वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्। विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन्।
जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन्। उनले निसीखोला–४ स्थित विस्मारेमा छअमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहेका छन्।
घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन्। भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवी खेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवी खेती सुरु गरेका थिए। कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान गएका थिए। तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए।
किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधीकरणमा लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब रु तीन लाख आम्दानी गर्दै आएका छन्। उनले टिमुरखेतीसमेत विस्तार गरेका छन्। हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेका छन्। त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेका छन्।
कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ। पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उनी बताउँछन्।
“कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ। त्यसैले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच बनाएको छु”, घर्तीले भने, “भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई अहिले आफ्नै माटोमा प्रयोग गरिरहेको छु।”
कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन्। उनी निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुन्। जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन्।
वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- अर्बौँ राजस्व उठाउने कोरलानाकाको बेहाल: न सुक्खा बन्दरगाह, न चार्जिङ स्टेसन
- दसौँ राष्ट्रिय खेलकुद: पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदकविहीन
- आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
- देशभर मौसम सफा, हिमाली भेगमा हल्का हिमपात हुन सक्ने
- व्यावसायिक सुन्तलाखेतीमा स्थानीय सरकारको साथ, सुर्केमेलाको कृषिमा फड्को
- भौतिक कार्ड बोक्ने झन्झट हटेसँगै स्वास्थ्य बीमामा आकर्षण: झापामा ८ लाख ५७ हजार आबद्ध
- आज आलोकनगर, भोलि शंखमूल: काठमाडौँका यी क्षेत्रमा चार दिन बिजुली कटौती हुने
- लयमा फर्कँदै सेक्यूरिटी प्रिन्टिङ प्रेस: मासिक ६२ हजार स्मार्ट लाइसेन्स छपाइ
- रासायनिक मलको बिक्रीमा कैफियत भेटिएपछि कृषि भण्डारलाई २ लाख जरिवाना
- लामो प्रतीक्षापछि सुकुम्बासी परिवारको हातमा जग्गाधनी प्रमाणपुर्जा