नोबेल पुरस्कार विजेता मारियाको र्‍यापलरलाई बन्द गर्ने आदेश

फिलिपिन्सका अधिकारीहरूले नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसाले स्थापना गरेको प्रसिद्ध समाचार संस्था र्‍यापलरलाई बन्द गर्ने आदेश दिएका छन्।

यो निर्णयलाई पुष्टि गर्दै, फिलिपिन्सको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले विदेशी स्वामित्वसम्बन्धी नियमहरू उल्लङ्घन गरेकोमा जुन २८ मा र्‍यापलरको प्रमाणपत्रहरू रद्द गरेको जनाएको छ।

मारिया रेसाले अमेरिकाकझ होनोलुलुमा ईस्ट-वेस्ट सेन्टरको एक अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा भाषणमा गर्दै भन्नुभयो, ‍” आजसम्म नभएको यस्तो खालको निर्णयउपर र्‍‍यापलरले पुनरावेदन गर्नेछ।”

नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसा

फिलिपिन्स एसईसीले राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि नै बन्दको आदेश दिएको थियो।

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको लागूपदार्थ विरुद्धको रक्तपातपूर्ण युद्ध र शक्तिको दुरुपयोगका बारेमा र्‍यापलरले आलोचनात्मक समाचारहरू प्रकाशित गर्दै आएको थियो।त्यसैले यो समाचार संस्था तथा रेसा राष्ट्रपति रोड्रिगो डुटेर्टेको क्रोधको सिकार बनेको हो।

फिलिपिन्स सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले  पहिलो पटक सन् २०१८ जनवरीमा र्‍यापलरको सञ्चालन इजाजतपत्र रद्द गर्यो, तर फिलिपिन्समा मास मिडिया कम्पनीहरूका लागि रोक लगाइएको विदेशी स्वामित्व आफ्नोमा नभएको भन्दै र्‍यापलरको सञ्चालन जारी रहयो।

र्‍यापलर र रेसाका विरुद्ध अनलाइन आक्रमण देखि गिरफ्तारी तथा कानुनी झमेलालगायतका अनगिन्ति उत्पीडन र धम्की अभियान नै चलाइएको छ। रेसाका विरूद्ध कर छलीको आरोप, तीन साइबर मानहानीका मुद्दाहरू र विदेशी स्वामित्व नियमहरूको उल्लङ्घन सहित देवानी र फौजदारी मुद्दाहरूको एक श्रृंखला नै लगाइएको छ। सबै मुद्दाहरूमा प्रमाणित भएमा रेसाले एक सय वर्षसम्मको जेल सजाय भोग्न पर्ने अवस्था आउनसक्छ।

अधिकारकर्मीहरूले र्‍यापलर बन्द गर्ने फिलिपिन्सको निर्णयलाई त्यहाँको एउटा आलोचनात्मक मिडिया आउटलेटलाई मौन बनाउने प्रयास हो र प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो भनेका छन्।

अधिकारकर्मीहरूले यसलाई तुरुन्त फिर्ता लिन फिलिपिन्स सरकारलाई आग्रह गरिसकेका छन्।

ती अधिकारकर्मीहरूले आदेशको खारेजको माग गर्ने क्रममा नवनिर्वाचित राष्ट्रपतिलाई पनि देशको समाचार सञ्चारमाध्यममा कानुनको शासन कायम गर्न र आलोचक पत्रकारमाथि हुने दुर्व्यवहार रोक्न आग्रह गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर र उप-राष्ट्रपति निर्वाचित राष्ट्रपतिकी छोरी सारा डुटेर्टेले मेको चुनावमा ठूलो जित हासिल गरेपछि जुन ३० मा पदभार ग्रहण गर्नेछन्। नागरिक समाजले पूर्व तानाशाह फर्डिनान्ड मार्कोस सिनियरका छोरा मार्कोस जूनियरको नेतृत्वमा आउँदै गरेको सरकारको बारेमा चिन्ता व्यक्त गरेको छ।  फर्डिनान्ड मार्कोसको शासन व्यापक मानवअधिकार हनन र भ्रष्टाचारले चिन्हित थियो।

अनलाइन उत्पीडन, समाचार नेटवर्कहरू बन्द गर्ने र पत्रकारहरू विरुद्ध निराधार आरोप लगाउने जस्ता पत्रकारितालाई दबाउने डुटेर्टेको रणनीतिबाट आजित भएका मिडिया समूहहरूले मार्कोस जूनियरलाई प्रेस स्वतन्त्रताको संरक्षण सुनिश्चित गर्न आह्वान गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
नोबेल पुरस्कार विजेता मारियाको र्‍यापलरलाई बन्द गर्ने आदेश
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link