सर्वशक्तिमान् अधिनायक कमरेड सी चिन फिङ

पार्टीको महाधिवेशनमा शक्ति सुदृढीकरण गर्न अग्रसर सी

कम्युनिष्ट पार्टीको बैठकको घोषणाले आगामी वर्षहरूमा सी चिन फिङको एजेन्डालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ, यसले विश्लेषकहरूको भनाइमा सीको “परमाधिकार” को शक्ति देखाउँछ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को एक दशकमा दुई पटक बस्ने बैठक १६ अक्टोबरमा सुरु हुनेछ र केही दिनसम्म जारी रहने सम्भावना छ। माओत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली चिनियाँ नेता मानिने सीले आफ्नो राजनीतिक शक्तिलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ। यो शक्तिलाई सीले सन् २०१२ को अन्त्यमा पार्टीको नेतृत्व लिएपछि सर्वशक्तिमान् अधिनायकका रूपमा प्रयोग गरिरहनु भएको छ।

हालैका आन्तरिक र विश्वव्यापी चुनौतीहरूका कारण सीको शक्ति प्राप्तिको बाटोमा पर्यवेक्षकहरूले शंका गरेका थिए। तर सीले सन् २०१८ मा दुई कार्यकाल राष्ट्रपतिको हद सम्बन्धी व्यवस्था हटाएपछि आगामी केही वर्षसम्म सत्तालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

२ सय सदस्यीय केन्द्रीय समितिमा नयाँ पदाधिकारी छनोट गर्ने प्रक्रियामा बैठकले २ हजारभन्दा बढी पार्टीका सदस्यलाई एकै ठाउँमा भेला गर्नेछ। २५ सदस्यीय पोलिटब्युरोमा र सात सदस्यीय शक्तिशाली स्थायी समितिमा पदोन्नति हुनेछन्। कार्यक्रमले भावी नीतिगत दिशानिर्देशहरू पनि घोषणा गर्नेछ।

बैठकका बारेमा निकै थोरै विवरण मात्र खुलाइएको छ, तर विश्लेषकहरूका अनुसार यसअघि सम्पन्न बैठकहरूकै जसरी पार्टीका आन्तरिक विवादलाई नियन्त्रणमा राखिएको र नयाँ समितिका सदस्यहरूको बारेमा निर्क्यौल हुनेछ।

लन्डनमा रहेको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी थिंक ट्याङ्क चथम हाउसलाई प्रतिनिधित्व गर्ने चीनका वरिष्ठ अनुसन्धान विज्ञ डा. यु जीले यो घोषणा “पार्टीभित्र सीको परमाधिकारी शक्तिको निश्चित संकेत” भएको बताउनु भएको छ।

डा. यु जीले भन्नुभयो, “यो पार्टीभित्रका अन्य वरिष्ठ सहकर्मीहरूसँग मुख्य व्यक्तिहरूको नियुक्ति र राजनीतिक प्रतिवेदनको मस्यौदामा अन्तिम स्वीकृतिमा सहमति गर्न सी सफल हुनु भएको संकेत हो। यी  सहमतिलाई सीले अक्टोबर १६ मा पढ्नुहुनेछ।

डा. यु जीले भन्नुभयो, “यसको मतलब यदि चीनको आन्तरिक आर्थिक योजना वा कुटनीतिमा असहमतिहरू भएका भए पनि ती मतभेदहरू मिलाइएको छ।”

बैठकलाई स्वदेश तथा विदेशमा रहेका चिनियाँ राजनीतिक विश्लेषकहरूले नजिकबाट नियाल्नेछन्। चिनियाँ नीति नियमहरूको बारेमा अनुमान गर्ने एआई विशेषज्ञ बिल्वीका संस्थापक रायन म्यानुएल भन्नुभयो, “विगतको बारेमा निर्णय गरिएको छ, त्यसैले खासमा भन्ने हो भने आगामी पाँच वर्षहरू प्राय: पार्टीका शीर्ष नेताहरूको पदका आधारमा निर्धारित हुनेछ।

रायन म्यानुएलले यो प्रक्रियालाई बहुराष्ट्रिय कम्पनीले ठूलो सङ्ख्यामा वरिष्ठ कर्मचारीहरूको सेवानिवृत्ति सँगै  उनीहरूलाई प्रतिस्थापन गर्न कनिष्ठ कर्मचारीहरूको बढुवा घोषणा गर्ने प्रक्रियासँग तुलना गर्नुभयो। यसको अर्थमा विभिन्न पदमा नेताहरूको नियुक्ति हुनेछ जुन मार्च २०२३ वार्षिक राष्ट्रिय जनकांग्रेस (एनपीसी) सम्म कायम रहने छ।

केन्द्रीय समितिबाट बाहिरिनेहरू मध्ये धेरैले उमेर हदको नीतिका कारण अवकाश लिदैछन्। हालैका दशकहरूमा पार्टीभित्र ६७ वर्ष वा सोभन्दा कम उमेरका नेताहरूलाई मात्र पदोन्नति वा उच्च पदमा बस्न मिल्ने एउटा मौन समझदारी रहेको छ, जबकि अर्को महाधिवेशनको समयमा ६८ वर्ष वा सोभन्दा माथिका नेताहरूले अवकाश लिनुपर्छ। चीनमा यसलाई सामान्यतया क्वी साङ बा सिया (सात माथि, आठ तल) भनिन्छ। ६९ वर्षीय सीले भने सन्यास लिनुहुने छैन।

