मन के हो, यसलाई कसरी बुझ्ने वा बुझाउने भन्नेबारेमा धेरै ज्ञानी पुरुषले अनेक तरहले अर्थ्याउँदै आएका छन्। अनेक परिभाषा तयार गरिएका छन् तर आज पनि यो प्रश्न त्यत्तिकै प्रखर तवरले उभिएको छ। आजको चर्चा यही विषयमा केन्द्रित छ।
मनलाई संसारमा भएका प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रण वा परिचालन गर्ने अन्त:करणको अंश वा वृत्ति मान्न सकिन्छ। साथै यसलाई नाक,कान, आँखा आदिमार्फत थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय,अन्त:करण, चित्त, दिल, हृदय भनेर बुझ्दा पनि अन्यथा हुँदैन।
वास्तवमा मन भौतिक तर अभौतिक अवस्था हो। चित्त मनसहित सम्पूर्ण मानसिक वृत्तिहरू रोपिने, क्रियाशील हुने र अनन्त: हराउने ठाउँ हो भने आत्मा यी दुवैलाई चिन्ने तर यी दुवैका व्यापारबाट प्रभावित नहुने साक्षी तत्व हो।
वैदिक, बौद्ध, जैनी सबैले मनको अस्तित्वलाई ‘भावना’को कर्मथलोका रूपमा र ‘मोहनी लगाएर संसारी बनाउने तत्व’का रूपमा पहिचान गरेका छन्।
बौद्धहरूका लागि मन र आत्मामा धेरै फरक छैन। मनको अस्तित्व वर्तमान जन्मका लागि मात्र हुन्छ भने आत्मा कर्मफलको प्रवाहका रूपमा निर्वाण प्राप्त नगरेसम्म रहन्छ नै।
वैदिकहरूले यो प्रवाहलाई नै ‘आत्मा’ भनेका हुन्। पाश्चात्य दर्शनमा चित्तको अस्तित्व नै छैन। चित्त र चित्तभूमिको चर्चा र स्थापना योगदर्शनको आफ्नो विशिष्टता हो। आत्माको स्वरूपका विषयमा मतभिन्नता भए पनि विश्वका सबैजसो धर्म तथा संस्कृतिहरूले आत्माको अस्तित्वलाई स्वीकार गरेको पाइन्छ।
पश्चिमा दार्शनिकहरूले मन र आत्माका बीच तार्कीक पार्थक्य खिच्न सकेका छैनन् भने वैदिक दार्शनिकहरूले पनि मनलाई भौतिक अवस्था माने पनि मन आत्माको गुण होइन भन्ने स्थापित गर्न चुकेका छन्।
सैद्धान्तिक रूपमा मन, आत्मा र चित्तको फरकफरक परिभाषा गरिए तापनि योगदर्शनले स्थापित गरेको ‘चित्त’नै आत्मा हो र मन आत्माको गुण हो, जसले सुखदु:खको अनुभूति गर्छ। चित्त भूमि आत्मा हो, होइन भन्ने विषयमा योगदर्शनले खासै चिन्तन गरेको छैन तर आत्माचाहिं चित्त होइन भन्ने कुरा भने यसले मान्छ।
आधुनिक मनोविज्ञानचाहिं मनको विज्ञान नभएर चित्तभूमिको विज्ञान बढी हुनुपर्छ। किनभने चित्तभूमि पाँचवटा लक्षणबाट मिलेर बनेको अवस्था: क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध हो।
मनोविज्ञानमा मन वस्तु हुँदैन र आत्माको कुनै अस्तित्व छैन भने क्रियाप्रतिक्रिया त चित्तसँग नै हुन्छ। चित्तभूमिको कुरा गर्दा मनलाई छैटौं गुणका रूपमा बुझ्नुपर्छ किनभने मन चित्तभूमिको एउटा अवस्था हो। आत्माको कुनै अस्तित्व नै छैन भने सम्पूर्ण मानवताको आधार भनेको चित्तभूमि नै बन्न पुग्छ तर तार्कीक पूर्णताका लागि आत्माको सैद्धान्तिक अस्तित्व स्वीकार गर्नु नै उचित हुन्छ।
चित्तभूमिको एउटा विशिष्ट अवस्थाका रूपमा मन नियन्त्रण गर्न सबैभन्दा गाह्रो विषय अवश्य हो। श्रीकृष्णले मात्र होइन, हामी प्रत्येक मान्छे गरेको प्रत्यक्ष अनुभव पनि हो।
संस्कृत साहित्यमा ‘आत्मा’को अर्थ ‘शरीर भएको मान्छेले आफूलाई देखाउन’ प्रयोग गर्ने शब्द भनेर गरिएको छ। हो, आत्मा अजरअमर, नित्य, र अविकरी छ।
यसैगरी मन स्वयं ब्रह्म वा त्यसको सानो अंश हो भन्ने मान्यताले वैदिक समाज निर्माण भएको छ तर आत्मालाई ‘व्यक्ति विशेष होइन’ भन्नु अनुचित हुन्छ।
यसरी घोरिएर सोच्दा तार्किक रूपमा आत्माको अस्तित्वलाई माने पनि व्यवहारिक रूपमा मन, आत्मा र शरीरलाई फरक ठाउँमा राखेर हेर्न सकिन्न। फर्केर पुन: चित्तभूमितिर नै आउनुपर्छ किनभने चित्तभूमि (शरीर)को अभावमा कुनै पनि व्यक्ति विशेषले आत्मा, मन, अहङ्कार, भावनाआदिको अनुभूति गर्नै सक्दैन र मिल्दैन। त्यसैले मन, चित्त र आत्मालाई तार्किक रूपमा फरकफरक दृष्टिकोणले व्याख्या गर्न सकिए तापनि व्यवहारिक रूपमा मन, चित्त र आत्मा तीनै विषयहरू एकआपसमा जोडिएका वा एकै हुन् भन्न मिल्छ।
(उपाध्याय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र बहुमुखी क्याम्पसका दर्शन तथा मनोविज्ञान विषयका प्राध्यापक हुनुहुन्छ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार