गल यात्रा: भ्रम र यथार्थ
- एनपीएल २०२६: कामिल मिश्राको कीर्तिमानी शतकमा चितवन राइनोज क्वालिफायर–२ मा, काठमाडौँ बाहिरियो
- आजको मौसम: तराईमा हुस्सु र तुवाँलो, कोशी र मधेसमा आंशिक बदली
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- दुई तिहाइ बहुमत सरकारको चार महिना : राजस्व सङ्कलनमा सुधार, विकास खर्च साढे सात प्रतिशतमा सीमित
- १८ वर्षको परदेश बसाइपछि गाउँमै लोभलाग्दो पशुपालन
- कोप–३१: जलवायु वित्तको लक्ष्यमा ध्रुवीकरण, विकसित र विकासशील देश आ-आफ्नै अडानमा
- एनपीएल २०२६: पहिलो प्लेअफमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा प्रवेश
- आजको लागि विदेशी मुद्राको विनिमय दर