अन्य सदस्यहरू सेवानिवृत्त भएका छन्, मरेका छन् वा सीको विवादास्पद भ्रष्टाचार विरोधी अभियानले पार्टीबाट निष्कासित भएका छन्। सीले आफ्नो पहिलो दुई कार्यकालमा सैन्य पुनर्संरचना सहितको राजनीतिक शक्तिलाई आफ्नो वरिपरि केन्द्रित गर्नु भएको छ र विश्लेषकहरूका अनुसार त्यसपछि उहाँको नेतृत्वको औपचारिक भक्तिगानलाई प्रगाढ बनाउँदै लगिएको थियो।

“पाँच वर्षको कार्यकाल महत्वपूर्ण छ किनभने, पहिले, यसले समग्र रूपमा पार्टीको केन्द्रीय सामूहिक नेतृत्वको लागि वैधता नवीकरण गर्दछ”, भियना विश्वविद्यालयका चिनियाँ राजनीति र कानुनका विशेषज्ञ डा लिंग ली भन्नुहुन्छ “यसबीचमा, यसले बुढेसकालका नेताहरूलाई युवामार्फत प्रतिस्थापन गर्न र पार्टीलाई वृद्ध व्यक्तिद्वारा सञ्चालित पार्टी हुनबाट रोक्छ।”

असहमतिमाथिको नियन्त्रण र दबाब तथा चिनियाँ समाजमा बढ्दो नियन्त्रणको मतलब सीलाई सार्वजनिक चुनौती कम छ। सीसीपीले बैठकको नेतृत्वमा स्थायित्व कायम गर्न ठोस प्रयासहरू गरेको छ तर यसले हाउजिङ बजारको सङ्कटले खस्कँदै गएको अर्थतन्त्र, शून्य– कोभिड नीतिहरूमा निरन्तर बढ्दै गएको जनसंख्या, वातावरणीय प्रकोप र पश्चिमा र यसका पक्षधरहरूसँग ताइवान मामिलामा चुनौतीहरूको सामना गरेको छ।

आफ्नो पार्टीले “सबैको समृद्धि” को लक्ष्यमा चरम गरीबी उन्मूलन गरेको दाबी गर्नुका साथै प्रमुख जलवायु संकट सम्बन्धमा प्रतिबद्धताहरू सीले गर्नुभएको छन्। म्यानुएलले “ग्रामीण कायाकल्प र हरित नीतिमा अधिकांश ध्यान केन्द्रित थियो” भन्नुभएको छ।

“वायु प्रदूषणको समस्या समाधानमा धेरै राम्रो गरेपछि अब त्यसभन्दा कठिन काम पानी र माटोको समस्याहरू समाधानका लागि सीले काम गर्न आवश्यक छ,” म्यानुएल भन्नुहुन्छ, “अर्को चुनौती कठिन छ– कमजोर अर्थतन्त्र र शून्य कोभिडसँग सीले सामना गर्न आवश्यक छ। अधिक हरित आर्थिक विकास तर्फ पुन: सन्तुलन, अनि घर जग्गा विकासबाट टाढा जाने उक्त उपायको एक हिस्सा हो। अगाडि रहनका लागि नयाँ आर्थिक मोडेल अघि सार्न आवश्यक छ।”

अन्तर्राष्ट्रिय मोर्चामा, बेइजिङ सीको नेतृत्वमा पश्चिमबाट झनै एक्लो हुँदै गएको छ। अमेरिका र उसका पक्षधरहरूसँग चीनको सम्बन्ध ऐतिहासिक रूपमा तल ओर्लेको छ। चीनले महामारीको बेला आफूलाई व्यापक रूपमा बन्द गर्‍यो र यो प्रकोपको लागि जिम्मेवार रहेको आरोपका विरुद्धमा आवाज उठाउँदै पछाडि धकेलियो।

यस वर्षको सुरुमा, भ्लादिमिर पुटिनसँग सीको “असीमित” साझेदारीले थप खतरा पैदा गर्‍यो। सीको शासन अन्तर्गत, बेइजिङले दक्षिण चीन सागरमा आफ्नो विस्तारवादी गतिविधिहरू जारी राखेको छ र, सबैभन्दा स्पष्ट रूपमा ताइवानमाथि दबाब र सैन्य धम्की बढाएको छ, जसलाई उसले आफ्नै ठानेको छ र आवश्यक भएमा बल प्रयोग गरेर फिर्ता लिने वाचा गरेको छ।

सन् २०२० मा महामारी सुरु भएदेखि सी चीन बाहिर जानुभएको छैन, तर महाधिवेशनपछि नोभेम्बरमा इन्डोनेसियामा आयोजित जी २० लगायत विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा भाग लिने सीका योजनाहरूको चर्चा व्याप्त छ।

हेलन डेभिडसन र भिन्सेन्ट निको द गार्जियनमा प्रकाशित आलेखको भावानुवाद।

चित्र सौजन्यः चाइना अबजर्भर

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link