
प्रधान सम्पादक, दिमित्री मुराताेभ
रुसको राजधानी मस्कोको एक अदालतले नोभाया गजेटको छापा प्रकाशनको इजाजत रद्द गर्ने सरकारको निर्णयलाइ सदर गरेको छ।
रुसभित्र यो अखबारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अब पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।
यस सञ्चारमाध्यमका प्रधान सम्पादक, दिमित्री मुरातोभले सन् २०२१ नोबेल शान्ति पुरस्कार पाएका थिए ।
रुसी सञ्चार क्षेत्रको नियामक संस्था ‘रोस्को मनाडजोर’ले उक्त पत्रिकालाई सन् २००६ मा गरिएको स्वामित्व परिवर्तनसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन असफल भएको आरोप लगाएको थियो ।
अदालत परिसर बाहिर बोल्दै प्रधान सम्पादक मुरातोभले भने शासकबाट ‘सामान्य कानुनी आधार बिना नै राजनीतिक हत्या भएको बताउनुभयो । उहाँले यस निर्णयको विरोधमा पुनरावेदनमा जाने पनि बताउनुभयो ।
मस्कोको अदालतले नोभाया गजेटको वेबसाइटको इजाजतपत्र रद्द गर्ने कि नगर्ने भन्ने सम्बन्धमा भने अर्को हप्ता निर्णय लिइने भएकोछ ।
नोभाया गजेट देशको सबैभन्दा महत्वपूर्ण स्वतन्त्र प्रकाशनहरू मध्ये एक हो।
सन् १९९३ मा मुरातोभ र सहकर्मीहरूद्वारा स्थापना गरिएदेखि नै यसले रुस भित्र र बाहिरका भ्रष्टाचारको खोजी र चेचेन्या लगायत विभिन्न ठाउँमा भएका युद्धहरूको विषयमा गहिरो अनुसन्धान गर्दै आएको छ ।
यो पत्रिका सम्बद्ध खोजी पत्रकार अन्ना पोलितको भस्काया सहित यसका धेरै योग्य जुझरु पत्रकारहरू सन् १९९० को दशकदेखि उनीहरूले गरेको रिपोर्टिङको प्रतिशोधमा मारिएका छन् ।
राज्यबाट ‘विदेशी एजेन्ट’ सम्बन्धी राष्ट्रिय कानूनको उल्लङ्घन गरेको कथित आरोपमा लगातार चेतावनी दिँदै आएपछि मार्चमा नोभाया गजेटले युक्रेनमा युद्धको अन्त्य नभएसम्म प्रकाशनका कामहरू रुसभित्र बन्द गर्ने बताएको थियो ।
त्यसपछि पत्रिकाका पत्रकार र कर्मचारीहरूमध्ये केही रुसबाट भागे र युरोपका धेरै शहरहरूबाट नयाँ आउटलेटमा नोभाया गजेट प्रकाशन गर्न थाले। रूस भित्र भने यसको वेबसाइट पनि ब्लक गरिएको छ।
रुसको स्वतन्त्र पत्रकारितालाई समर्थन गर्ने प्रयासको कदर स्वरूप गत अक्टोबरमा मुरातोभलाई फिलिपिन्सकी चर्चित अनलाइन पत्रिका र्याप्लरकी प्रधानसम्पादक मारिया रेसासँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। पछि युक्रेनी शरणार्थी बालबालिकाहरूको लागि पैसा जुटाउन उनले आफ्mूले पाएको उक्त पदक लिलामी गरे। अप्रिलमा उनी एक रासायनिक आक्रमणको निशाना बनेका थिए । उनको युद्ध विरोधी अडानप्रति प्रतिशोध लिन सो आक्रमण भएको मानिन्छ ।
युक्रेनमा आक्रमण भएदेखि रुसले शान्तिका पक्षधर प्रदर्शनकारीहरू, स्वतन्त्र समाचार गृहहरू र सामाजिक सञ्जालहरूमाथि बन्देज लगाउन सुरु गरेको छ ।
मार्च महिनाको शुरुवातमा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको कुनै पनि सार्वजनिक आलोचनालाई दमन गर्न सेनाका बारेमा जानाजानी नक्कली समाचारहरू फैलाउनका विरुद्ध फौजदारी कसूर सम्बन्धी कठोर कानूनमा हस्ताक्षर गरे। जस अनुसार १५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
नोभाया गजेट बन्द भएसँगै रूसी सरकारले अब देशमा लगभग सबै स्वतन्त्र सञ्चारगृहहरू अवरुद्ध गराएको छ।
नोभाया गजेटको इजाजतपत्र रद्द गर्ने कदम सोभियत संघका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचेभको मृत्युपछि लगत्तै आएको छ, जो यस पत्रिकाको संरक्षकको रूपमा चिनिन्थे ।
गोर्बाचेभले सन् १९९३ मा नोभाया गजेट स्थापना गर्नका लागि आफ्नो नोबेल शान्ति पुरस्कारबाट प्राप्त रकमको केही अंश प्रयोग गरेका थिए।
शनिबार, प्रधान सम्पादक मुरातोभले मस्कोमा गोर्बाचेभको अन्त्येष्टि यात्राको समेत नेतृत्व गरेका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
