करिब ३५ प्रतिशतले घट्यो निर्यात

मुलुकको निर्यात व्यापारमा कमी आएको छ। कृषिजन्य उत्पादन तथा कच्चा पदार्थ उत्पादनमा सरकारले ध्यान नदिएकाले नेपालबाट हुने निर्यातमा समेत ३४ दशमलव ८८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षको प्रथम दुई महिनाको अवधिमा २८ अर्ब ६८ करोड चार लाख रुपैयाँ बराबरको सामाग्री निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ अर्ब तीन करोड ९५ लाख रुपैयाँ बराबरको सामाग्री निर्यात गरिएको थियो।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचा, जिंक सिट , अलैंची, चिया, औषधी (आयुर्वेदिक) लगायतका वस्तु प्रमुख निर्यातजन्य सामाग्री हो। समीक्षा अवधिमा पाम तेल पाँच अर्ब ६९ करोड ४५ लाख रुपैयाँ, कार्पेट (गलैंचा) दुई अर्ब १० करोड २१ लाख रुपैयाँ, भटमास तेल एक अर्ब ९६ करोड ८६ लाख रुपैयाँ , चिया ९० करोड ६९ लाख रुपैयाँ  र अलैंची ६८ करोड नौ लाख रुपैयाँको निर्यात गरिएको छ।

यस्तै, विभागका अनुसार मुलुकले भारत, चीन, बेलायत लगायतका तेस्रो मुलुकसँग गर्ने व्यापार घाटामा कमी आएको छ। आयातमा भएको कमी सँगै नेपालले तेस्रो मुलुकसँगको व्यापार घाटा नौ दशमलव ४५ प्रतिशतले कमी आएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको प्रथम दुई महिनाको अवधिमा व्यापार घाटा नौ दशमलव ४५ प्रतिशतले कमी आई दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। भने, गत आर्थिक वर्षको सोही अवधिमा नेपालले अन्य मुलुकसँग दुई खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।

यस्तै, चालु आर्थिक वर्षको प्रथम दुई महिनामा निर्यात मात्र नभई आयातमा समेत कमी आएको छ। दुई महिनाको अवधिमा १३ प्रतिशतले आयातमा कमी आएको हो। चालु आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको थियो। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स, एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुहरू प्रमुख आयात हुने सामाग्रीहरू हुन्। समीक्षा अवधिमा डिजेल १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँपेट्रोल १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँ , खाना पकाउने ग्यास १० अर्ब ४२ करोड तीन लाख रुपैयाँ ,भटमास नौ अर्ब आठ करोड ५४ लाख रुपैयाँ , कच्चा पाम छ अर्ब ६१ करोड ७० लाख रुपैयाँ , हवाई इन्धन दुई अर्ब ८१ करोड रुपैयाँ, सूर्यमूखी दुई अर्ब ३३ लाख रुपैयाँ , फलाम तथा स्टिलका उत्पादन छ अर्ब १८ करोड एक लाख रुपैयाँ र विभिन्न खोप चार अर्ब २९  करोड रुपैयाँको आयात गरिएको छ।

यस्तै, समीक्षा अवधिमा नेपालले एक सय १६ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ। तर ती मुलुकहरूसँगको व्यापारमा नेपालले ९० प्रतिशत भन्दा बढी मुलुकहरूसँगको व्यापारमा घाटा व्यहोर्दै आएको छ। नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरूमा भारत, चीनइन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, युक्रेन, ब्राजिल, थाइल्याण्ड रहेका छन्। यस्तै नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरूमा अमेरिकाजर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्याण्डस्, क्याम्बोडिया प्रमुख रुपमा रहेका छन्।

मुलुकको व्यापारको अवस्थालाई हेर्दा कृषि र विभिन्न कच्चा पदार्थ उत्पादन  क्षेत्रमा सरकारले लगानी विस्तार गर्न सकेको स्पष्ट देखिन्छ। यता निर्यातजन्य सामाग्री हेर्दा पनि कृषिजन्य पदार्थमा आधारित छ तर सो पदार्थ पनि कच्चा पदार्थ आयात गरी निर्यात गरेको देखिन्छ। कर्जा प्रवाहको स्थिति हेर्दा भने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह उल्लेखनीय रहेको छ। राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा गरिरहेको  कर्जामध्ये ६६ दशमलव आठ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमश: ६५ दशमलव सात प्रतिशत र १३ प्रतिशत रहेको थियो। घरजग्गामा गरिएको लगानीले प्रतिफल नदिएको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवाज उठे पनि बैंकहरूले त्यसलाई वास्ता गरेको देखिएको छैन। देशमा उत्पादन वृद्धि भएमा त्यसले आन्तरिक रुपमा सबल बनाउने र कतिपय उत्पादन विदेश निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने थियो। तर, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नबढ्दा देशमा आयात मात्र बढेको छ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २० दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौं दशमलव छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव छ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले बढेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२ दशमलव सात प्रतिशतले, ओभरड्राफ्ट कर्जा १२ दशमलव छ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७ दशमलव नौं प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १६ दशमलव छ प्रतिशतले र हायर पर्चेज कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात आयात कर्जा ५३ दशमलव आठ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७ दशमलव छ प्रतिशतले घटेको छ। कृषि तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी भए पनि त्यो पर्याप्त नभएको र त्यसको उचित प्रयोग हुन नसकेको देखिन्छ। सरकारले कृषि क्षेत्रका कार्यक्रमहरू सही ढंगले कार्यान्वयन गर्न नसक्दा दैनिक भान्सामा प्रयोग हुने सामाग्री समेत आयात भएको विभागको तथ्यांकमा देख्न सक्छौं।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link