महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो।
साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो। त्यस अवसरमा उहाँहरूले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ।
सञ्चारग्रामस्थित डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो। कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो।
लक्ष्मीपूजामा जन्मेका सरस्वतीपुत्र
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा हो। लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए। लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो। उहाँको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उहाँलाई लक्ष्मीप्रसाद भनियो।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो। उहाँको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो। साथै उहाँको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन। त्यसैले उहाँ सानैमा भन्नुहुन्थ्यो, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु।‘
बाल्यकालमा नै अमरकोश घोकेका तथा स्तोत्रमाला पढेका देवकोटा सानैदेखि आफ्ना बुबाको कविता साफी गर्नुहुन्थ्यो। आफ्ना बुबाको कविता सार्दासार्दै उहाँभित्र पनि साहित्यको रस बस्न थाल्यो। उहाँलाई बुबाले पण्डित बनाउन खोज्नुभएको थियो। तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउनुहुन्थ्यो। तर साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे। यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर उहाँको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए। उहाँले पनि सबै विद्यार्थीमाझ कविता लेख्नुभयो। अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि‘को दर्जा दिए।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुल्नुभएको हो। उहाँ छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाल्नुभयो।
देवकोटाले दस वर्ष नपुगी कविता लेख्नुभयो। त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ‘ शिर्षमा उहाँले कविता लेख्नुभएको थियो। पढाइ राम्रो भएकाले उहाँले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढ्नुभयो। उहाँले १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिनुभयो।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढ्नुभयो। उहाँले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल‘का नाऊँबाट ‘गोरखापत्र‘ साप्ताहिकमा छापिएको थियो। त्यसै ताक उहाँले आफ्ना घरमा टयुसन पनि पढाउन थाल्नुभयो। उहाँले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए र त्यहीबाटै बीएल पनि पास गर्नुभयो।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो। त्यसपछि उहाँले प्रेमविषयक कविताहरू बढी लेख्नुभयो। लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उहाँको दिनचर्या पनि बित्न थाल्यो।
चौध भाषा बुझ्ने देवकोटाद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए। देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थियो। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उहाँ काव्यसंसारमा नै विचरण गर्नुहुन्थ्यो। उहाँको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो।
सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र हुनुभयो। त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि देवकोटाले ‘मुनामदन‘ लेख्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
